माइक्रोबसको यो आतंक
Posted by Unknown
Published on Sunday, 30 March 2014
मिति : २०७० चैत १७, सोमबार
सुवास गोतामे , राजेश बर्मा |
काठमाडौं : गीत रेकर्डिङ गर्न स्कुटरमा चढेर बिहीबार जमलतर्फ जाँदै गर्दा लोकगायिका मञ्जु महतलाई गल्कोपाखामा माइक्रोबसले ठक्कर दियो। दुईतिरबाट हुइँकिएर आएका माइक्रोले च्यापेपछि मञ्जु सडकमा पछारिइन्। कलेजोमा चोट लागेर घाइते भएकी उनको शनिबार धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भयो।
गत माघमा स्कुटरमै न्युरोडबाट रत्नपार्कतर्फ गुडिरहेकी सबिना आचार्यलाई बसले ठक्कर दियो। ठक्करपछि सडकमा लडेकी सबिनालाई वीर अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन्। माघमै भक्तपुरस्थित ६ लेनको सडकमा सावधानीपूर्वक कम गतिमा स्कुटर चलाइरहेकी मिठ्ठु महर्जनलाई पछाडिबाट आउँदै गरेको बसले ठक्कर दियो। गम्भीर चोट लागेकी महर्जनको उपचारका क्रममा निधन भयो।
महत, महर्जन र आचार्यमात्रै होइन स्कुटरमा यात्रा गर्ने अन्य चारजनाले यसै वर्ष ज्यान गुमाउनुपरेको छ। गत असोजमा कीर्तिपुरमा प्रशान्त बेलवासे र कोटेश्वरमा दुर्योधन चौधरीको पनि स्कुटरमै यात्रा गरिरहेका बेला दुर्घटनामा परी मृत्यु भयो। गत कात्तिकमा हर्कजंग राई र बाबुलाल डंगोलको पनि कोटेश्वरमा गाडीको ठक्करबाट मृत्यु भयो।
यस वर्ष चैत तेस्रो सातासम्ममा दुई सय ८९ वटा स्कुटर दुर्घटनामा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। गत साउनदेखि चैत दोस्रो सातासम्म उपत्यकामा तीन हजार चार सय सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा परी ८९ जनाले ज्यान गुमाएका छन्। दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी दुर्घटना हुने गरेको छ। सबैभन्दा बढी दुई हजार तीन सय वटा दुईपांग्रे सवारीसाधन दुर्घटनामा परेका छन्।
कपनकी शारदा नेपालले मोटसाइकल र ठूला गाडीका चालकले स्कुटरलाई पेल्दा आफू धेरैपटक दुर्घटनाबाट जोगिएको बताइन्। उनले भनिन्, 'माइक्रोबसको पछाडिपछाडि गुड्यो, एकैपटक ब्रेक लगाउँछन्, कहिले बसले मारौंला जसरी पेलेर ल्याउँछ, पल्सर मोटरसाइकल हाँक्ने केटाहरूले छेउमै आएर तर्साउँछन्।' सीतापाइलाकी रमा दाहालको अनुभव पनि त्यस्तै छ। उनले भनिन्, 'स्कुटरनजिकै आएर बस तथा माइक्रोबसका चालकले टाँसौंला जसरी गाडी तेस्र्याउने र चर्को हर्न बजाउने गर्छन्।'
सवारी नियम उल्लंघन गर्नेमा अधिकांश सार्वजनिक सवारीसाधन छन्। जथाभाबी ओभरटेक गर्ने र तीव्र गतिमा गाडी चलाउने गर्दा दुईपांग्रेका चालक दुर्घटनामा पर्ने गरेका छन्।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्तकुमार पन्तले भने, 'माइक्रोबस र बसले गलत दिशाबाट ओभरटेक गर्ने, बाटै ढाक्ने गरी गाडी रोक्ने, यात्रु उभिएको देख्नेबित्तिकै जथाभाबी रोक्ने गरेकाले दुर्घटना बढेको छ।'
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्तकुमार पन्तले भने, 'माइक्रोबस र बसले गलत दिशाबाट ओभरटेक गर्ने, बाटै ढाक्ने गरी गाडी रोक्ने, यात्रु उभिएको देख्नेबित्तिकै जथाभाबी रोक्ने गरेकाले दुर्घटना बढेको छ।'
ट्राफिक प्रहरीले गत फागुन ४ देखि ८ गतेसम्म पाँच हजार दुई सय ६ जनालाई लेन अनुशासन पालना नगरेको अभियोगमा सम्झाइबुझाइ गरेर छाडेको थियो। तीन हजार तीन सयजनालाई चिट काटेर जरिबाना तिराएको थियो।
यातायात व्यवस्था कार्यालयका अनुसार बागमती अञ्चलमा ६ लाखभन्दा बढी मोटरसाइकल र स्कुटर दर्ता छन्। तीमध्ये ७० प्रतिशतभन्दा बढी उपत्यकाभित्र गुड्छन्।
चालकलाई कर्तव्य ज्यान मुद्दा
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले गायिका मञ्जु महतलाई ठक्कर दिने माइक्रोबसका चालकलाई कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन्। गौतमले सवारी ज्यानमा मुद्दा चलाउँदा अदालतबाट क्षतिपूर्ति भराएर छुट्न सक्ने सम्भावना रहनेप्रति सचेत गराउँदै कर्तव्य ज्यान मुद्दा चलाउन निर्देशन दिएका हुन्।
चालकलाई कर्तव्य ज्यान मुद्दा
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले गायिका मञ्जु महतलाई ठक्कर दिने माइक्रोबसका चालकलाई कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन्। गौतमले सवारी ज्यानमा मुद्दा चलाउँदा अदालतबाट क्षतिपूर्ति भराएर छुट्न सक्ने सम्भावना रहनेप्रति सचेत गराउँदै कर्तव्य ज्यान मुद्दा चलाउन निर्देशन दिएका हुन्।
'पाँच-सात लाख रुपैयाँ तिरेर छुटिन्छ भनेर नियतबस मान्छे मार्ने चालकलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएर कारबाही गर्नू', उनले भनेका थिए। चालकको लापरबाही नियन्त्रण गर्न पनि कर्तव्य ज्यान मुद्दा चलाउन निर्देशन भएको जानकारी गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले दिए।
यसअघि प्रहरीले चालकमाथि सवारी ज्यानअन्तर्गत मुद्दा चलाउँदै आएको थियो भने कतिपय घटनामा क्षतिपूर्तिमै कुरा मिल्दै आएको थियो। गायिका महतलाई ठक्कर दिने माइक्रोबसका चालक राकेश कार्की लैनचौर प्रहरीको हिरासतमा छन्।


0 comments
Readers Comments
i love like and koment