,

तारादेवी भन्छिन्-यो देश तस्करहरुको हो सुधीर बस्नेतबाट २० करोड ठगिएकी वृद्धाको बिलौना

पुष्प दुलाल
१३ चैत काठमाडौं । एकातिर सहकारीको महासम्मेलन राजधानीमा भइरहेको छ, अर्कातिर सहकारीबाट पीडित भएकाहरु अन्दोलन गरिरहेका छन् । यसैक्रममा गृहमन्त्री वामदेव गौतमबाट ५० लाख रुपैयाँ चप्काउन सफल ओरेन्टियल सहकारीका सञ्चालक एवं हाउजिङ व्यवसायी सुधीर बस्नेतबाट ठगिएकाहरुले सहकारीको महासम्मेलनसँगै आन्दोलन थालेका छन् ।
हाउजिङ र अपार्टमन्ट पास गरिदिन्छु र केही समयपछि अग्नि एयरमा साझेदार बनाउँछु भनेपछि झापा दमककी तारादेवी ढकालले सुधीर बस्नेतलाई पटक-पटक गरी २० करोड रुपैयाँभन्दा बढी रकम दिइन् ।
तारादेवीले सुधीरलाई यो रकम दिएको २१ महिना भयो । तर, सुधीरले सम्झौताबमोजिम न हाउजिङ अर्पाटमेन्ट पास गरिदिए, न अग्नि एयरमा साझेदार नै बनाए । न त एक रुपैयाँ फिर्ता नै गरे ।
‘सुधीरले पैसा खाएपछि पीडाले मुटु र मस्तिष्कको रोगले ग्रस्त बनाएको छ, सहाराबिना घरबाहिर निष्कन सक्दिँन’ अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै ६० वर्षीया ढकालले भनिन् -’अहिले मलाई औषधी किन्न र हिँडडुल गर्नसमेत खर्च छैन, घर न घाटकी भएकी छु ।’
दमक चोकमा रहेको आफ्नै अढाइ तले घर दुई करोड रुपैयाँमा बेचेर त्यही घरमा भाडमा बस्दै आएकी छन् उनी । सुधीरले अग्नि एयरलाइन्समा साझेदार बनाउँछु भनेर १६ करोड रुपैयाँ लिएर अर्पाटमेन्ट बेचेको सम्झौताको कागज पनि छ उनीसँग । ‘तिर्दिन कहिल्यै भन्दैन’ ढकालले भनिन् -’सुधीरका मुखमा रामराम र बगलीमा छुरा रहेछ ।’ त्यसो त सुधीर बस्नेतले जारी गरेका ६ करोड रुपैयाँ बराबरका विभिन्न बाउन्स चेक पनि छन्, उनीसँग ।
सुधीरले पैसा नतिरेपछि तारादेवी नेता, प्रशासन, पुलिस सबै ठाउँ पुगिन् तर कसैले काम नगरिदिएको उनको गुनासो छ । ‘यो देश तस्करको हो, नेता, पुलिस र कर्मचारी पैसामा बिक्छन् र तस्करलाई कारवाही गर्दैनन्’ उनले भनिन् ।
बचत तथा ऋणको कारोबार गने समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगमा सुधीर बस्नेतले १९ करोड ७७ लाख रुपैयाँ खाएको भन्दै उजुरी दिएकी छन् ।
तारादेवीको उद्योग
उनी तीन उद्योग र १० विघा जमीनकी मालिक्नी थिइन् । काठमाडौमा मनकामना काठ मिल, झापामा ढकाल काठ मिल र पाथिभरा इट्टा उद्योग थियो । अहिले सडकछाप हुनुपरेको छ । झापामा रहेको इट्टा उद्योग धितो राखेर एभरेष्ट बैंकबाट लिएको पाँच करोड ऋणमध्ये तीन करोड रुपैयाँ तिर्न बाँकी नै छ । भएका आधा दर्जन ट्याक्टर र गाडी कवाडीको मुल्यमा बिक्री गरिसकेकी छन् ।
छोरा बुहारीले फोन उठान छाडे
यो घटना थापा पाएपछि अमेरिकामा रहेका उनका छोराबुहारी र छोरी ज्वाइँँले उनलाई बेस्सरी गाली गरे । ‘आजकाल त फोनसमेत उठाउँदैनन्, उठाए भने पनि तेरो छोरो सुधीर हो, उसैले तँलाई पाल्छ, दशैंमा पनि उसैलाई टीका लगाइदे भन्छन्’ हिक्का छोड्दै उनले भनिन् ।
