समाचार,
प्रधानमन्त्रीले त्रिवि पदाधिकारीलाई छलफलका लागि बोलाए
Posted by Unknown
Published on Thursday, 13 February 2014
प्रधानमन्त्रीले त्रिवि पदाधिकारीलाई छलफलका लागि बोलाए
मिति : २०७० फागुन २, शुक्रबार [87 पटक पढिएको]
काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति भएपछि पनि चिकित्सक गोविन्द केसीले आमरण अनशन नतोडेपछि सरकार उनका माग कसरी पूरा गर्न सकिन्छ भन्ने गृहकार्यमा जुटेको छ।
मागबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान त्रिविका पदाधिकारीलाई बोलाएका छन्। आमरण अनशन तोडाउने विषयमा सरकार र केसी पक्षका चिकित्सकबीच बिहीबार दिनभर छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्रीले त्रिविका पदाधिकारीलाई बोलाएका हुन्।
केसीका मागबारे छलफल गर्न बिहीबार मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिव र संस्थानका पदाधिकारीबीच छलफल भयो। छलफलपछि पौडेलले भने, 'दिनभर छलफल भयो। माग कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा शुक्रबार त्रिविका पदाधिकारीसँग बैठक बसेपछि केही निर्णय होला।'
संस्थानमा स्वच्छ छवि भएका र वरिष्ठ चिकित्सकलाई डिन नियुक्त गर्नुपर्ने, संस्थानलाई स्वायत्त बनाउनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, त्रिविका पदाधिकारी भ्रष्ट भएकाले बर्खास्त गर्नुपर्ने, नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन रोक्नुपर्नेलगायत माग केसीले राखेका छन्।
डिन नियुक्तिको माग पूरा भए पनि केसीले त्रिविका पदाधिकारीलाई पनि बर्खास्त गर्नुपर्ने अडान लिएपछि समस्या जटिल बनेको हो। तीन साताअघि सरकारले माग पूरा गर्ने सहमति गरेपछि चौध दिनमा आमरण अनशन तोडेका केसी माग पूरा गर्न आनाकानी भएपछि फेरि अनशन बसेका हुन्। पछिल्लोपटक उनी अनशन बसेको ६ दिन भएको छ।
राजीनामा गर्दैनौं : उपकुलपति
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आफूहरूको राजीनामा मग गर्दै आमरण अनशन बसेका चिकित्सक गोविन्द केसीको मागको कुनै अर्थ नरहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आफूहरूको राजीनामा मग गर्दै आमरण अनशन बसेका चिकित्सक गोविन्द केसीको मागको कुनै अर्थ नरहेको बताएका छन्।
उपकुलपति हीराबहादुर महर्जन, शिक्षाध्यक्ष गुणनिधि न्यौपाने र रजिस्ट्रार चन्द्रमणि पौडेलले बिहीबार पत्रकारसम्मेलन गरी केसीकै मागका आधारमा राजीनामा नदिने स्पष्ट पारेका हुन्। महर्जनले भने, 'अनियमित तरिकाबाट कुनै काम गरेका छौं भने नियमअनुसार कारबाही भोग्न हामी तयार छौं। तर एउटा व्यक्तिले कसैलाई आरोप लगायो भन्दैमा सत्य हुँदैन।'
महर्जनले थपे, 'हामी त्रिवि नियमअनुसार नियुक्त भएका हौं। कुनै राजनीतिक दलको कार्यकर्ता भएर नियुक्त भएका होइनौं। कसैले निर्देशन दिँदैमा हामी राजीनामा गर्दैनौं। ऐननियमअनुसार कसैले बर्खास्त गर्छ भने त्यतिखेर सबै कुरा सोचौंला।' शिक्षाध्यक्ष न्यौपाने र रजिस्ट्रार पौडेलले माग पूरा भएकाले अनशन तोड्न केसीलाई आग्रह गरे।



0 comments
Readers Comments
i love like and koment