,

कम छन् महिला संगीतकार

काठमाडौं : चलचित्र 'परालको आगो'मा संगीत दिएकी शान्ति ठटालले नेपाली चलचित्रको पहिलो महिला संगीतकारका रूपमा नाम दर्ता गरिन्। यो चलचित्र निर्माण भएपछि मनोरञ्जन उद्योगले ठूलो फड्को मारिसकेको छ। प्रविधि, अनुहार र प्रवृत्तिमा धेरै विकास भइसकेको छ तर संगीतको क्षेत्रमा महिला उपस्थितिमा भने खासै प्रगति हुन सकेको छैन।
उनको दोस्रो चलचित्र 'बाँच्न चाहनेहरू' थियो। ती चलचित्र अहिले इतिहास बने। शान्तिको संगीत रहेको 'परालको आगो'का गीतहरू धेरै समयसम्म प्रख्यात रहे। अहिले पनि ती गीत कर्णप्रिय रहे। दार्जिलिङमा जन्मिएर त्यतै संगीत सिर्जना गरेकी शान्तिले चार दशकअघि नै संगीतमा महिलाको सिर्जना कमजोर हुँदैन भन्ने उदाहरण दिएकी थिइन्।
चलचित्रमा बाहेक स्वतन्त्र रूपमा संगीत सिर्जनामा रहेका महिलाहरू पनि नभएका होइनन्। मेलवादेवी, कोइलीदेवीलगायतका संगीतकर्मी महिलाले पौने शताब्दी अघिदेखि नै सांगीतिक उपकरणमा औंला चलाएर नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याए। तारादेवी, मीरा राणाजस्ता संगीतकार दशकौं अघिदेखि संगीतको क्षेत्रमा क्रियाशील रहे।
पछिल्लो समयमा चलचित्र 'हमेसा'मा रेखा पौडेलले संगीत दिएर महिलाका सिर्जना पनि कमजोर छैनन् भन्ने प्रमाणित गरिदिइन्। यस्तै नवीन सुब्बा निर्देशित चलचित्र 'गुडबाई काठमाडौं'मा पनि सिने गुरुङ संगीतकारका रूपमा रहेकी छन्। सिने चर्चित गायिका भए पनि यो चलचित्रमार्फत उनले फिल्मी संगीतमा पाइला राखेकी हुन्। तर, यो चलचित्रमा उनको एकल संगीत भने होइन।
चलचित्रमा उनले त्यो बेलाको समयबाट सांगीतिक क्षेत्रमा जति विकास भयो र जति नयाँ अनुहारहरू देखा परे त्यसमा महिला हस्ताक्षरको भने अभाव नै रह्यो। त्यसो त संगीत क्षेत्रमा नयाँ अनुहार आउने जाने क्रम चलिरहन्छ। पुरुष संगीतकर्मीहरू हुरीबतासझैं कहिले आउने र कहिले जाने क्रम चलिरहे पनि नयाँ महिला संगीतकारको भने जानेआउने क्रम त्यस्तो धेरै देखिएको छैन।
महिला संगीतकर्मी नेपाली चलचित्र क्षेत्रमा नभए पनि संगीतमा प्रवेश गर्न चाहने महिलाको भने नेपालमा कमी छैन। नेपालकै पहिलो महिला सरोदवादक रूपा न्यौपाने पनि संगीत क्षेत्रमा महिला सहभागिता कम भएको स्वीकार्छिन्। 'संगीतमा महिलाको सक्रिय उपस्थिति कम नै छ', उनी भन्छिन्, 'पछिल्लो समयमा उत्सकुता देखाउने महिलाको कमी छैन तर निरन्तरता भने कमी नै छ।' महिलाले संगीतमा निरन्तरता दिन नसक्नुका पछाडि सामाजिक र पारिवारिक कारण धेरै भएको उनको भनाइ छ।
अहिले महिलाले पनि विभिन्न प्रशिक्षण केन्द्रमा संगीतमा प्रशिक्षण लिइरहेका छन्। सुरुमा सांगीतिक प्रशिक्षण लिन आउने विद्यार्थीमा महिला र पुरुष बरबरीजस्तै भए पनि विस्तारै महिलाको संख्या कम हुँदै जाने राजधानीको श्री संगीत पाठशालाका गुरु चण्डी काफ्ले बताउँछन्। 'सुरुमा महिला विद्यार्थी कमी नभए पनि प्रशिक्षण पूरा गर्ने महिलाको संख्या २५ देखि ३० प्रतिशतमात्र हुन्छ', उनी भन्छन्, 'प्रशिक्षण लिएका संगीतकर्मीबाट यसैलाई करिअर बनाउने महिलाको संख्या भने झनै कम छ।'
उनका अनुसार प्रशिक्षणका क्रममा पारिवारिक कारण देखाएर छोड्ने महिला धेरै हुन्छन्। 'पुरुष विद्यार्थीको तुलनामा महिलामा आत्मबल कम हो कि जस्तो देखिन्छ', उनी भन्छन्, 'तर, महिला भएकै कारण संगीतमा पछि पर्नुपर्छ भन्ने लाग्दैन।'

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide