समाचार,
गृह मन्त्रालयको जय होस्
Posted by Unknown
Published on Monday, 17 February 2014
प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिमण्डल गठन गर्ने सिलसिलामा गृह मन्त्रालयले उठाएको कचिंगल नौलो होइन। यो प्रत्यासित नै थियो। दोस्रो संविधानसभा निर्वाचनअघि नै २०७० साल कात्तिक ५ गते यही पत्रिकामा छापिएको पंक्तिकारको लेख 'निर्वाचनबाट नयाँ संविधानको उपाय' मा यो आसन्न द्वन्द्वको उल्लेख गरिएको थियो।
संविधानसभाको 'नयाँ निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना शून्य भएकाले नयाँ आउने सरकार कुनै एउटा दलको मात्र नहुने पनि निश्चित छ। त्यस अवस्थामा दलहरूको मिलिजुली सरकार बनाउनु बाध्यता हुनेछ।
अहिलेसम्म दलहरूले आउँदो सरकार बनाउन कुनै प्रकारको गठबन्धन गरेका छैनन्। प्रमुख दलहरूले बहुमत प्राप्त गर्न धाइरहेका छन्। तर कुनै दलले बहुमत हासिल गर्ला भनेर कसैले पनि विश्वास गरेका छैनन्। निर्वाचनपश्चात् त्यस अवस्थामा दलहरूबीच पुन: लेनदेन हुने र मन्त्री पदका लागि हानथाप हुने काम हुनेछ।' गृह मन्त्रालयबारेमा उही लेनदेनको अवस्था आएको छ।
तर जुन हदसम्म गृह मन्त्रालयको रडाकोले असर पार्ला जस्तो लागेको थियो त्योभन्दा धेरै यसले विग्रह गरेको देखियो। गृह एमालेलाई दिने कि नदिने भन्ने विवाद मूलभूत रूपमा अव्यवस्थित संवादको कारण भएको देखियो। दिने कुरा पनि भएको रहेछ। नदिने कुरा पनि भएको देखियो। यो संवादको विग्रहले दुईचारवटा तथ्य खुलासा भएको छ।
एक, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्व फितलो रहेछ। हुनेनहुने निर्णय आफैंले लिन नसक्ने, अनि अरूको हातमा छोडिदिने प्रचलन देखियो। त्यसमा पनि औपचारिक वार्ताटोली बनाउने अनि अनौपचारिक वार्ताकारलाई छुट दिने गरेको पनि देखियो। यसको माने सो दलको आन्तरिक व्यवस्था अव्यवस्थित र आन्तरिक सम्बन्ध छितरिएको पनि देखा पर्यो।
कोइरालाको आफ्नो जमातमा यस्तो कमजोरी देखियो भने शेरबहादुर देउवाको जमातका नेता यस प्रक्रियामा सामेल भएको भए केके नाटक हुने थियो। यसबाट नयाँ प्रधानमन्त्री कोइरालाबारे नराम्रो सन्देश गएको छ।
दोस्रो, कांग्रेसको तुलनामा एमाले दल दह्रो र स्पष्ट देखिन आयो। त्यस दलका नयाँ निर्वाचित संसदीय नेता केपी शर्मा ओली बलियो र खरो पाइयो। वामदेव गौतमले गृह नपाउँदासम्म कोइराला मन्त्रिमण्डलमा नजाने अडान उनको आफ्नो हो, तर त्यसलाई उनले आफ्नो दलको पनि समर्थन दिलाउन सके। यसबाट एमालेमा उनको पकड बलियो भएको प्रमाणित भएको छ। मन्त्रिमण्डल बनावटको यो उथलपुथलको स्थितिमा ओली आफैं प्रधानमन्त्रीको पदमा पुग्न धेरै दिन पर्खनुपर्ला जस्तो छैन।
२०७० साल मंसिर १८ गतेको 'जस्तो देखियो उस्तै लेखियो' आलेखमा जनाइएअनुसार कोइरालाको नियति देखिन थालेको छ। 'सबभन्दा ठूलो दलको हैसियत पाएको कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित छ। तर सो दलको कुन नेता प्रधानमन्त्री बन्ने भन्ने प्रश्न खुला छाडिएको छ।
