khabar,
जनकपुर बम काण्डका ‘मुख्य योजनाकार’ सभासद सञ्जय साह फरार
Posted by Unknown
Published on Monday, 17 March 2014
चैत-३, जनकपुर । जनकपुर बम काण्डका प्रमुख योजनाकार मानिएका सभासद सञ्जय साह फरार भएका छन् । जनकपुर बम काण्डमा संलग्न सशस्त्र समूहका नाइने मुकेश चौधरीको बयानको आधारमा साह मुख्य योजनाकार रहेको खुलेको थियो ।
केहि हप्ता अघि बम काण्डमा संलग्न भनिएका सशस्त्र समूहका नाइने मुकेश चौधरी भारतबाट पक्राउ परेका थिए । उनले दिएको बयान अनुसार बम काण्डको लागि सभासद साहले नै पैसा र बन्दुक उपलब्ध गराएका थिए । सभासद साह राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका उपाध्यक्ष हुन् । एमाओवादीले अघिल्लो संविधानसभामा संघीय राज्यहरुको प्रस्ताव गर्दा ‘मिथिला प्रदेश’ स्थापनाको माग राखेर जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी बि.स. २०६९ वैशाख १८ गते विस्फोट गराउँदा पाँच जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।
अन्नपूर्ण पोस्टमा प्रकाशित ‘जनकपुर विस्फोटको रहस्यमय कडी: पर्दापछाडि सक्रिय रहेको त्यो को हो?’ शीर्षकको समाचारमा घटनासँग सम्बन्धित अडियो रेकर्डको वाक्याशंहरुसमेत समावेश गरिएको छ । मुकेश चौधरीले जनकपुर बजारमा वितरण गरेका तीनवटा अडियो रेकर्डमा एकातर्फ मुकेश बोलेको प्रस्ट चिनिएको छ भने अर्कोको परिचय खुलेको छैन । हाल सञ्जय साहलाई प्रहरीले पक्राउ गर्न खोज्नुले फोनमा संवाद गर्ने साह नै रहेको हुन सक्ने स्रोत बताउँछ ।
यस्तो थियो ‘खोज पत्रकारिता केन्द्र’ मार्फत नवीन झाद्वारा लिखित अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार–
धनुषा प्रहरीले जनकपुर विस्फोटका महत्त्वपूर्ण कडी मानिएमध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानुनको घेराभित्र पारिसकेको छ।
घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोत्तरीका रिपेन्द्र झा र धनुषाका मुकेशकुमार कर्णलाई जलेश्वर कारागारमा राखेको छ। रिपेन्द्र केही वर्षअघिसम्म जनकपुर-काठमाडौं चल्ने रात्रिबस सारस टाभल्समा काम गर्थे। उनी जनकपुरको रामानन्दचोकमा उक्त गाडीको टिकट काउन्टरमा बस्थे।
मिथिला विस्फोटमा संलग्न यति धेरै व्यक्ति कानुनी दायरामा आइसके पनि मिथिलावासीले खोजेको खास 'त्यो मान्छे' फेला पर्न सकेको छैन। त्यो मान्छेबारे जनकपुर टुडेको मार्च ९ को अनलाइन संस्करणले 'अनुसन्धान गर' भन्ने शीर्षकमा सम्पादकीय लेखेर भनेको छ, '(मुकेश) चौधरी योजनाकारका सहयोगी भएर घटना गर्ने आपराधिक पात्र हुन्। .......नेपाल प्रहरीले अभियुक्त पक्राउ गरिसकेपछि अब बयान लिएर वास्तविक अपराधीसम्म पुगेर उनीहरूलाई समेत कानुनी दायरामा ल्याउन सक्नुपर्छ।'
एमाओवादीले पहिलो संविधानसभामा संघीय राज्यबारे प्रस्ताव गर्दा मिथिला राज्यको नाम उल्लेख नगरिदिएपछि जनकपुरमा सक्रिय रहेको मिथिला राज्य संघर्ष समितिले चरणबद्ध आन्दोलन सुरु गरेको थियो। आन्दोलनको लोकप्रियता बढ्दै गएको अवस्थामा २०६९ वैशाख १८ गते बिहान १०:३० बजेतिर मुख्य धर्नास्थल रामानन्दचोकमा शक्तिशाली बम विस्फोट भएको थियो।
घटनामा मिथिलाकी लोकप्रिय रंगकर्मी रञ्जु झासहित झगरुदास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास गरी पाँचजनाको ज्यान गएको थियो। विस्फोटमा ३२ जना सख्त घाइते भएका थिए। मिथिला राज्य माग गर्दै संघर्ष गरिरहेका अगुवाहरूको मिथिलाको राजधानीमै हत्या हुँदा देशभरिका नागरिक मर्माहत भएका थिए।
विस्फोटपछि अनुसन्धानमा खटिएको नेपाल प्रहरीको विशेष टोलीले घटनामा सशस्त्र समूहका मुकेश चौधरी र राजन मुक्ति संग्लन रहेको किटानी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रहरी अनुसन्धानले किटानी गरेका दुवै अभियुक्त पक्राउ परिसकेका छन्। दुईमध्ये मंसिर १ गते पक्राउ परेका राजन मुक्तिले प्रहरीलाई बयान दिँदै थप आधार दिएपछि मुकेश चौधरी फागुन १९ गते पक्राउ परेकाले मिथिलावासीमा 'त्यो मान्छे' पक्राउ पर्ने आस जागेको छ । धनुषा प्रहरीलाई राजन मुक्तिले बयान दिएका छन्, 'मेरो नेतृत्वमा रहेको जनतान्त्रिक तराई मुक्तिमोर्चा (राजन समूह), अर्जुन सिंह, प्रकाश विद्यार्थी भनिने मुकेश चौधरीको तराई जनतान्त्रिक पार्टी, विद्यार्थी लिबरेसन फ्रन्ट, नागराज भनिने उमेश तिवारीको तराई कोब्रा, राजन प्रताप भनिने प्रफुल यादवको मधेस मुक्ति टाइगरसमेतको संयुक्त बैठक लखनउको दयालपुरस्थित मुकेश चौधरीको कोठामा (बस्यो)।
(त्यहाँ) बैठक बसी (आपसमा) कार्यगत एकता गर्ने तर एकआपसमा विलय नहुने गरी कार्यगत एकताका (लागि) सहमति गरी (हालसम्म) भए गरेका कामहरूको सामूहिक जिम्मेवारी लिने निर्णय भएकोमा... सोही क्रममा तराईमा भूमिगत पार्टीको अस्तित्व देखाउन र आतंक मच्चाउनका लागि धनुषामा बम विस्फोट गराउने कुरा उठी हामीहरूले बम विस्फोट गराउने निर्णय गरेका थियौं।
योजना मुताबिक मसमेत मुकेश चौधरीले विस्फोटक पदार्थ पठाई हाम्रा कार्यकर्ताहरू परिचालन गरी २०६९/१/१८ गते रामानन्दचोकमा भएको शान्तिपूर्ण धर्नामा बम विस्फोट गराएकोमा सो विस्फोटमा पाँचजनाको मृत्यु, ३२ जना घाइते भएका थिए। घटनापश्चात् समाज (जनकपुरमा) आतंक मच्चाउन सकिएकाले, मैले तत्काल प्रयोग गरेको ०० ९१८५२१४२७५५५ (मोबाइल) नम्बरबाट जनकपुरका पत्रकारहरूलाई एसएमएस र फोन गरी घटनाको जिम्मेवारी लिएको थिएँ, घटनापश्चात् हाम्रा कार्यकर्ता र विस्फोटक पदार्थसमेत बरामद र पक्राउ गरियो।'
राजन मुक्तिले दिएको यही बयानका आधारमा धनुषा प्रहरीले मुकेश चौधरीलाई अभियुक्त बनाई सार्वजनिकसमेत गरिसकेको छ। हाल प्रहरी नियन्त्रणमा रहेका मुकेशले जनकपुर विस्फोट काण्ड भएको तीन महिनापछि जनकपुर बजारमा तीनवटा अडियो रेकर्ड वितरण गरेका थिए। उनले आफूसँग वार्ता गर्ने मानिसप्रति प्रहरी र जनकपुरवासीको ध्यानाकर्षण गर्न खोजेका थिए।
त्यसमध्येको पहिलो अडियो रेकर्डमा एकातर्फ मुकेश बोलेको प्रस्ट चिनिन्छ भने अर्कोतर्फ बोल्ने मानिस पहिचान गर्न प्रहरी लागिपरेको छ। जनकपुर विस्फोटमा पर्दापछाडि सक्रिय रहेको 'त्यो' को हो? र त्यसले विस्फोटमा खत्तम पार्न चाहेको 'ऊ' को हो? यही प्रस्ट पार्नु प्रहरीको गहन जिम्मेवारी देखिएको छ।
मुख्य 'सिकार' लाई 'टार्गेट' मा पार्ने प्रयास
जनकपुर विस्फोट हुनुभन्दा केही दिनअगाडि मैथिली भाषामा गरिएको संवादको अडियो रेकर्डको नेपाली रूपान्तरणमा मुकेशले संकेतमा ऊ भनेर मुख्य 'सिकार' लाई 'टार्गेट' मा पार्ने प्रयास गरेका छन् र त्यहाँ 'मिस' हुने अर्थात् ऊ फुत्कने सम्भावना भएको चर्चाका साथै धेरै क्षति हुनसक्ने चिन्ता पनि गरिएको छ।
संवादको पूर्ण विवरण
मुकेश चौधरी : उसलाई समान लिएर त्यहाँ जानु भन्या छु, चेकसेक त गर्दैन? पक्रने सम्भावना त हुँदैन?
दोस्रो वक्ता : उसलाई तपाईंले केके भन्नुभयो?
मुकेश : पछाडिबाट जानु भन्या छु। चारैतिर गेट छ। त्यहींबाट ऊ भएको तिर गएर उनको छेउमा राखिदिनु भन्या छु।
दोस्रो वक्ता : साइडबाट गर्नु भन्नू। भीडमा नराख्नू, छति धेरै हुन जान्छ।
मुकेश : त्यसो भए कि त ब्याक गर्नुपर्यो। कि त भीडबाटै जानुपर्छ। एउटा कुरा गर्नुपर्यो। नत्र उ पनि कन्फ्युज हुन्छ।
दोस्रो वक्ता : होइन, त्यहाँबाट ऊ निस्केपछि उसको छेउमा गएर राख्नु भन्नु न।
मुकेश : त्यसरी कसरी हुन्छ, ऊ जहाँ छ, त्यही भीडमा गएर राख्न लगाइदिन्छु।
दोस्रो वक्ता : होइन-होइन, त्यो ठीक हुँदैन। त्यसले धेरै छति हुन्छ।
मुकेश : त्यसरी कहाँ हुन्छ? त्यसलाई कुनै एउटा कुरा भन्नुपर्यो। नत्र ऊ पनि सशंकित हुन जान्छ।
दोस्रो वक्ता : त्यसरी हुँदैन, तपाईं वीरेन्द्रसँग इन्फरमेसन लिनु त।
मुकेश : म वीरेन्द्रसँग लगातार सम्पर्कमा छु।
दोस्रो वक्ता : वीरेन्द्रसँग तपाईं सम्पर्कमा रहनू। उसलाई त्यहाँ स्टयान्डबाई, त्यहीं राख्नु। सिक्वेन्स मिलेपछि म भन्छु।
मुकेश : यसरी त मिस हुने सम्भावना धेरै हुन्छ।
दोस्रो वक्ता : हो, मिस हुने चान्स धेरै छ।
मुकेश : घटनाको जिम्मा लिँदा हुँदैन?
दोस्रो वक्ता : होइन-होइन। त्यस्तो काम गर्नु हुँदैन। तपाईं कस्तो गलत कुरा गर्नुभयो।
मुकेश : छेउमा रिमोट छ, एक सेकेन्डको खेला हो। के गरौं? त्यहाँ कम से कम एक सय ५० भन्दा बढी मानिस छन्।
दोस्रो वक्ता : छोड्दिनु आज।
मुकेश : त्यही त ऊ त्यहाँबाट निस्केपछि सीधै होटेल पसिहाल्छ नि।
दोस्रो वक्ता : छोड्दिनु, धेरै छति हुन जान्छ। यिनीहरू फेरि भोलि बसिहाल्छ नि।
मुकेश : उसो भए आइतबार गरौंला ...।
दोस्रो वक्ता : भोलि नै बस्ला नि फेरि। मिलाएर कति बेला उपयुक्त हुन्छ, त्यहीअनुसार गर्नुपर्छ।
यस संवादमा विस्फोट गराउनेहरूले कुनै एकजना 'ऊ' लाई मात्र मार्न चाहेको बुझिन्छ। यो योजना आइतबारअघिकै थियो भन्ने पनि बुझिन्छ। तर आदेशकर्ता दोस्रो वक्ताले चाहेको जस्तो सिक्वेन्स मिल्न नगएर धेरैजनाको ज्यान गएको देखिन्छ। त्यति मात्र होइन, आदेशकर्ताको चाहनाचाहिँ धर्ना कार्यक्रम नै उपयोग गर्ने रहेको देखिन्छ। आदेश माग्ने मुकेशले चाहिँ बमले मानिस उडाउनुलाई सामान्य काम ठानेको देखिन्छ।
घटनाको जिम्मेवारी लिए त पुगिहाल्छ नि भनेर मुकेशले आदेशकर्तालाई सम्झाउनुलाई चानचुने आपराधिक मानसिकता मान्न सकिँदैन। अन्तमा उनीहरूबीच आइतबार काम फत्ते गर्ने सहमति हुन्छ।
जनकपुर विस्फोट २०६९ वैशाख १८ सोमबार भएको हो। त्यस दिन रामानन्दचौकमा एक सय ५० जनाभन्दा बढी मानिस शान्तिपूर्ण धर्नामा बसिरहेका थिए। उनीहरू मिथिला राज्यको समर्थनमा हस्ताक्षर संकलन गरिरहेका बेला विस्फोट हुन गएर मिथिलाका होनाहार सपुतहरूको ज्यान गयो। घटना हुनुभन्दा केही समयअघि माथिका दुवै पात्रले फेरि संवाद गरेका छन्। यस संवादमा पनि उही आवाज छ। जसमा मुकेश चौधरीले घटना हेर्न टीभी खोलेर बसिरहनु भनेर त्यो मान्छेलाई आग्रह गरेको छ।
दोस्रो अडियो रेकर्डको विवरण
त्यो व्यक्ति : म कति बजेसम्म टीभीनिर बसिरहुँ ?
मुकेश : आज तपाईं कन्टिन्यु बसिराख्नु, कन्टिन्यु...।
दोस्रो अडियो रेकर्डले कोही मान्छे टीभीमा घटना हेर्न उत्ताउलो भइरहेको देखिन्छ। उसको उत्ताउलोपनलाई मुकेशले आज शब्द प्रयोग गरेर शान्त पारेको छ। त्यो मान्छेबारे मुकेशले अब के बोल्छन्, कसैलाई थाहा छैन, तर उनले यसअघि नै बोल्नुपर्ने जति बोलिसकेका छन्। 'त्यो' मान्छेको खोजी गर्न मिथिला राज्य संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका छन्। घटनाले कुन मोड लिने हो, देशभर नै प्रतीक्षा छ । (समाचार स्रोत: ओएनएस)


0 comments
Readers Comments
i love like and koment