रोचक जानकारी,
महासंघको उपाध्यक्षमा उठ्ने अञ्जन श्रेष्ठको तयारी
Posted by Unknown
Published on Wednesday, 12 March 2014
यस्तो छ श्रेष्ठको रामकहानी
२९ फागुन, काठमाडौं । व्यावसायिक सफलताका आधारशीला के हुन् ? औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक अञ्जन श्रेष्ठको जवाफ हुन्छ ‘कामको प्राथमिकता र समय व्यवस्थापन ।’
आईकम पढ्दादेखि नै पारिवारिक व्यवसायमा होमिएका उनी अहिले आफ्नो समूहको अटोमोबाइल, प्लाष्टिक, डेरी लगायतका उद्योगको नेतृत्व गर्दै आएका छन् । अब तारे होटलमार्फत् पर्यटन क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेको उनी बताउँछन् ।
व्यावसायिक क्रियाकलापको दौरानमा उनी परिवारलाई समय दिन पनि उत्तिकै सचेत छन् । ‘बिहान-बेलुका र बिदाको दिन परिवारसँग बिताउन चाहन्छु’ उनले अनलाइनखबरसँग भने ‘मलाई बिदाको दिन आनन्दसँग बस्न मन पर्छ ।’ उनी बिहान नियमित गल्फ खेल्न जान्छन् ।
खाना र फिल्मको सौखिन
सरल जीवन बिताउन चाहने उनी पहिरनमा पनि खासै सौखिन नभएको बताउँछन् । तर खानामा भने निकै सौखिन भएको बताए । ‘म खाने कुरामा निकै सौखिन छु, मलाई मिठो खानेकुरा चाहिन्छ, मलाई मिठो खाने कुरा चाहिने मात्र होइन, आफै बनाउन पनि सक्छु’ उनले भने । उनले खानैका लागि रेष्टुरेन्टहरु चाहार्दै नहिँड्ने बताउँदै जुन रेष्टुरेन्टमा खाँदा मिठो लाग्यो त्यहीं निरन्तर जाने गरेको बताउँछन् ।
उनी समय व्यवस्थापनमा सचेत रहेकोले सँधै तनावरहित रहने बताउँछन् । ‘म कुनै काम अथवा मिटिङमा छु भने बुवाले गरेको फोनसमेत रिसिभ गर्दिन’ उनले भने- ‘गर्न लागेको काम सिध्याएरमात्र सबैलाई कल ब्याक गर्ने मेरो बानी छ ।’ त्यसो गर्दा आफूले गर्न थालेको काम सम्पन्न गर्न सहज हुने उनको ठम्याइ छ । ‘म निकै व्यस्त छु, उत्तिकै प|mेस पनि देखिन्छु’ उनले भने ‘किनकि आफ्नो कामलाई बोझ ठान्दिनँ ।’
उनी परिवारसँग फिल्म हल पनि पुग्छन् । ‘विदाको समय परिवारको लागि’ उनी भन्छन् ‘निजी जिन्दगी पनि जिउनु पर्छ ।’ उनको रोजाइमा हिन्दी फिल्म बढी पर्छ । नेपाली फिल्ममा ‘इनर्जी’ नभएकोले चासो नलागेको उनी बताउँछन् । ‘मानिसहरु धुम थि्र, क्रिस, डेड स्केर हेर्न किन झुम्मिए ?’ उनले भने ‘किनकी यी फिल्महरुमा इनर्जी थियो ।’
उनलाई मनपर्ने बलिउड नायक सलमान खान र नायिका माधुरी दीक्षित रहेछन् । उनीहरुको फिल्म हेर्न उनी छुटाउँदैनन् । ‘सलमानको एक्टिङ र माधुरीको स्माइल साह्रै मन पर्छ’ उनी भन्छन् ।
वियोगान्त गीतको पारखी
सँधैजसो फ्रेस मूडमा देखिने उनको रोजाइ भने वियोगान्त गीत संगीत रहेछ । ‘खासगरी नारायण गोपालका गीत मन पर्छ’ उनले भने ‘प्रेमभाव पोखिएका गीतहरु पनि मन पर्छन् ।’ नयाँ पुस्तामा रामकृष्ण ढकालका गीतहरु बढी सुन्ने गरेको बताउँदै उनले रात्रि समय समय संगीतको छुट्याएका छन् । ‘अहिले त यु ट्युबबाट गीत डाउनलोड गर्यो, सुन्यो’ उनी भन्छन् ‘प्रविधिले धेरै सजिलो बनाइदिएको छ ।’
उनी हरेक बिहान आधा घण्टा भगवानको आराधनामा छुट्याउँछन् । ‘मलाई भगवानप्रति ठूलो विश्वास छ’ उनी थप्छन् ‘ तर म अतिवादी होइन ।’ उनको श्रीमति पनि आध्यात्मिक स्वभावको भएकोले पारिवारिक माहौल मिलेको छ ।
हिन्दू धर्मका अनुयायी उनी मस्जिद, गुम्बा, चर्चहरु पनि पुग्छन् । ती ठाउँमा पनि उनी सम्मानपूर्वक शिर निहुर्याउँछन् । धर्मलाई स्वतन्त्र रुपमा मान्नुपर्ने उनको धारणा छ । तर अहिले धर्मलाई राजनीतिसँग जोड्न थालिएको टिप्पणी गर्दै उनले भने ‘यो दुःखदायी छ ।’
दम्पत्तिको एकै नाम
पढ्दै गर्दा प्रेम गर्ने कोसिस पनि गरेका रहेछन् उनले । तर मायाको डोरी कस्न भगवानले नै नजुराएको उनको विश्लेषण छ । त्यसैले उनले मागी
विवाह गरे । आफ्नी श्रीमति र आफ्नो नाम एउटै जुर्न गएपछि दुबैको जोडी भगवानले पहिला नै तय गरिदिएको उनको विश्वास छ । उनकी श्रीमतिको नाम अञ्जना हो ।
व्यावसायिक कारोबार गर्दै आएका परिवारमा जन्म भएकोले उनको बाल्यकाल सुखी रह्यो । बाल्यकाल पोखरामा बिताएका उनले माध्यामिक र उच्च शिक्षा काठमाण्डौको सिद्धार्थ वनस्थली स्कूलमा बिताए । स्कूले जिन्दगी उनले होस्टलमै काटे ।
अहिले उनका दुई छोरा छन् । जेठोले १२ कक्षा पास गरिसकेको छ भने कान्छो ११ मा पढ्दै छन् । उनले बि.कम. सकेर २३ वर्षको उमेरमा विवाह गरेका थिए ।
उनी आफू प्रविधिमा त्यति अपडेट नभएको बताउँछन् । फेसबुक चलाउन पनि बल्ल सिक्दै गरेको उनको भनाइ थियो । उनी अहिले हुन्डाईको सोनाटा गाडी चढेर हिँड्छन् । जीपभन्दा कार मनपर्ने सुनाउँदै उनले राजधानीमा कार र हाईवेमा जीप गाडी चलाउने गरेको बताउँछन् ।
सेक्समा सेक्रेसी
उनी आफूले जिउने परिकल्पनाको संसार नै जीवन भएको धारणा राख्छन् । हरेक मान्छेले आफ्नो जीवन कसरी बिताउने परिकल्पना गरेको हुन्छ । परिकल्पनामा कति सफल कति असफल हुन्छन् त्यो बेग्लै कुरा हो ।
प्रेमको बारेमा पनि भिन्न विश्लेषण छ । उनको विचारमा प्रेम आपसमा बाँड्ने कुरा हो । ‘प्रेम जसले जसलाई पनि गर्न सकिन्छ’ उनी भन्छन् ‘प्रेम ग्रहण गर्ने र बाँड्ने चिज हो ।’
यौनको बारेमा पनि उनको उदार मान्यता छ । ‘सेक्स जीवनमा नभई नहुने बायोलोजिकल निड हो’ उनी भन्छन् ‘तर सेक्स प्राइभेसी भएको हुँदा ओपन गर्न हुँदैन ।’ नेपाली समाज सेक्समा उदार नभएपनि पाश्चात्य संस्कृतिको प्रभावले ओपन र भद्धा रुपमा प्रस्तुत हुन थालेको उनको भनाइ छ । ‘पछिल्लो समय सेक्स समाजमा विकृतिका रुपमा पनि आउन थालेको छ’ उनी थप्छन् ।
उपाध्यक्षमा आकांक्षा
नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य रहेका श्रेष्ठ चैतमा हुन लागेको नयाँ कार्यसमिति निर्वाचनमा उपाध्यक्षमा लड्ने योजना बनाएका छन् । आफ्नो पक्षमा माहौल बन्दै गएपछि उपाध्यक्षको आकांक्षीको रुपमा आफूलाई प्रस्तुत गरेको उनले बताए । उपाध्यक्षमा उनको सम्भावना पनि बढ्दै गइरहेको बताइन्छ ।
यसअघि उनी नेपाल अटोमोबाइल डिलर्स एसोसियसनको उपाध्यक्ष भइसकेका छन् । ‘उपाध्यक्षमा उम्मेदवारी दिन व्यवसायीहरुसँग भेटघाट र कुराकानी गरिरहेको छु’ उनले भने ‘राम्रो रेस्पोन्स आएमा उम्मेदवारी दिनेछु ।’
उनी महासंघको राजनीतिमा पूर्णतया व्यावसायिक मानिसको प्रतिनिधित्व हुनुपर्ने धारणा राख्छन् । ‘महासंघमा आफै व्यवसाय गरेको व्यक्ति आउनुपर्छ भन्ने मेरो मान्यता हो, पछिल्लो समय त्यस्तो देखिदैन’ उनले भने ‘म समूहको बिजनेसमा प्रवेश गरेपनि प्लाष्टिक उद्योग आफै खोलेर सञ्चालन गरेको हुँदा महासंघ पदाधिकारीका लागि योग्य छु भन्ने लाग्छ ।


0 comments
Readers Comments
i love like and koment