,

वामदेवले हप्काए – पेटीमा बस्नेलाई किन एमाले बनाएको ?


चुनाव जिताउनेमाथि लाठी बर्साएको मजदुरको गुनासो

२०७० चैत २ गते ११:०० मा प्रकाशित
Maya-Gurung
२ चैत, काठमाडौं । नुवाकोटबाट काठमाडौं झरेर विगत १९ वर्षदेखि सुन्धारामा तयारी कपडाको पसल गर्दै आएकी माया गुरुङ एमाले कार्यकर्ता हुन् । तर, एमाले उपाध्यक्ष वामदेव गौतमले गृहमन्त्री बनेलगत्तै फुटपाथका पसलेमाथि प्रहरी लगाएर कुटपिट गरेको भन्दै उनले गृहमन्त्री गौतम र एमाले अध्यक्ष झलनाथ खनाल दुबैलाई भेटेर आपत्ति जनाएकी छन् ।
देशभरिका फुटफाथ पसलेहरुको संगठन ‘नेपाल स्वरोजगार व्यापार श्रमिक संघ’की महासचिवसमेत रहेकी गुरुङले अनलाइनखबरसँग भनिन्- ‘जतिबेला जुलुस निकाल्नुपर्‍यो, त्यसबेला एमालेको झण्डा बोकेर हामी सडकमा निस्कियौं, दोस्रो संविधानसभाको चुनावमा हामीले घरदैलो गरेर एमालेलाई जितायौं । तर, आफ्नै पार्टीका उपाध्यक्ष शासक बनेपछि हामीमाथि लाठी बर्साइयो ।’
फागुन १३ गते गृमहन्त्रीको सपथ खाएर पदभार ग्रहण गरेपछि एमाले नेता वामदेव गौतमले सार्वजनिक गरेको पाँचबुँदे प्रतिवद्धताको तेस्रो बुँदामा सडकपेटीमा रहेका फुटपाथ पसलेहरुलाई हटाउने उल्लेख थियो । ०६५ सालमा वामदेव गृहमन्त्री हुँदा प्रहरीबाट दुःख पाएका फुटपाथ पसलेहरुमाथि गौतमको निर्देशनलगत्तै १४ गतेबाटै घरपकड सुरु गरिएको गुरुङले अनलाइनखबरलाई बताइन् ।
‘प्रहरीले अझै हामीमाथि दमन गरिराखेको छ, गौशालामा ६ जना महिलालाई प्रहरीले पक्रेर रातभर थुन्यो,’ गुरुङले भनिन्, ‘सडकमा व्यवसाय गर्नेमाथि प्रहरीले चोर र अपराधीलाई जस्तै व्यवहार गर्दै आएको छ, कोटेश्वरमा पनि साथीहरुलाई गिरफ्तार गरिएको छ । सुन्धारामा प्रहरीले दुःख दिइरहेको छ ।’
Bamdev-Gautam
पसलेलाई संगठित गरेकोमा वामदेवको आपत्ति
फुटपाथ पसलेका समस्या लिएर मन्त्रालयमा फागुन १९ गते डेलिगेसन गएका बेला गृहमन्त्री गौतमले सडकको पेटीमा व्यवसाय गर्नेहरुलाई सदस्यता दिएर किन संगठन खोलेको भन्दै जिफन्टको टोलीसँग आपत्ति प्रकट गरेको गुरुङले सुनाइन् । ‘सडक पेटीमा किन संगठन बनाएको भनेर एमाले उपाध्यक्ष गौतमले हामीलाई हप्काउनुभयो, महासचिव गुरुङले भनिन् ‘यसबारे हामीले डल्लु पुगेर पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष कुरा राखिसकेका छौं । उहाँले म बुझ्छु भन्नुभएको छ ।’
‘एमालेको भातृ संगठन जिफन्टको मातहतमा हामीले फुटपाटका व्यवसायीलाई संगठित गरेका हौं, हामीसँग १० हजारको हाराहारीमा सदस्यहरु छन् । यीमध्ये कतिपय नेकपा एमालेका संगठित पार्टी सदस्य छन् । केही माथिल्ला कमिटीमा पनि कार्यरत छन्,’ गुरुङ भन्छिन्,- हाम्रै कारणले राजधानीमा एमालेले चुनावमा जित हासिल गर्न सफल भएको छ, तर, त्यही पार्टीका उपाध्यक्षले हामीलाई किन संगठन बनाएको भनेर हप्काउनुभयो ।’
विगत ०५९ सालभन्दा पहिलेसम्म काठमाडौंका फुटफाथमा पसल गर्नेहरुमाथि नगर प्रहरी र स्थानीय गुण्डाहरुले अत्याचार गर्ने गरेको गुरुङले सुनाइन् । यो अत्याचार देखेपछि एमालेनिकट जिफन्टको पहलमा ०५९ साल पुस २५ गतेबाट फुटपाथका पसलेहरुले संगठन खोलेको उनले जानकारी दिइन् । ‘राजधानीका फुटपाथ पसलेमध्ये ७५ प्रतिशत एमाले छन् । ड्यास र क्यास माओवादीमा करिब २५ प्रतिशत संगठित छन्,’ गुरुङले भनिन्. ‘कांग्रेसले भने फुटफाथ व्यापारीको संगठन खोलेको छैन ।’
अत्याचार सहन नसकेर संगठन
गुरुङका अनुसार संगठन खोल्नु अघिसम्म फुटपाथ व्यापारीमाथि राज्यले लुट मच्चाउने गरेको थियो । ‘नगर प्रहरीले घुस माग्थ्यो, खोसेर लगेका सामान फिर्ता पाइँदैनथ्यो, शुल्क पनि जथाभावी असुलिन्थ्यो,’ उनले विगत स्मरण गर्दै भनिन्- दशैंमा झोला लिएर प्रहरीहरु दशैं खर्च चाहियो भन्दै हामीसँग पैसा र सामान माग्न आउँथे । स्थानीय गुण्डाहरु दाता भत्ता उठाउन आउँथे । महिलाहरुमाथि दुव्र्यवहार गरिन्थ्यो । यही अत्याचार सहन नसकेर हामी संगठित भएका हौं ।’
foodpath
वामदेवकै पाला खुल्लामञ्च भरियो
प्रचण्ड नेतृत्वको सरकारमा वामदेव गौतम गृहमन्त्री भएपछि ०६५ सालमा पनि फुटपाथका व्यापारीमाथि प्रहरीले दमन गरेको गुरुङले अनलाइनखबरलाई सुनाइन् । ‘तर, त्यसबेला हामीले आन्दोलन गरेपछि ०६५ साल कात्तिक ६ गते गृहमन्त्रालय गल्यो र हामीसँग सम्झौता भयो’, उनले भनिन्-’सोही समझदारीअनुसार अर्को व्यवस्था नहुञ्जेल रत्नपार्क, पुरानो बानेश्वर र भोटाहिटी आसपासका फुटपाथ पसलेहरुलाई खुल्लामञ्चमा बस्न दिइएको हो । कोटेश्वरका पसलेलाई तीनकुनेमा बस्न दिने भनिएको थियो, त्यो कार्यान्वयन भएन । सुन्धाराका पसलेलाई धरहरा पश्चिमट्टि राख्ने भनिएको थियो, त्यहाँ बस्ने ठाउँ नै भएन । खुल्लामञ्चमा चाहिँ भद्रगोल भयो।’
फेरि भरियो रत्नपार्क
रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटीका फुटपाथ पसलेलाई खुल्लामञ्चमा अस्थायी व्यवस्थापन गरिएको भनिए पनि यतिबेला खुल्लामञ्च र रत्नपार्क सबै भरिएको छ । खुल्लामञ्च कब्जा गरेपछि फेरि रत्नपार्क कहाँबाट भरियो ? अनलाइनखबरको प्रश्नमा गुरुङले भनिन्- ‘देशमा बेरोजगारी छ, त्यसैले मान्छे त आइहाल्छन् नि । यी सबैको जिम्मा हामीले हैन, राज्यले लिनुपर्छ ।
सडकमा यसरी व्यवसाय गर्नेहरुमा वृद्धवृद्धा, अपाङ्ग, महिला र चरम गरिबीमा परेका मानिसहरु रहने गरेकाले उनीहरुमाथि राज्यले बल प्रयोग गर्न नहुने गुरुङको तर्क छ । ‘यो समस्या राजधानीमा मात्रै होइन, देशैभरि छ । नेपालमा मात्रै होइन, विदेशमा पनि सडक व्यापार हुने गरेको छ, गुरुङले थपिन्, हामी पनि यसरी सडकपेटीमा बस्न चाहँदैनौं, राज्यले हामीलाई उपयुक्त ठाउँ छुट्याइदेओस् ।’
keshav-sthapitकेशव स्थापितको प्रतिवेदन अलपत्र
व्यवसायीको आन्दोलनपछि ०६५ सालमा काठमाडौंका पूर्वमेयर केशव स्थापितको संयोजकत्वमा एउटा कार्यदल बनेको र त्यसले प्रतिवेदनसमेत दिइसकेको बताउँदै गुरुङले भनिन्- ‘हामीले सो प्रतिवेदन कार्यान्वयन गरियोस् भनेर अहिले गृहमन्त्री गौतमको पुनः ध्यानाकर्षण गराएका छौं ।’
एमालेनिकट मजदुर संगठनकी नेतृ गुरुङ भन्छिन्- ‘सडक पेटीमा व्यवसाय गर्न पाउनुपर्छ भन्ने हाम्रो माग होइन, तर राज्यले वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।’
सरकारसँग ०६५ सालमा भएको सहमति अनुसार आफूहरुले हिउँदमा बेलुका ५ बजेदेखि र गर्मीयाममा साँझ ६ बजेदेखि मात्र सडकमा पसल थाप्दै आएको उनले बताइन् । ‘कसैले दिउँसै प्रहरीलाई घुस ख्वाएर सडकमा पसल थाप्छन् भने त्यसको जिम्मा समितिले लिँदैन, हामीले साँझमा मात्रै राख्ने सहमति गरेका छौं र सोहीअनुरुप व्यवसाय गर्दै आएका छौं,’ गुरुङले अनलाइनखबरसँग भनिन् ।
letter

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide