,

एसएलसी परीक्षाको आ-आफ्नै तयारी

एसएलसी परीक्षा आउन अब धेरै समय छैन। पुस-माघको कठ्याङ्ग्रिने जाडोमा पनि

विद्यार्थीलाई परीक्षाको चटारोले गाँजेको छ। स्कुलहरूमा कोचिङ, ट्यूसन र कक्षाको पढाइले विद्यार्थीहरूलाई व्यस्त बनाएको छ। कतिपयलाई यसपालिको परीक्षा कस्तो हुने होला भनेर चिन्ता लागेको छ भने कतिपयमा पास गर्न सक्छु भन्ने आत्मविश्वास छ। दैनिक अध्ययन तालिका बनाएर विद्यार्थीहरूले अध्ययनलाई तीव्र बनाएका छन् र पास गर्ने आत्मविश्वास पनि बटुलेका छन्।

कतिपय विद्यार्थीले कठिन विषयलाई बढी समय दिइरहेका छन् भने कतिपयले सबैलाई समान रूपले समय छुट्टयाएर पढिरहेका छन्। महाराजगञ्जस्थित शिवपुरी स्कुलकी सुष्मा थापामगर पढ्ने समयका लागि बेलुकीलाई  नै प्राथमिकतामा राख्छिन्। 'सुनसान समयमा पढ्दा बुझनिे हुनाले म बेलुका धेरै पढ्छु,' उनले आफ्नो अनुभव सुनाइन्।स्कुलका शिक्षक-शिक्षिकाले पनि राम्रो पढाउने भएकाले पास गर्न सक्छु भन्ने आत्मविश्वास छ उनमा।

'मलाई अरू विषय ठीकै लागे पनि विज्ञान र सामाजिक अलि गार्‍हो लाग्छ।' सुष्माले भनिन्- 'विज्ञान र सामाजिकलाई बढी समय छुट्टयाएर रुटिङ बनाएकी छु।' सामाजिक र विज्ञान समाजसँग सम्बन्धित भएकाले यी विषय समाजसँग घुलमिल भएर अध्ययन गर्नुपर्ने उनको बुझाइ छ। उनी साथीहरूलाई एसएलसी आयो भन्दैमा बढी नहतारिन सुझाव दिन्छिन्। सुष्माका अनुसार- 'परीक्षा भनेको सधैं दिएको कुरा पनि हो, त्यसैले बढी आत्तिनु हुँदैन।'

सुष्मा कम्प्युटरबाट पनि केही कुरा लिन्छिन्। पढ्ने भन्दैमा जतिबेला पनि पढ्यो भने अल्छी लाग्छ। कहिलेकाहीं मनोरञ्जक कुरामा पनि जोड दिनुपर्छ, उनले भनिन्- 'एसएलसीलाई अत्यन्त जटिल मानेर निराश भयो भने पनि परीक्षा बिग्रन सक्छ।'

परीक्षाको तयारीलाई धेरै समय खर्चिरहेका विद्यार्थीहरूले पढाइलाई प्रभावकारी बनाउन आ-आफ्नै शैली अपनाइरहेका छन्। एसएलसीको तयारी गरिरहेका ज्ञानभूमि मावि, फुटुङका महेश आचार्यलाई कता-कता परीक्षादेखि डर लागे पनि पारिवारिक वातावरणले प्रेरित पनि गरिरहेको छ। आचार्य भन्छन्- 'मेरा अभिभावकले मलाई प्रदान गरेको पारिवारिक वातावरणले म सफल हुन्छु जस्तो लागेको छ।' त्यतिमात्र होइन, शिक्षक-शिक्षिकाले पनि राम्रो सिकाइप्रति अभिपे्ररित गरेकाले उनमा परीक्षामा सफल हुन्छु भन्ने आत्मविश्वास बढेको छ। परीक्षामा करिव ९० प्रतिशतभन्दा बढी अंक ल्याउँछु भन्ने अठोट गरेका महेशले प्रायः बेलुकाको समयमा पढ्ने बताए।

यता पानीपोखरीस्थित भानुभक्त मेमोरियलका सायस काफ्ले गणित अलिक कठिन लाग्ने भएकाले त्यसमै धेरै समय खर्चिरहेको बताउँछन्। 'मलाई गणित अरूभन्दा गार्‍हो लाग्छ, त्यसैले यसैलाई बढी समय दिन्छु।' उनी साथीहरूसँग छलफल गरेर पढ्दा वढी बुझेको अनुभव गर्छन्। बिहानपखको सुनसानमा पढ्दा धेरै बुझ्न सकिने सायस बताउँछन्। उनी गार्‍हो लाग्ने हुनाले गणितको अभ्यास बढी गर्छन्।

 'कतिपय साथीहरू परीक्षा आयो भनेर जतिबेला पनि पढेको पढ्यै गर्नुपर्छ भन्ने मान्यता राख्छन्, तर त्यसरी पढ्दा जानेको पनि बिर्सिइन्छ,' काफ्ले भन्छन्- '२५ मिनेट पढेर ५ मिनेट रिभजन गर्नुपर्छ।' एसएलसी भन्दैमा अत्तिहाल्नुपर्ने केही नभएको उनको धारणा छ। ८५ प्रतिशत अंक ल्याउने अभिलाषा बोकेका सायस इन्टरनेटबाट पनि विभिन्न विषय अध्ययन गर्ने बताउँछन्।

परीक्षाको तयारी गरिरहेका अधिकांश विद्यार्थीले अभ्यास गरेर पढ्ने गरेको बताएका छन्। प्रत्येक विषय लेख्दै र अभ्यास गर्दै पढ्दा फाइदा हुन्छ। लैनचौरस्थित शान्ति विद्या गृहका टीकाराम भुसाल तथा सामाखुसीस्थित वसन्त कृष्ट स्कुलकी रुमु प्रधानले पनि अभ्यास गरेर पढदा बढी ज्ञान मिलेको अनुभव सुनाए। 'म पढ्दा निरन्तर अभ्यास गरेर पढ्छु, अभ्यासमार्फत पढेको कुरा दिगो हुन्छ।' रुमुले पनि रुटिन बनाएर प्रत्येक विषयलाई अभ्यास गरेरै पढ्ने गरेको बताइन्। रुमु भन्छिन्- 'मलाई एसएलसी परीक्षा फलामको होइन कागजकै ढोकाजस्तो लागिरहेको छ, किनभने पढ्ने तौरतरिकामा परिवर्तन ल्याएर निरन्तर अभ्यास गरिरहने भएकाले पास गर्न गार्‍हो छैन।'

आगामी चैत ६ गते देखि १४ गतेसम्म चल्ने एसएलसी परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरूका लागि परीक्षाको तयारी विगतको जस्तो गार्‍हो पनि छैन किनभने पढ्न वा परीक्षाको तयारी गर्न अब पुरानै शैली अपनाइनु पर्दैन। इन्टरनेटले धेरै विषयका पाठयसामग्री खोजी गरेर पढ्न सहज बनाइदिएको छ। कुन विद्यालयले धेरै विद्यार्थी उत्तीर्ण गराउने भन्ने होडबाजीबीच विद्यालयको अध्यापनमा सुधार आएकाले विद्यार्थीहरूलाई थप फाइदा पनि भएको छ।
 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide