,

ग्यास सिलिन्डर पड्केर दुई घर नष्ट

भैरहवा : त्रिशूल ग्यासको सिलिन्डर पड्केर आगलागी हुँदा रूपन्देही मक्रहर ८ मा दुई घर र एक गोठ जलेर नष्ट भएका छन्।
खाना पकाउने क्रममा शुक्रबार साँझ ग्यास पड्किएर आगलागी हुँदा मक्रहर पीपलडाँडाका रनवीर सुनार र छोरा ऋषि सुनारको घर जलेर नष्ट भएका हुन्।
ऋषिकी पत्नी किस्मतीले खाना पकाउने क्रममा सिलिन्डर पड्किएको थियो। ऋषिको घरमा लागेको आगो नजिकैको रनवीरको घरमा सल्किएको थियो।
लत्ताकपडा, गरगहना, अन्न, लालपुर्जा र नागरिकतालगायतका कागजात जलेका छन्। पीडित परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।
किस्मतीले शुक्रबार स्थानीय डिलरबाट किनेर ल्याएको सिलिन्डर पड्किएको बताइन्। एक्कासि आगो लागेपछि दुई वर्षीय छोरालाई लिएर बाहिर निस्कन सफल भए पनि अन्य सबै सामान जलेर नष्ट भएको उनले बताइन्। घरबाहेक तीन लाखभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको रनवीरले बताए।
साँझ ५ बजे लागेको आगो राति ९ बजे निभाइएको थियो। सिद्धार्थ नगरपालिका र बुटवल नगरपालिकाका दुईबटा दम्कल, स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए। समयमै दमकल नआएका कारण नोक्सानी बढी भएको स्थानीयबासी रामबहादुर मल्लले बताए।
मौवाबारी प्रहरीचौकीका प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले ग्यास कम्पनीको लापरबाही देखिएको बताए। उनका अनुसार पड्किएको सिलिन्डर अन्य सिलिन्डरको तुलनामा पातलो छ।
त्रिशूल ग्यास उद्योगका व्यवस्थापक मोहनप्रताप राणाले ग्यास सिलिन्डरका कारण आगो लागेको भए क्षतिपूर्ति दिइने बताए।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide