,

एसएलसीमा चिट चोरे एक लाख रुपैयाँ जरिवाना

२०७० चैत ४ गते ९:४९ मा प्रकाशित
४ चैत, कपिलवस्तु । एसएलसी परीक्षा सञ्चालन समन्वय समिति कपिलवस्तुले चैत ६ गते बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षामा चिट चोर्ने परीक्षार्थीलाई एक लाख जरिबाना र ६ महिना थुनामा राख्ने चेतावनी दिँदै २३ बुँदे आचारसंहिता घोषणा गरेको छ।
विगतको तुलनामा चालू वर्षको एसएलसी परीक्षा मर्यादित एवं स्वच्छ वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको परीक्षा सञ्चालन समन्वय समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए। समितिले परीक्षार्थी, निरीक्षक, शिक्षक र अभिभावकका लागि २३ बुँदे आचारसंहिता सार्वजनिक गरी कडाइका साथ कार्यान्वयन गराउने निर्णय भएको जानकारी शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले दिए।
आचारसंहितामा परीक्षा केन्द्रभित्र मोबाइल फोन प्रतिबन्ध गरिएको छ। परीक्षार्थीलाई विद्यालय पोसाक अनिवार्य गरिएको छ। पोसाकमा नआउने विद्यार्थीलाई परीक्षा हलमा प्रवेश रोक लगाउने, परीक्षा केन्द्रभित्र अमर्यादित काम गर्ने र चिट चोर्नेलाई तुरुन्तै गोप्य एवं खुला कारबाही गर्ने, परीक्षा केन्द्रवरपर परीक्षा सञ्चालन अवधिभर फोटोकपी गर्नमा रोक लगाउने र पसलसमेत बन्द गराउने निर्णय भएको जानकारी जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खिमबहादुर जीसीले दिए।
परीक्षा मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालय, प्रजिअ र आफू शान्तिसुरक्षालगायत सम्पूर्ण संयन्त्र दुरुस्त बनाउने काममा लागेको प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले बताए। परीक्षा व्यवस्थित एवं मर्यादित रूपमा सञ्चालन गर्न पाँचवटै क्षेत्रका २६ वटै परीक्षाकेन्द्रको अवलोकन र अनुगमनका लागि पाँचवटा घुम्ती अनुगमन टोली परिचालन गरिने भएको छ।
अर्काको परीक्षा दिने, विद्यार्थी उत्तीर्ण गराउने ठेक्का लिने र परीक्षालाई अमर्यादित बनाउने शिक्षक र निरीक्षकलाई कडा कारबाही गरिने समितिले जनाएको छ। विगतका वर्षमा गलत आचरण र व्यवहार प्रदर्शन गर्ने शिक्षकलाई निरीक्षकमा समावेश नगर्ने, स्थायी एवं राहत शिक्षकलाई मात्रै निरीक्षक राख्ने र केन्द्राध्यक्षले २५ प्रतिशत शिक्षिकालाई निरीक्षकमा राख्ने नियम बनाइएको छ।
परीक्षा अमर्यादित बनाउने विद्यार्थी र निरीक्षकलाई पनि निष्कासन गरिने भएको छ। विषयगत तथा पूर्ण रूपमा निष्कासित विद्यार्थीले पूरक परीक्षासमेत दिन पाउने छैनन्। पठनपाठनप्रति हेलचेक्र्याइँ गर्ने शिक्षक र चिट चोर्नेलाई पूर्ण रूपमा निरुत्साहित गरिने प्रजिअ घिमिरेले बताएको अन्नपूर्ण पोस्टमा खबर छ।
योग्यता पुगेका माविका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। योग्यता पुगेका प्राचार्य, प्रधानाध्यापक आफैंले जिम्मेवारी पाएको विद्यालयको परीक्षा केन्द्रको केन्द्राध्यक्ष र योग्यता नभएका प्रअको विद्यालयमा बाहिरबाट केन्द्राध्यक्ष चयन गरी खटाइएको जिल्ला शिक्षा अधिकारी पराजुलीले बताए।
यस वर्ष कपिलवस्तुका ६६ सामुदायिक र ३४ निजी विद्यालयबाट नियमित र प्राइभेट गरी ६ हजारभन्दा बढी विद्यार्थी प्रवेशिका परीक्षामा समिलित हुँदैछन्। विद्यार्थीलाई पायक पर्ने गरी सदरमुकाम र ग्रामीण क्षेत्रसमेत जिल्लामा २६ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide