,

भारतले मध्यराति बुझायो जनकपुर बमकाण्डका नाइके

काठमाडौं : नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका जनकपुर बमकाण्डका प्रमुख योजनाकार मुकेश चौधरी पक्राउ परेका छन्। भारतीय प्रहरीको विशेष एकाइले उनलाई उत्तरप्रदेशबाट पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको हो।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भारतको औपचारिक भ्रमण सुरु गर्नु अघिल्लो दिन शनिबार राति १२ बजे चौधरीलाई भैरहवाबाट हस्तान्तरण गरिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली झन्डै तीन वर्षदेखि लगातार उनको पछि लागेको थियो।
मुकेश चौधरी
मुकेश चौधरी
टोलीले भारतका विभिन्न ठाउँमा चौधरीका बासस्थान पत्ता लगाई भारतीय प्रहरीको सहयोग मागेको थियो। प्रहरी स्रोतका अनुसार भारतीय प्रहरीले उनलाई शुक्रबार अपराह्न पक्राउ गरी रातारात नेपालको सिमानासम्म ल्याइदिएको हो।
दुई देशबीच सुपुर्दगी सन्धि नभएकाले अभियुक्त एवं अपराधीको वैधानिक हस्तान्तरणमा कानुनी समस्या रहँदै आएको छ। त्यसैले नेपाल प्रहरीले नेपाल-भारत सिमानामा पर्ने भैरहवा नाकाबाट उनलाई पक्राउ गरेको कानुनी प्रतिवेदन बनाएको छ। उनलाई काठमाडौं ल्याई आवश्यक अनुसन्धानपछि मात्र पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी उच्च स्रोतले बतायो।
चौधरीको समूहले संघीय संरचना कस्तो हुनुपर्ने भन्ने बहस चलिरहेका बेला छुट्टै मिथिला प्रदेशको माग गर्दै २०६९ वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा धर्ना कार्यक्रम सुरु हुनासाथ बम विस्फोट गराएको थियो। पाँचजनाको ज्यान गएको तथा ३२ जना घाइते भएको उक्त विस्फोटमा चौधरीका साथै जयप्रकाश चौधरी उर्फ शिवम् शर्मा, सुरेशकुमार कर्ण, जितेन्द्रलाल कर्ण र छोटु भनिने रिपेन्द्र झाको संलग्नता थियो। घटनामा संलग्न अन्य भने यसअघि नै पक्राउ परिसकेका छन्।
तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हालका महानिरीक्षक अर्यालले पत्रकारसम्मेलन गरी धर्नाका लागि तय गरिएका कुर्सीकै मुनिपट्टि बम फिट गरेर रिमोट कन्ट्रोलका माध्यमबाट विस्फोट गराइएको जानकारी दिएका थिए। यस प्रकरणको अनुसन्धानका लागि ब्युरोले 'अपरेसन रामा' सञ्चालन गरेको थियो।
को हुन् मुकेश चौधरी?
मुकेशको वास्तविक नाम रामानन्द चौधरी हो। विज्ञानका विद्यार्थी उनी पढ्दापढ्दै आपराधिक क्रियाकलापतिर लागेका हुन्। २०६८ मंसिरयता उनले तराई विद्यार्थी लिबरेसन फन्टनामक संगठन सञ्चालन गरेका थिए। चन्दाआतंकसमेत चलाउँदै आएका चौधरी आफूलाई अर्जुन सिंह उपनामले पनि चिनाउँथे।
उनले सुरेश कर्ण, जितेन्द्रलाल कर्ण, रिपेन्द्र झा, मुकेश कर्णलगायतलाई संगठित गरेर अपराधयात्रा सुरु गरेका थिए। जनकपुर विस्फोटमा उनले विस्फोटक पदार्थ आफैंले व्यवस्था गरेका थिए। सहयोगीमध्ये जितेन्द्रको महोत्तरीको जलेश्वरस्थित घर तथा सुरेशको जनकपुर नगरपालिकामै रहेका आफन्तको घरमा विस्फोटक भण्डारण गरेको प्रहरीले जनाएको छ।
त्यसमध्ये केही विस्फोटक प्रयोग गरी जलेश्वरको ट्राफिक प्रहरी कार्यालयमा २०६८ चैत १८ गते विस्फोट गराइएको थियो। उनको टोलीले रामानन्दचोक विस्फोटको एक दिनअघि जनकपुरस्थित एमालेको पार्टी कार्यालयमा बम प्रहार गरेको थियो।
सप्तरीका जयप्रकाश चौधरीसहितका युवकलाई मुकेशले पैसाको दु:ख नहुने भन्दै आपराधिक संगठन विस्तारमा लाग्न प्रेरित गरेका थिए। उनले नै काठमाडौंबाट १० हजार रुपैयाँ जयप्रकाशका लागि जनकपुर सहयोगी विकास ब्यांकमा पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
जनकपुर विस्फोटलगत्तै तराईमा आपराधिक क्रियाकलाप गरिरहेका रन्जित झा उर्फ राजनमुक्तिले भारतीय मोबाइल नम्बर ००९१८५२१४२७५५ प्रयोग गरी घटनाको जिम्मेवारी लिएका थिए। राजनमुक्तिसँग सम्बन्ध भए पनि मुकेशले यो घटना आफ्नै आपराधिक सञ्जाल प्रयोग गरी गराएको प्रहरीको दाबी छ। राजनमुक्तिलाई पनि केही महिनाअघि भारतबाटै पक्राउ गरी ल्याइएको थियो।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide