,

१४ प्रहरी अधिकारीलाई अमेरिका प्रवेशमा रोक

१४ प्रहरी अधिकारीलाई अमेरिका प्रवेशमा रोक
=========================
मानव अधिकार उल्लंघनका कारण 'भेटिङ' मा परेको भन्दै प्रहरी अधिकृतहरूलाई भिसा दिइएन !

काठमाडौं, फाल्गुन १८ - अमेरिकाले करिब १४ जना नेपाली प्रहरी अधिकारीहरूलाई मानव अधिकार उल्लंघनको आरोपमा आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । प्रहरी मुख्यालयले काठमाडौंस्थित अमेरिकी दूतावाससँग तत्काल छलफल गरी बाटो खोलिदिनसमेत आग्रह गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार पछिल्लो अवधिमा प्रहरी निरीक्षकभन्दा माथिका १४ अधिकारीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । प्रहरी मुख्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अमेरिकी सरकारको नीतिले प्रहरी कर्मचारीको वृत्तिविकासमा अवरोध आएको समेत जनाएको छ ।

अमेरिकाबाट तालिम, गोष्ठी, सेमिनार र यूएन मिसनमा विज्ञापन आएपछि नेपाल प्रहरीका कर्मचारीले छनोट प्रक्रिया पार गरी उड्न दुई/तीन दिनमात्रै बाँकी हुँदा दूतावासले जानकारी दिने गरेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक गणेश केसीले बताए । 'त्यसरी दिइएको जानकारीसमेत अपूरो हुने गरेको छ,' उनले कान्तिपुरसँग भने, 'अन्तिम समयमा त्यसरी अस्वीकार गर्दा अर्को मान्छेसमेत पठाउन सकिँदैन ।'

धेरै प्रहरीहरू भेटिङ -कुनै विषयमा गरिने जाँच) मा पर्न थालेपछि मुख्यालयले गृहको मानव अधिकार प्रवर्द्धन तथा अन्तर्राष्ट्रि्रय समन्वय शाखालाई पत्राचार गरी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावाससँग छलफल गराइदिन अनुरोध गरेको हो । उसले द्वन्द्वकालीनलगायत अन्य घटनासँग जोडेर प्रहरी कार्यालय र त्यसको माथिल्लो निकायलाई समेत 'भेटिङ' मा राखेको जनाएको छ ।

'हचुवा र एकतर्फी रूपमा कसुरदार घोषित गर्ने परिपाटी प्राकृतिक न्यायको सिद्धान्त, अन्तर्राष्ट्रिय घोषणापत्र र संविधानविपरीत छ,' प्रहरी मुख्यालयले पठाएको पत्रमा उल्लेख छ । यसबारेमा अमेरिकी दूतावासका प्रवक्ता रवर्ट डोमेनसँग सम्पर्क गर्दा उनले 'गोपनीयताको विषय' भएकाले आवेदकहरूको भिसा किन अस्वीकार गरियो भन्नेबारेमा जानकारी दिन नमिल्ने बताए ।

पछिल्लो पटक अमेरिकी सरकार मातहतकै एफबीआई -फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) को निम्तोमा गत शुक्रबार अमेरिकातर्फ जान लागेका मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) केशबहादुर शाहीसमेत झन्डै रोकिए । उनलाई उड्नुभन्दा दुई दिनअघि बुधबार अमेरिकी दूतावासले 'भेटिङ' मा परेको भन्दै प्रहरी मुख्यालयको मानव अधिकार सेललाई इमेलमार्फत जानकारी दिइएको थियो । त्यसपछि मुख्यालयले अनौपचारिक दबाब सिर्जना गरेपछि मात्र अन्तिम अवस्थामा उनलाई भिसा दिएको थियो ।

'कहाँ, कसरी, कुन जिल्लामा हुँदा उनी भेटिङमा परेको भन्ने स्पष्ट पत्र थिएन,' प्रहरी प्रवक्ता केसीले बताए । एक वर्षअघि बैंककमा एफबीआईकै कार्यक्रममा जान लागेका डीआईजी शाहीलाई अमेरिकी दूतावासले सहभागी हुन निषेध गरेपछि उनको सट्टा अर्का प्रहरी अधिकारीलाई त्यसतर्फ पठाइएको थियो । शाही त्यसबेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए ।

राजधानीभित्र र बाहिरका केही प्रहरी कार्यालयमा सरुवा भएर गएकै भरमा प्रहरी कर्मचारीलाई अमेरिकी दूतावासले भेटिङमा परेको भन्दै भिसा दिन अस्वीकार गरेको सम्बद्ध अधिकारीहरूको दाबी छ । ती कार्यालयमा रहँदा मानव अधिकार उल्लंघन भएको अनुमान गर्दै अमेरिकी सरकारको सहयोगमा सञ्चालन हुने कार्यक्रम र अमेरिका प्रवेशमा रोक लगाइएको उनीहरूको दाबी छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले उपत्यकाभित्र र बाहिरका १३ प्रहरी कार्यालयमा मानव अधिकार उल्लंघन भएको भन्दै ती कार्यालयमा दरबन्दी भएका प्रहरी अधिकृतलाई भिसा दिन अस्वीकार गरेको एक अधिकारीले बताए । त्यसरी अस्वीकार गरिएका प्रहरी कार्यालयमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका काठमाडौं परिसर, महानगरीय प्रहरी वृत्त बालाजु, महानगरीय प्रहरी वृत्त बौद्ध, गौशाला, महानगरीय प्रहरी वृत्त कालिमाटी र केन्द्रीय अनुसन्धान ब्युरो छन् । ब्युरोलाई भने दूतावासले एक वर्षअघि मानव अधिकार उल्लंघनमा सफाइ दिएको स्रोतले उल्लेख गर्‍यो । यसैगरी बाँके, कञ्चनपुर, कपिलवस्तु, कास्की, मोरङ र उदयपुरका जिल्ला प्रहरी कार्यालयहरूलाई पनि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका अधिकारीहरूको युरोप यात्रा पनि प्रभावित भएको छ । जिप्रका कपिलवस्तुमा दरबन्दीमात्र भएका तर काम गर्नै नगएका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अर्याल यस्तै आरोपमा भिसा नपाउँदा इटालीमा भएको कार्यक्रममा भाग लिन पाएनन् । सात वर्षअघि इन्स्पेक्टर हुँदा उनको जिप्रका कपिलवस्तुमा सरुवा भएको थियो तर काठमाडौंमै कमान्डो तालिम गरिरहेका कारण उनी छ महिनापछि मात्र त्यहाँ पुगे । जिप्रका कपिलवस्तुले उनलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा खटाइदियो । कपिलवस्तु जिप्रकामा एक दिन पनि नबसेका उनलाई त्यहाँ बसेको भन्दै तालिममा जानबाट वञ्चित गरिएको स्रोतले उल्लेख गर्‍यो । अर्याल विदेश उड्न दुई दिन बाँकी हुँदा मात्र भेटिङमा परेको जानकारी आएको थियो ।

केहीअघि अमेरिकी सरकारले पोलिग्राम मेसिन सञ्चालनसम्बन्धी काठमाडौंमै दिएको तालिममा प्रहरी मुख्यालयले सिफारिस गरेर पठाएको एक अधिकृतको नामसमेत हटाइएको थियो । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक दिप्ती कार्कीको नाम उक्त महाशाखामा काम गरेको भन्दै अन्तिम समयमा हटाइएको स्रोतले जनायो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide