समाचार,
दलहरूको चेत खुलोस्
Posted by Unknown
Published on Monday, 17 February 2014
त्यसो त, नेपालका हरेक राजनीतिक दल आफू सबभन्दा राष्ट्रभक्त र जनताको हितैषी दाबी गर्छन्। तर सोच्ने अर्कै, भन्ने अर्कै र गर्ने अर्कै प्रवृत्तिको बहुरूपी चरित्र अनि यिनीहरूकै अदूरदर्शिता र आत्मपरक निकृष्ट स्वार्थका साथै मूलत: सत्य र इमानदारीको अभावबाट सृजित कुकृत्यका कारण यथार्थमा कुनै पनि दलले लोकतन्त्र, देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गरेको पाइएन।
विडम्बना, यहाँ लोकतन्त्र स्थापना भएको भनिए पनि संविधान, नियम, कानुन, सिद्धान्त, औचित्य या संसारमा स्थापित असल मूल्यमान्यता आदि सबै तिलाञ्जलि दिएर हाम्रा नेताको अर्जुनदृष्टि मात्र सत्तामा अडेको छ। र त्यो पनि चरम दुरुपयोगका लागि।
लामो रस्साकसीपश्चात् अन्तत: कांग्रेस एमाले गठबन्धन सरकार बन्ने सहमति भएपछि थोरै भए पनि सकारात्मक सन्देश प्रवाह भएको थियो। त्यसै पनि बिनासंविधान पहिलो संविधानसभा असफल भएपश्चात् पुन: संविधानसभा निर्वाचनमा जानुपरेको पीडाबाट दलहरूले सबक सिके होलान्-आगामी दिनमा विगतका गल्ती दोहोर्याइने छैन।
कांग्रेस र एमाले, पहिलो संविधानसभा निर्वाचनमा एमाओवादीले थाङ्नामा सुताएको पीडाबोधका कारण सचेत भएका दल हुन्। अहिले यिनीहरूको हैसियत पहिलो र दोस्रो छ। एक्लाएक्लै सिंगौरी खेलेमा एमाओवादीको अभीष्ट पूरा भई आफूहरूको अस्तित्व खतरामा पर्ने स्थिति बोधपछि उनीहरू अघोषित कार्यगत एकताको सन्निकट पुगेका थिए।
दुर्भाग्य, जनताले मूलत: संविधान बनाउन दिएको जनादेशविपरीत साढे दुई महिनाभन्दा बढीको महत्त्वपूर्ण समय खेर गइसकेको अवस्थामा पनि यिनीहरू अझै शक्ति दुरुपयोगका लागि मरिहत्ते गरिरहेका छन्।
प्रमुख तीनमध्ये ठूलो दलको गलत रबैयाका कारण संविधानसभाले संविधान दिन नसकेपछि त्यसको अवशान गराई पुन: एक वर्षमा संविधान दिने बाचासहित यिनीहरू संविधानसभा दोस्रो निर्वाचनमा गएका हुन्। पूर्वाग्रह नराखी भन्नुपर्दा यी तीनै दल असफल कोटीका हुन्।
तथापि, असल विकल्पको अभावमा यसपटकको निर्वाचनमा जनताले एमाओवादीलाई पछि पार्दै कांग्रेस-एमालेलाई मिलेर जाने आदेश दिएका हुन्। तर दुर्भाग्य, शक्तिमा पुगेकाहरू सबै विवेक गुमाएर मनपरी गर्न उद्यत् हुन्छन् भन्ने चरितार्थ हुन पुग्यो।
प्रधानमन्त्री चयन प्रक्रियामा सहमतिमा आएका यी ठूला दुई दलले बुझ्नुपर्छ- मिलेर गएको अवस्थामा समेत निर्धारित समयमा संविधान निर्माणको जोखिम कायमै छ। यी दुई नमिले जसको नेतृत्वमा सरकार बनाउँदा पनि त्यो सरकार अस्थिर हुने र टिकाउनका लागि विगतमा झैं गलत तत्त्वको वैशाखीको सहारा लिनुपर्ने अवस्था हुन्छ।
अनाहकमा खोचे थापेर जग हसाउनुको साटो हिजोको असफलताबाट पाठ सिकेर सुरुबाटै मिलेर अगाडि बढ्नुपर्ने थियो, यिनीहरूले मति सुध्रिएर सुशील कोइरालालाई प्रधानमन्त्रीमा चयन गरेको भनिहाल्न हतारो होला। प्राप्त रोटीको भागबन्डामा दुई बिराला झैं लटारिने थप मूर्खता यिनले गरेका भए भागबन्डाको नाउँमा धूर्त बाँदर आफ्नो दुनो सोझ्याउने दाउमा तयारीका साथ बसेकै थिए।
यसअघि अवसर पाउँदासमेत सरकारी लाभको कुनै पदमा रुचि नदेखाएका र हाल नेपालको राजनीतिमा रहेका पात्रमध्ये अपेक्षाकृत सादा जीवन र स्वच्छ छवि कायम राख्न सफल कांग्रेस सभापति एवं संसदीय दलका नेता सुशील कोइराला दलभित्र र बाहिरका विविध तगारा छिचोल्दै गणतन्त्र नेपालका छैटौं प्रधानमन्त्रीमा चयन भएका छन्।
