समाचार,
भोज दिएर मलामी निम्तो
Posted by Unknown
Published on Saturday, 22 February 2014
झापा : गरामनी-१ झापाका विधान मगर बिहीबार दिनभर साथीभाइसँग रमाए। उनले साथीभाइलाई मस्त भोज खुवाए र घोषणा गरे, म भोलि मर्दै छु। साथीहरूले यसलाई गम्भीर रूपमा लिएनन्, ठट्टाको रूपमा लिए।
तर उनको त्यो मजाक बिहान उज्यालो कटु यथार्थ भइदियो। शुक्रबार बिहान करिब चार बजेतिर उनको परिवारले आश्रय लिइरहेको गरामनी-१ का जयप्रसाद चुँडालको घरपछाडिको भोगटेको रूखमा उनी झुन्डिएको अवस्थामा भेटिए।
कसैले 'म आत्महत्या गर्दै छु, आज अन्तिम भोज गरौं' भनेर साथीभाइलाई भोज खुवाएको कुरा विरलै सुन्न पाइन्छ, तर १७ वर्षीय किशोर विधान मगरले आफूले भेटेसम्मकालाई भोज खुवाए र आत्महत्या गरे। उनले त्यतिमात्र भनेनन् आफ्ना साथीभाइ र भेटेजतिलाई मेरो मलामी आउन कोही पनि नछुट्नु पनि समेत भनेका थिए।
उनले मरेपछि कन्काई माईमा लगेर दाह संस्कार गरिदिनु समेत भनेको उनको परिवारले आश्रय लिइरहेको घरका सदस्यहरू बताउँछन्।
बिहीबार दिनभर बेग्लाबेग्लै स्थानमा साथीभाइसँग भेटघाट गरी साँझमा मासु किनेर घरैमा साथीहरू बोलाएर भोज गराएका थिए। उनले 'साथीहरू म मर्छु, मरेपछि तिमीहरू मलामी जानु नत्र राति आएर तर्साउँछु' भन्दै गाउँटोलमा सुनाउँदै हिँडेको अस्थायी प्रहरी चौकी गरामनीका प्रहरी सहायक निरीक्षक धनबहादुर सुनुवारले बताए। उनले भने, 'अघिल्लो दिन गाउँका सबैलाई मर्ने कुराको जानकारी गराएका रहेछन्।'
मगरले अस्थायी प्रहरी चौकीकै प्रहरी जवान सनोज राईलाई पनि मर्ने कुरा भन्न भ्याएछन्। राईले मगरलाई गाली गरेर पठाएको बताए। उनले भने, 'सर, आज जाऊँ, मस्त खानुपर्छ भने। किन हौ, आज के छ त्यस्तो भन्दा म भोलि मर्दै छु भने। म त ठट्टा गरेको होला भने। बिहान त झुन्डिएको खबर पो आयो।' मगरका बाबु नरेन्द्रले चुँडालको घरपछाडिको भोगटेको रूखमा उनलाई झुन्डिएको अवस्थामा भेटेका थिए।
विधानले उर्दी गरेका कारण उनका सबै साथीभाइ मलामी गएका जयप्रसाद चुँडालले बताए। उनको दाहसंस्कार स्थानीय देउनियाँ घाटमा गर्ने तयारी भए पनि माईमा लानु भन्ने मृतकको सूचनालाई स्विकार्दै कन्काई माईमा दाहसंस्कार गरियो।


0 comments
Readers Comments
i love like and koment