,

विस्फोटले ल्याएको वियोग

विस्फोटले ल्याएको वियोग

दोहा (कतार), फाल्गुन १७ - कोठाभित्र १८ बेड छन् । ढोका दायाँबायाँका दुई बेडको ओछ्यान उल्टाइएको छ । सामुन्नेको अर्को बेड पनि खाली छ । छिर्नेबित्तिकै गुल्मीका गोकर्ण नेपालीले देखाउँदै भने, 'यो टंकबहादुर छेत्री र दुर्गाबहादुर कार्कीको हो । त्यो बीचको यमबहादुर खत्री र कुनाको टंकबहादुर छेत्रीको ।'

उनले त्यसो भनिरहँदा सामुन्नेका अरू साथीका आँखा आँसुले भरिएका थिए । सन्नाटा छायो । बोलिहाल्न कोही तम्सिएनन् । वर्षौंदेखि एउटै छतमुनि काम गर्ने र रात बिताउने साथी गुमाएको पीडामा थिए उनीहरू ।

ग्यास सिलिन्डर विस्फोट हुँदा छत खसेर चार नेपालीको बिहीबार मृत्यु भएको थियो । चारै जना बागलुङका नातेदार हुन् । गरफास्थित इस्तानबुल रेस्टुरेन्टको छतमा राखिएको सिलिन्डर विस्फोट हुँदा हिला गाविस काँक्राखोरका दुर्गा कार्की, अर्गल-५ का यमबहादुर खत्री, अर्गल-६ का मनबहादुर खत्री र अम्बरभूमिका टंकबहादुर छेत्रीले ज्यान गुमाएका हुन् । अघिल्लो साँझ सबै साथीभाइ एकठाउँमा जम्मा भएर खानपिन र रमाइलो गरेका थिए । 'यसरी छुट्नु रहेछ,' गुल्मीका गोकर्णले भने, 'एकै ठाउँमा बसेर खानापान गर्‍यौं, फोटो खिचायौं ।'

घटनापछि उनीहरू सुत्न सकेका छैनन् । 'रातभर निद्रा लागेन, सुत्नै सकिएन,' मानबहादुर बस्नेतले भने, 'घरि-घरि साथीहरू बोलाउन आउँछन् कि जस्तो लाग्थ्यो ।'

अल रुवाबी दोहाको चर्चित रेस्टुरेन्ट हो । विभिन्न शाखामा गरी यसमा ६ सयभन्दा बढी नेपाली कार्यरत छन् । बढीजसो गुल्मी र बागलुङका आफ्ना गाउँका साथीभाइ/आफन्त छन् । मृत्यु भएका यमबहादुर नगेन्द्र खत्रीका बहिनीज्वाइँ हुन् । नगेन्द्र अब यमबहादुरसहित चारै जनाको शव लिएर नेपाल जाने तयारीमा छन् । 'सधैं घर जाँदा मोबाइल, पैसालगायत सामान लगेर घर पुर्‍याइदिन्थे, यसपालि पनि सामान लगिदिन्छु है भन्थे,' खत्रीले भने, 'दैवको खेल । यसपालि सामानको साटो शव लिएर जानुपर्ने अवस्था आयो ।' अर्का आफन्त पदम खत्रीले नेपालबाट परिवारले निरन्तर सोधखोज गर्न थाले पनि वास्तविकता बताउन सकेका छैनन् । 'यहाँ दाइको मृत्यु भयो भनेर सुनाउन आँट आएको छैन,' मनबहादुरका भाइ पदमले भने ।

घटनामा घाइतेमध्येका एक हुन् धनुषा इतरिया लक्कर-८ का ४० वर्षे पुरण मियाँ । बलेदिया (नगरपालिका) मा कार्यरत मियाँ सधैंझैं बिहान १० बजे टेस्टी रेस्टुरेन्टमा खाना खान गएका थिए । सात महिनादेखि त्यस क्षेत्रमा परेयता नियमित गइरहेका मियाँको त्यहाँ कार्यरत नेपालीसँगको सम्बन्ध पनि राम्रै थियो ।

त्यस बिहान उनी रोटी खाँदै थिए । पहिलो रोटी खाएर दोस्रो रोटी गाँस मात्रै हाल्न के खोजेका थिए, एक्कासि छतले थिचिन पुगे । 'थाहै नपाई छत खसेर गर्लम्मै थिच्यो,' हमादमा उपचार गराइरहेका उनले भने, 'एकछिनमा आँखा खो ल्दा टेबुलमै रहेका अरू चार साथी देखिएनन् । मेरो पनि टाउको मात्रै बाहिर थियो ।' त्यसको ८ मिनेटपछि उद्धार गर्न प्रहरी आयो । 'केही ठम्माउन सकिएन, मलाई खाना दिने गणेश खनाल भाइको टाउकोमा पूरै रगत देखिएको थियो । उ सकीनसकी उठेर भाग्दै थियो । मैले बोलाएको सुनेन,' उनले भने, 'आगो लागिरहेको थियो । प्रहरीले मलाई झिक्यो । एम्बुलेन्स वा हेलिकप्टर केमा हालेर ल्याए थाहा भएन ।'

कपिलवस्तु चनाटका गणेशको कपडामा आगो सल्कन पुगेको थियो । टाउकोमा लागेको गहिरो चोट सहँदै बाहिर निस्केर उनले ज्यान जोगाए । त्यही होटलको पछाडि कार वासमा काम गर्ने महोत्तरी जलेश्वरका केश अन्सारी कतारीको ल्यान्डक्रुजर सफा गर्दै थिए । 'एक्कासि पछाडिबाट केले हिर्कायो, निकै पर हुत्ताइदियो,' उनले भने, 'त्यसपछि केही थाहा छैन, आफूलाई हस्पिटलमा पाएँ, टाउकोमा क्षति पुगेको रहेछ ।'

हमाद अस्पतालमा अन्सारी र मियाँबाहेक सबै घाइतेलाई रिफर गरिएको नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले बताए ।

दूतावासले सबै प्रक्रिया पूरा गर्न समय लाग्ने हुँदा शव पठाउन केही दिन लाग्ने जनाएको छ ।

प्रकाशित मिति: २०७० फाल्गुन १७ ०८:३४


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide