,

काठमाडौँ बसन्तपुर 'हनुमानढोका दरबार' सानो जानकारी ...

काठमाडौँ बसन्तपुर 'हनुमानढोका दरबार' सानो जानकारी ...
================================
शंकर खरेल 
भक्तपुर 

नेपालको राजधानी काठमाडौँको केन्द्रमा अवस्थित यो राजप्रासादको नाम 'हनुमानढोका दरबार' मल्लकालका राजा प्रताप मल्लले वि. सं. १७२९मा दरबारको मुख्य प्रवेशद्वारनजीकै हनुमानको मूर्ति स्थापना गराएपछि हुन गएको हो। त्यसपछि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले वि. सं. १८२६मा बसन्तपुर दरबार निर्माण गराएपछि यसलाई 'बसन्तपुर दरबार' पनि भन्न थालियो। हनुमानढोका दरबारको अस्तित्त्व लिच्छवि कालदेखि नै भएको मानिए तापनि मल्लकाल, राणाकाल र शाहवंशीय कालमा निर्मित बाहिरी आकृतिहरू प्रस्ट देख्न सकिन्छ। वर्तमानमा देख्न सकिने प्राचीन स्माकरहरू कुनै एक व्यक्तिबाट निर्माण नभई विभिन्न व्यक्ति तथा शासकहरूले निर्माण गराएका हुन्।
खास गरेर काठमाडौँमा मल्ल राजा रत्नमल्लदेखि श्री ५ पृथ्वी वीरविक्रम शाहको समयसम्मका स्मारक एवं कलाकृतिहरू रहेका छन्। हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग वि. सं. १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ। त्यसैगरी, प्रताप मल्लले दरबारको सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्तिलगायत वरिपरि थुप्रै स्मारक बनाए। पार्थिवेन्द्र मल्लले गद्दी बैठकअगाडि त्रैलोक्यमोहन नारायणको मन्दिर बनाएका थिए। दरबारको दक्षिण पश्चिमपट्टीको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले वि. सं. १८१३मा गराएका हुन्। यो विहारशैलीमा बनाइएको छ। कला, धर्म, संस्कृति सबै दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने कुमारीघर वरिपरि कुमारीचोक, कुमारी बहाल, कुमारी मन्दिर आदि विभिन्न नामले चिनिने वैभवहरू अवस्थित छन्। यी सबैका अतिरिक्त हनुमानढोका दरबारको प्राङ्गणको पश्चिमपट्टि अवस्थित ने. सं. २६२ तिर निर्माण भएको मण्डपशैलीको उत्कृष्ट नमुनाको काष्ठमण्डपले यस क्षेत्रलाई अफै आकर्षक एवं गरिमामय बनाएको छ। यसलाई मरुसत्तल पनि भनिन्छ। यस स्मारकमा नेपालको राजकीय भ्रमणमा आउने राष्ट्रअध्यक्षहरूको स्वागत कार्यक्रम एवं नगरको साँचो हस्तान्तरण कार्यक्रम एवं समारोह भइरहन्छन्। यस क्षेत्रको अर्को महत्त्वपूर्ण स्मारक पृथ्वीनारायण शाहले वि. सं. १८२६मा निर्माण गराएको नौतले बसन्तपुर दरबार हो। यो दरबार पृथ्वीनारायण शाहपछिका ७ जना शाहवंशीय राजाहरूको वासस्थानका रूपमा रह्यो। हनुमानढोका दरबार मल्लराजाहरू १७ जना र त्यसपूर्वका ७ जना राजाले प्रयोग गरेको पाइन्छ। स्मरणीय छ, वि. सं. १९४३मा राजा पृथ्वीवीरविक्रम शाहका पालादेखि मात्र हालको नारायणहिटी राजदरबारलाई श्री ५को बासस्थानका रूपमा प्रयोग गर्न थालिएको हो। हनुमानढोका दरबारअन्तर्गत विभिन्न ११ वटा महत्त्वपूर्ण चोक छन्। ती हुन्:
मूलचोक- वि. सं. १६२०मा महेन्द्रमल्लले निर्माण गराएका।
त्रिशूलचोक- वि. सं १६९०मा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएका।
मोहनचोक- वि. सं. १७०५मा प्रतापमल्लले निर्माण गराएका।
सुन्दरीचोक- वि. सं. १७०५मा प्रतापमल्लले निर्माण गराएका।
लामचोक- वि. सं. १७१०मा प्रतापमल्लले निर्माण गराएका।
न्ह्नासलचोक- वि. सं. १७३०मा प्रतापमल्लले निर्माण गराएका।
कन्हेहोलचोक-वि. सं. १७७२मा प्रतापमल्लले निर्माण गराएका।
न्हुलछचोक- वि. सं. १७९९मा प्रतापमल्लले निर्माण गराएका।
कुमारीचोक- वि. सं. १८१३मा जयप्रकाश मल्लले गराएका।
बसन्तपुरचोक- वि. सं. १८२६मा पृथ्वी नारायण शाहबाट निर्माण गराइएको।
दाखचोक- वि. सं. १९२७मा श्री सुरेन्द्र /जंगबहादुरले निर्माण गराएका।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide