khabar,
नेसनल हाइड्रोपावरको सेयर कारोबार सुरु मिति : २०७० चैत १३
Posted by Unknown
Published on Wednesday, 26 March 2014
काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार पुन: सुरु भएको छ। ग्रोमोर मर्चेन्ट ब्यांकरले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई नेसनल हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रारको काम आफूले गरिरहेको लिखित जानकारी गराएपछि ब्रोकरले बुधबारदेखि यो कम्पनीको सेयर कारोबार थालेका हुन्।
केही समयअघि ब्रोकर्स एसोसिएसनले सामूहिक निर्णय गरी सेयर रजिस्ट्रारको टुंगो नलागेसम्म नेसनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार नगर्ने जानकारी गराएको थियो।
नेसनल हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा लामो समयदेखि विवाद छ। योगेन्द्र राई र कुमार पाण्डे पक्षबीच विवाद चर्किंदै जाँदा दुई पक्षले छुट्टाछुट्टै सञ्चालक समिति खडा गरेका छन्। दुवै पक्षले आफूलाई वैधानिक अध्यक्ष र सञ्चालक समिति भएको दाबी गरेका छन्। कम्पनीको सञ्चालकबीच विवाद बढेकाले सेयर रजिस्ट्रार को भन्नेमा अन्योल उत्पन्न भएको हो।
यसअघि ग्रोमोर मर्चेन्ट ब्यांकरले नेसनल हाइड्रोपावर कम्पनीले सेयर रजिस्ट्रार (आरटीएस) को काम गरेको पैसासमेत नपाएको भन्दै काम गर्न नसक्ने जानकारी गराएको थियो। ग्रोमोरलाई आरटीएसको जिम्मेवारी दिनेनदिने भन्नेमा समेत दुई पक्षबीच विवाद छ।
कम्पनी सञ्चालक समितिमा विवाद चुलिएपछि अदालतमा मुद्दा परेको थियो। पुनरावेदन अदालत पाटनले हालै सञ्चालक समितिको विवाद तत्काल समाधान गर्न तथा ग्रोमोर मर्चेन्ट ब्यांकरलाई आरटीएसको काम गर्न आदेश दिएको छ।
अदालतको आदेशबमोजिम नेपाल स्टक एक्सचेन्जले सञ्चालक समितिका दुवै पक्षलाई एकीकृत सञ्चालक समिति बनाउनसमेत निर्देशन दिइसकेको छ। तर, अहिलेसम्म दुवै पक्षले मिलेको जानकारी गराएका छैनन्। दुवै पक्षले आआफ्नो नेतृत्वमा रहेको सञ्चालक समिति नै वैधानिक भएको दाबी गरिरहेका छन्।
नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले अदालतको आदेश कार्यान्वयन गराउने क्रममा ग्रोमोरलाई पुन: नेसनल हाइड्रोपावरको आरटीएसको काम गर्न निर्देशन दिइएको बताए। 'नेसनल हाइड्रोपावर कम्पनीमा दुवै पक्षले आफूहरू नै वैधानिक भएको दाबी गरिरहेका छन्', उनले भने, 'एउटै कम्पनीमा दुईवटा अध्यक्ष र दुई सञ्चालक समिति हुन सक्दैन। निर्देशन नटेरे कारबाही हुन्छ।'
ब्रोकर्स एसोसिएसनका अध्यक्ष नरेन्द्रराज सिजापतिले ग्रोमोर मर्चेन्ट ब्यांकरले आरटीएसको काम गर्दै आएको जानकारी गराएपछि नेसनल हाइड्रोपावरको सेयर कारोबार फेरि गर्न थालेको जानकारी दिए। 'यसअघि आरटीएस को भन्ने अन्योल भएकाले लगानीकर्ता मारमा नपरून् भनेर नेसनल हाइड्रोको सेयर कारोबार स्थगित गरेका हौं', उनले भने।
उता, कारोबार खुलेकै दिन बुधबार नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतले बढेको छ। बुधबार यो कम्पनीको २६ लाख ५१ हजार दुई सय रुपैयाँको २१ हजार चार सय कित्ता सेयर कारोबार भएको हो।


0 comments
Readers Comments
i love like and koment