इलामका विद्यालयमा पस्यो अख्तियार
Posted by Unknown
Published on Wednesday, 12 March 2014
२९ फागुन, इलाम । भौतिक निर्माण तथा मर्मत सम्भारका लागि जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको पेस्की रकम फछ्र्यौट नगर्ने विद्यालयहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
बहुतले भवन, विद्यालय मर्मत, दुईकोठे भवन, शौचालय र मर्मत तथा पुनःस्थापना कार्यक्रमका लागि जिशिकाले विद्यालयहरूलाई सो पेस्की प्रदान गरेको थियो । तर विद्यालयले भौतिक निर्माण तथा मर्मतसम्भारका लागि लिएको पेस्की फछर्याैट नगर्दा बेरुजु देखिएको हो । जिशिअ दिलनाथ पुरीले भने, ‘पेस्की फछ्र्यौट गर्नेभन्दा निर्माण सम्पन्न गर्नेतर्फ विद्यालय लाग्नुपर्छ ।’
बहुतले भवनतर्फ एक करोड ६४ लाख ४८ हजार २३५ रुपैयाँ बेरुजु छ । यस्तै विद्यालय मर्मततर्फ १३ लाख ६६ हजार ८ सय रुपैयाा, दुईकोठे भवनतर्फ १९ लाख ८८ हजार, शौचालयतर्फ ८३ लाख र मर्मत तथा पुनःस्थापना कार्यक्रममा २४ लाख ८० हजार रूपैयाँ आर्थिक वर्ष ०६८/६९ सम्मको बेरुजु रहेको जिशिकाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार गत आव ०६९/७० सम्म बहुतले भवन, शौचालय, मर्मत तथा पुनःस्थापना, दुईकोठे भवन र विद्यालय मर्मतमा पाँच करोड ७७ लाख ३३ हजार ३५ रुपैयाँ बेरुजु छ । बेरुजु फछर्यौट नगर्ने विद्यालयलाई अब आएका नयाँ कार्यक्रम नदिने र जिशिकालाई अटेर गर्ने विद्यालयलाई अख्तियारले नै छानबिन गर्ने जिशिअ पुरीले बताए ।
विद्यालयहरूले आर्थिक वर्ष ०६६/६७ देखि पेस्की फछ्र्यौट गरेका छैनन् । जिल्लाका ६० वटा भन्दा बढी विद्यालयले पेस्की फछर्याैट नगरेको जिशिकाले जनाएको छ । रासस


0 comments
Readers Comments
i love like and koment