यस बिन्दुसम्म आइपुग्दा राजनीतिको कुत्सित कालचक्र पूरा भएको छ। सहमतिमा आएका दलहरूको चेत खुलेको हो भने संविधान निर्माणको प्राथमिक लक्ष्य प्राप्तिका लागि तपसिलबमोजिम अगाडि बढ्न उपयुक्त हुनेछ।
-दुवैले मिलेर सकेसम्म बढी दलको सहयोगमा तर प्रति मन्त्रालय एकजना मन्त्रीमा नबढ्ने गरी सरकार गठनसँगै संविधान निर्माणमा जुट्ने।
-राज्य सञ्चालनका मूल्यमान्यताअनुसार सरकार सञ्चालित हुने आचारसंहिता निर्माण गरेर त्यसको निष्ठापूर्ण पालनासहित विगतका तमाम विकृति-विसंगति अन्त्यका लागि प्रारम्भदेखि प्रयत्नशील रहने।
-यसअघिको कालचक्रमा चरम राजनीतीकरणबाट अभिशप्त अवस्था अन्त्य गर्ने ताकि डा. भगवान् कोइराला जस्ताले राजीनामा गर्ने, डा. गोविन्द केसी जस्ताले पटकपटक आमरण अनशन बस्नुपर्ने र एसएसपी रमेश खरेल जस्ता नेपाली आमाका एकाध सच्चा सपूतले निराश हुनुपर्ने अवस्था पुन: सिर्जना नहोस्।
-गृह लगायतका मन्त्रालय बाँडफाँटमा प्रारम्भदेखि खटपट सुरु गरेर गाईजात्रा देखाउनुभन्दा नेतृत्व परिवर्तनसँगै मन्त्रालय पनि परिवर्तन हुने मोडालिटीमा गए त्यसका लागि मरिहत्ते गर्नुको अर्थ रहने छैन।
तर यी पंक्ति लेखुन्जेल यी दुईबीचको जुहारी सुन्दा दुवैको दलीलमा आंशिक दम देखिन्छ। समस्या थप पेचिलो बन्दै गएको छ। आखिर यिनीहरू नमिली धरै छैन। यिनको चेत खुलेको हो भने छिटो सहमति गर्नु श्रेयस्कर हुनेछ, अन्यथा गृह मन्त्रालय लिनेको नियत शक्ति दुरुपयोग होइन भन्ने प्रमाणित गर्न दुवै दलको सहमतिमा अन्य दलको सर्वाधिक योग्य ठानिएका तटस्थ र निष्पक्ष पात्रलाई त्यस मन्त्रालयको जिम्मा दिएर भए पनि जारी गतिरोध तत्काल अन्त्य गर्नुपर्छ। अन्यथा जनताले बुझ्नेछन्- यिनको संविधान निर्माणलाई प्राथमिकता दिने रटान मात्र हात्तीको देखाउने दाँत हो।
हेक्का रहोस्, हाम्रो दलको सदस्यता त लिनुहोस् तपाइँलाई राजनीतिक भागबन्डाको अवसर प्राप्त हुने मात्र होइन, जस्तोसुकै हत्कण्डा प्रयोग गरेर आर्जन गरेको सम्पत्ति संरक्षणदेखि लिएर कर्तव्य ज्यान मुद्दामा समेत कानुनले छुन सक्ने छैन, जस्तो अघोषित आकर्षण पैदा गरेर आम मानवमा प्रभाव पार्नेगरी बिना कुनै जानपहिचान अत्यधिक लोभीपापी, डन, बिचौलिया र अवसरवादीलाई पोसेर जथाभावी संगठन भद्दा बनाउँदैमा या अनुचित देखावटी प्रचारप्रसार गरेको भरमा चुनाउ जितिन्छ भन्ने भ्रम दोस्रो संविधानसभा निर्वाचन परिणामले चिरिदिएको छ।
राजनीतिक दल मात्र होइन, आम जनमानसमा समेत नेपालमा राजनीतिबाट मुक्त जनताको संख्या नगण्य रहेको सामान्य अनुमानविपरीत धन्य, कुनै दलविशेषको नजिकको नभई जनताकै हैसियतमा रहनेको संख्या अझै पनि निर्णायक रहेको पुष्टि पछिल्लो निर्वाचन परिणामले गरिदिएको छ। त्यसो त, चाप्लुस र चाटुकारले गलत अभीष्टका लागि नेताप्रति साखुल्य जनाउने क्रम चलिरहला। स्मरण रहोस्, तटस्थ र शालीन जनताले पहिलो दिनदेखि तिमीहरूको मूल्यांकन थालिसकेका छन्।
ठूला दलले आफ्नो भन्दा बाहिरकालाई दोस्रो दर्जाका नागरिक र दलभित्रकालाई जस्तोसुकै कुकृत्य गरे पनि सातखुन माफको शैलीमा कार्य गर्दै जाने हो भने अहिलेका ठूला भनाउँदाको भोलिको हविगत हिजोको ठूलो दलभन्दा भिन्न हुने छैन। समयमै चेतना भया।



0 comments
Readers Comments
i love like and koment