Posted by Unknown
Published on Sunday, 16 February 2014
आईतबार दिउँसो काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल बायु सेवा निगमको ट्वीनअटर विमान साँझसम्म फेला पर्न नसकेको अधिकारीहरुले बताएका छन्।
चालकदलका ३ जनासहित १८ यात्रु सवार रहेको उक्त विमान दिउँसो सवा १ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको छ।
दिउँसो करिब १२ बजेर ४० मिनेटमा काठमाडौंबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको विमान पोखरामा इन्धन भर्नका लागि रोकिएको थियो।
त्यहाँबाट जुम्ला उडेको विमानले १ बजेर १३ मिनेटमा भैरहवा विमानस्थलमा आफ्नो अन्तिम सम्पर्क गरेको अधिकारीहरुले बताएका छन्।
आशंका
अहिलेसम्मको खोजीको आधारमा विमान अर्घाखाँची र पाल्पाको सिमाना वरपर हुनसक्ने आशंका त्रिभुवन विमानस्थलको उद्धार समन्वय केन्द्रले व्यक्त गरेको छ।
पछिल्लो जानकारीबारे केन्द्रका संयोजक विमलेश लाल कर्णले भने, “ठूलो आवाज त्यहीँबाट आएको, पाइलटको मोबाइलले पनि त्यही ठाउँ देखाएकोले त्यही ठाउँ हुनसक्ने शंका हामीले गरेका छौं।”
खराब मौसमका कारण उद्धारका लागि पठाइएका दुईवटा हेलिकप्टर फर्किएका छन्।
हराइरहेको विमान लामो समयसम्म कतै आकाश वा सुरक्षित स्थलमा रहेको जानकारी नआएकोले दुर्घटना भएको आशँका गरिएको संयोजक कर्णले बताए।
खोजी जारी
"ठूलो आवाज त्यहीँबाट आएको, पाइलटको मोबाइलले पनि त्यही ठाउँ देखाएकोले त्यही ठाउँ हुनसक्ने शंका हामीले गरेका छौं"
विमलेशलाल कर्ण, सँयोजक, उद्वार समन्वय केन्द्र
अहिले सेनाको टोली र स्थानीय गाउँलेहरु दुर्घटनाको आशंका गरिएको क्षेत्रतर्फ पैदल गइरहेको बताइएको छ।
संयोजक कर्णले भने, “आवाज सुनेर आगो लागेको भन्दै गाउँलेहरु त्यता गइरहेका छन्। सोमबार बिहानै हेलिकप्टर पनि त्यता जान्छ।”
बारम्बार हवाई दुर्घटना भएको भन्दै यूरोपेली यूनियनले गएको मँसिरदेखि नेपालका सबै विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।
खासगरी पहाडी भूगोल, खराब मौसम तथा मानवीय कारणहरुले नेपालमा हवाई दुर्घटना हुने गरेको बताइन्छ।
गएको ६५ वर्ष यता नेपालमा ७० भन्दा बढी हवाई दुर्घटना भइसकेका छन् जसमा परी सात सयभन्दा बढीको ज्यान गइसकेको छ।
0 comments
Readers Comments
i love like and koment