,

जनकपुर बमकाण्डको मुख्य योजनाकार सभासद टक्ला !

२०७० चैत ४ गते ९:५० मा प्रकाशित
४ चैत, काठमाडौं । जनकपुर बमकाण्डलगायतका घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले सभासद् सञ्जय साह टक्लालाई पक्राउ पुर्जी काटेको छ । पक्राउ परेका अभियुक्तहरूको बयानमा साहको पनि संलग्नता देखिएपछि उनी प्रहरी छानबिनमा तानिएका हुन् ।
जनकपुर बमकाण्डमा पहिला पनि सभासद् साहको संलग्नताबारे हल्ला भएको थियो । कुनै प्रमाण नभेटेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । तर, बमकाण्डका नाइके मुकेश चौधरी दुई साताअघि पक्राउ परेपछि उनीमाथि छानबिन गर्दा साह पनि तानिएका हुन् ।
स्रोतका अनुसार चौधरी पक्राउ परेलगत्तै भूमिगत भएका सभासद् साहले आफ्नो पक्राउ रोक्न हारगुहार गरिरहेका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्ने विषयमा सभामुख सुवास नेम्वाङसँग समेत राय लिइसकेको स्रोत बताउँछ ।
नेपाल प्रहरीले औपचारिक रूपमा यस विषयमा केही बताएको छैन । स्रोतका अनुसार धनुषा प्रहरीले सभासद् साहलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो तथा काठमाडौं प्रहरीसँग सहयोग मागिसकेको छ ।
साह धनुषा–४ बाट प्रत्यक्षतर्फ विजयी सभासद् हुन् । उनी राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीका उपाध्यक्षसमेत हुन् । पहिलेदेखि नै विवादास्पद छवि भएका उनको तराईको आपराधिक समूहसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको प्रहरीको दाबी रहेको नयाँ पत्रिकामा खबर छ ।
तराईमा आतंक मच्चाउँदै आएका तराई जनतान्त्रिक पार्टीका कमान्डर मुकेश चौधरी दुई साताअघि भारतबाट पक्राउ परेका थिए । जनकपुर बमकाण्डमा संलग्नको आरोपमा राजन मुक्ति भनिने रञ्जित झालगायतका व्यक्ति यसअघि नै पक्राउ परिसकेका छन् । ‘मुकेश चौधरी पक्राउ परेपछि साहविरुद्ध प्रमाण जुटेको छ,’ अनुसन्धानमा आबद्ध धनुषाका एक प्रहरीले भने, ‘चौधरी र साहबीच निकै निकटको सम्बन्ध देखिएको छ ।’ चौधरीले विस्फोटका सामग्री जुटाउन साहले सहयोग गरेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ ।
१८ वैशाख ०६९ मा जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोटमा पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । पत्रकार उमा सिंहको हत्यालगायतको अपराधमा पनि सोही विस्फोट गराउने समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।
राप्रपा नेपालकी सभासद् निलम्बित
संविधानसभा अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सभासद् कान्ता भट्टराईलाई संविधानसभा सदस्यका हैसियतले कुनै पनि काम–कारबाही नगर्न र नगराउन अन्तरकालीन आदेश जारी गरेको छ । यसअघि अदालतकै आदेशले एमाओवादी सभासद् अशोककुमार मण्डलको सदस्य पद पनि निलम्बनमा परेको थियो ।
सरकारी लाभको पदमा रही समानुपातिक कोटाबाट सभासद् बनेको भन्दै अदालतले उनलाई सभासद्को हैसियतले कुनै पनि काम नगराउन संविधानसभा सचिवालय र राप्रपा नेपालका नाममा अन्तरकालीन आदेश जारी गरेको हो । न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अन्तरकालीन आदेश जारी गर्दै भट्टराईको पद तत्कालका लागि निलम्बन हुने आदेश गरेको हो ।
अदालतले राप्रपा नेपालका अन्य २३ सभासद्को पदसमेत निलम्बन गर्नुपर्ने उजुरीमा भने अन्तरकालीन आदेश जारी गर्ननपर्ने ठहर गरेको छ । राप्रपा नेपालको समानुपातिक सदस्य छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका सभासद्का उम्मेदवार बालकृष्ण न्यौपानेले अदालतमा उजुरी दर्ता गरेका थिए ।
उनले २४ जनाकै सभासद् पद निलम्बन हुनुपर्ने उजुरीमा जिकिर गरेका थिए । ३ चैत ०७० मा न्यौपानेसहितका असन्तुष्टले अदालतमा उजुरी दर्ता गरेका थिए । खसआर्य समुदायको कोटाबाट भट्टराई समानुपातिक सभासद् बनेकी थिइन् । सभासद्को बन्दसूचीमा समावेश भएपछि उनले राजीनामा नदिएको तथ्य अदालतमा प्रवेश भएपछि उनलाई तत्काल पद निलम्बन गर्न आदेश जारी भएको हो । सभासद् भइसकेपछि भने उनले शिक्षक पदबाट राजीनामा दिएकी थिइन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide