khabar,
शरणार्थी शिविरमा सम्झाउनी बिर्साउनी
Posted by Unknown
Published on Wednesday, 12 March 2014
दमक, फाल्गुन २९ - धेरै भएको थियो भुटानी शरणार्थी शिविरमा उल्लेख्य जमघट नभएको । तेस्रो देश पुनःस्थापनाको लहर चलेपछि सबैको ध्यान त्यतै एकोहोरिँदै आएको थियो ।
मंगलबार शिविरको एउटा चौरमा सयौं शरणार्थी एकैचोटि ओइरिए । बालकदेखि वृद्धसम्म । तिनलाई छाप्राबाट चौरसम्म आउन बाध्य बनाएका थिए गायिका अञ्जु पन्त र अभिनेता इकु उर्फ सुलेमान शंकरले ।
इकुलाई आँखै अगाडि देख्दा शरणार्थी हाँसेर भुतुक्कै भए । 'कति हँसाउन सकेका हुन्,' अमेरिकामा पुनःस्थापना हुने समय पर्खिरहेकी एक वृद्धा भन्दै थिइन्, 'यस्तो रमाइलो अब जहाँ गए पनि नबिर्सने भयो ।'
इकुलाई बिदा गरेपछि पर्खाइ थियो अञ्जुको । उनका फ्यान शिविरमा कति रहेछन् भन्ने छर्लङ भयो । उनी स्टेजमा झुल्केदेखि नै ताली र वान्स मोरले छोडेन । उनले जुन गीत गाइन्, शरणार्थीले उही गीत आफैं गाए । 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई...' ले धेरै शरणार्थीलाई रुवायो ।
दर्शकमध्ये अधिकांश नेपालको जंगलमा रहेको यो शिविर छाडेर युरोप वा अमेरिका जान फारम भरेकाहरू थिए । 'नेपालको २२ वर्षे माया न सधैंभरिलाई भयो, न त यसलाई बिर्सनै सकिने भयो,' अमेरिका जान तयार परेका शरणार्थी घनश्याम लाम्घादेले भावुक हुँदै भने, 'हामी भुटानी जहाँ गए पनि नेपाली गीतसंगीत र माया हाम्राे लागि बिरानो हुँदैन ।'
अञ्जुले 'तिर्खा लाग्यो पानी खाएँ...,' 'फूलैफूलको संसार होइन माया...' सहित दर्जनजति गीत सुनाइन् । जाँदाजाँदै उनले भन्न भ्याइन्, 'शिविरमै रहनेहरूसँग यतै भेटिएला । युरोप र अमेरिका पुग्नेहरूसँग उतै भेटांैला ।'
वरिष्ठ गायक एलपी जोशीले 'रिटिङ रिटिङ नबजाऊ बिनायो..' गाएर शरणार्थीहरूलाई उसै गरी नचाए ।
बेलडाँगी शिविर व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रम धेरैजनाका लागि सम्झाउनी बिर्साउनी भएको शिविर सचिव सञ्चहाङ सुब्बाले बताए ।


0 comments
Readers Comments
i love like and koment