हुनत त्यस दलका सभापतिको हैसियतले कोइरालाको पहिलो दाबी देखिन्छ, तर यसै दलका दुई शीर्षस्थ नेताको मनोकांक्षा कसैबाट छिपेको छैन, न उनीहरूले खुला रूपले आफ्नो दाबी छोडेका छन्। त्यस मानेमा पहिलो संघर्ष यहीँबाट सुरु हुने देखिन्छ।' यो संघर्ष कांग्रेसको संसदीय दलले सुल्झाइ दियो। 'दोस्रो संघर्ष संयुक्त सरकारमा सामेल हुने दलहरूबीचमा हुनेछ।
प्रमुख मानिएका मन्त्रालयका सम्बन्धमा हानथाप नहुने सबालै उठ्दैन। यसको खुलासा केही दिनभित्र देखिन थाल्नेछ।' यसको खुलासा पनि भइसकेको छ। २०५० को दशकमा जुन राजनीतिक अस्थिरताको जन्म भयो, त्यसको पुनर्जन्म हुने डर भने व्यापक हुन थालेको छ।
यति हुँदाहुँदा पनि नेपालमा को प्रधानमन्त्री हुन्छ भन्ने महत्त्वपूर्ण छैन किनभने जनताका लागि सबै उस्तै ठहरिए। त्योभन्दा पनि धेरै महत्त्वपूर्ण गृहमन्त्री को हुने भन्ने हुन गएको छ। आखिर गृह मन्त्रालयमा के जादु रहेछ, सो जादुको छडी सबैले ताग्दा रहेछन् भन्ने जिज्ञासा रहनु स्वाभाविकै हो। एउटा साधारण दृष्टिबाट हेर्दा गृह मन्त्रालयको काम देशमा शान्तिसुरक्षा कायम राख्नु हो।
सो काम कुनै गृहमन्त्रीले गरेको त देखिएको छैन। तर छिमेकी भारतको बिहार राज्यमा त्यहाँको मुख्य मन्त्री नीतिशकुमारले अपराधीलाई सजाय दिलाएर शान्तिसुरक्षा बहाली गरेको सुनिएको हो। हाम्रा नेताहरूले नै बिहार भ्रमणबाट फर्केपछि सो खुलासा गरेका थिए।
तर नेपालमा शान्तिसुरक्षा कायम नहुने, अपराधको मात्रा बढ्दै जाने, अपहरण, हत्या, हिंसा कम नहुने आदि तथ्यले नेपालमा सो काम हुन नसकेको देखिन्छ। गृह मन्त्रालयले सो काम नगरेपछि आखिर यसले के काम गर्दो रहेछ भनेर जिज्ञासा रहने नै भयो। जब मानिसले साधारण बुद्धिले बुझ्न सक्दैन तब उनीहरूले शास्त्रीय ज्ञानतिर हेर्नुपर्छ। त्यसबाट सत्यतथ्य उभ्रेर बाहिर आउने गर्छ।
गृहको पेचिलो मुद्दा बुझ्न एउटा सूक्तिको सहयोग लिनु उचित हुनेछ। सो सूक्ति हो: एक एव पदार्थस्तु त्रिधा भवति वीक्षति:। कुणप: कामिनी, मांसं, योगिभि: कामिभि: स्वभि:।। चाणक्य १४-१७ अर्थात् वस्तु एक छ तर तीन प्रकारका विचार छन्। एउटा युवतीको लासलाई योगीले प्राकृतिक लास, कामी मानिसले कामवासनाको चीज र कुकुरले मासुको डल्ला जस्तो देख्छन्।
यो कथनमा एउटा युवतीको मृत शरीर सडकमा परिरहेको अवस्थाको परिकल्पना गरिएको छ। त्यो सबै बटुवाको नजरमा पर्छ तर प्रतिक्रिया भने भिन्नभिन्न हुन्छ। एउटा योगीले यसलाई जीवनमरणको प्राकृतिक घटनाका रूपमा लिन्छ भने एउटा कामुक मानिसले यसलाई कामवासनाको परिपूर्तिको साधन मान्छ। त्यसैगरी एउटा कुकुरको नजर जब यसमा पर्छ, त्यसले राम्रो भोजनको परिकल्पना गर्छ।
गृह मन्त्रालयले पनि यसैगरी विभिन्न मानिसमा विभिन्न भावना पैदा गरेको पाइन्छ। साधारण मानिसले गृह मन्त्रालयलाई शान्तिसुरक्षाको साधन माने पनि यसको स्वाद थाहा पाएका असाधारण मानिसका लागि यो राम्रो भोजनको साध्य भएको हुन्छ। सो भोजनमा सत्ता, शक्ति र वित्तीय साधन भरिएको पाइन्छ। यो व्याख्यालाई राम्ररी बुझ्न र मनन गर्न सके गृह मन्त्रालयका लागि किन नेताहरू मरिहत्ते गर्छन् भन्ने छर्लंग बुझिनेछ।


0 comments
Readers Comments
i love like and koment