तारादेवीका दुई छोरा इन्जिनियर र बुहारीहरु डाक्टर छन् । छोरीज्वाइँ दुबै डाक्टर छन् ।
यसरी भेटिन् सुधीर
आठ वर्षअघि काठमाडौंको धुम्बाराहीमा अर्पाटमेन्ट किन्ने क्रममा तारादेवीको सुधीरसँग भेट भएको हो । त्यसबेला सुधीरले निर्माण गरेको धुम्वाराही कोलोनीको एक फ्ल्याट ३२ लाख रुपैयाँ हालेर किनिन् । ‘भनेकै समयमा पास गरिदियो’ उनी सम्भिन्छिन् -’मेरो नाम ठेगाना सोध्यो, लेखेर राख्यो । पछि सम्पर्क गरेर आफ्नो योजना सुनायो ।’
त्यसपछि सुधीर र उनको दोस्ती राम्रैसँग जम्यो । ‘त्यसयता तीन/चारपटक एक/डेढ करोड रुपैयाँ दिएँ । मोटो रकम थपेर समयमै फिर्ता गर्‍यो’ उनले भनिन् ।
हेर्दा युवा । मीठो बोली । सुधीर राम्रै मान्छे लाग्यो उनलाई । ‘त्यसताका मेरा मिल्ने व्यवसायी साथीहरुले सुधीर बस्नेत विनोद चौधरीभन्दा पनि ठूलो व्यवसायी हो, उसँग कारोबार गर्न डराउनुपर्दैन भने’ तारादेवीले भनिन् -त्यसो भए उसले केही गर्छु भन्दा किन सहयोग नगर्ने ? गरीखाओस् भनेर सहयोग गरेकी हुँ ।’
लेनदेनका क्रममा सुधीरसँग दुई सय पटकभन्दा बढी भेट भएको उनी बताउँछिन् । अन्तिमपटक भने संविधानसभाको दोस्रो निर्वाचनअघि भएको थियो । त्यसवेला सुधीर तारादेवीकै घरमा गएका थिए । ‘अहिलेचाहीँ एकमहिनादेखि सम्पर्क छैन’ उनले भनिन् ।
के- खाए सुधीरले ?
तारादेवीले सुधीरसँग १९ वटा अपार्टमेन्ट खरिद गरेकी हुन् । उनले पूरै पैसा चुत्ता गरिन् । तर सुधीरले अर्पाटमेन्ट पास गरिदिएनन् । ललितपुरको बालकुमारीस्थित भेगास सिटीका आठवटा अपार्टमेन्टका लागि ७ करोड र नक्सालका १४ वटा अर्पाटमेन्टका लागि ११ करोड ७७ लाख रुपैयाँ दिएकी हुन् । त्यही भेगासको अपार्टमेन्टका लागि सुधीरले गृहमन्त्री वामदेव गौतमसँग ५० लाख लिएर अपार्टमेन्ट नदिई गौतमलाई समेत पीडित बनाएका छन् ।
ती अपार्टमेन्टका लागि तारादेवीले दुई करोड रुपैयाँ बराबरको ४ सय तोला सुन दिइन् । ‘शरीरमा लगाएको फूलीदेखिबाहेक द्वन्द्वका बेला प्लास्टिकमा राखेर भुइँमा गाडेर राखेको ४ सय तोला सुन दिएँ’ उनले अनलाइनखबरसँग भनिन् -’त्यसैगरी परिवारसँग लुकाएर राखेको तीन करोड रुपैयाँ पनि दिएँ ।’ भविष्यमा राजनीति गर्न भनेर तारादेवीले परिवारसँग सुन र पैसा लुकाएर राखेकी थिइन् ।
त्यसैगरी दमक नगरपालिका वडा नम्बर १० को ५ विघा जग्गा १६ लाख देखि ४० लाख रुपैयाँ कठ्ठामा बिक्री गरेर, सहकारी र साथीभाइबाट ऋण लिएर सुधीरलाई बुझाएको बताउँछिन्, उनी । ‘मेरा ससुराले दुःख गरेर कमाएको सम्पत्ति सबै सुधीरले खायो’ उनले भनिन् । ३ करोड रुपैयाँ पर्ने अपार्टमेन्ट आफूलाई एक करोडमै मिलाइदिने भनेपछि सस्तो पाइयो भनेर हतार-हतार पैसा दिएको उनी बताउँछिन् । ‘एभरेष्ट बैंकले च्यापेर मार्न लाग्यो’ भावुक हुँदै उनले भनिन् ।
एभरेष्ट बैंकको ३ करोड, एक दर्जन सहकारी संस्थाका ३ करोड र आफन्त तथा साथीभाइको साढे तीन करोड रुपैयाँ गरी साढे ९ करोड रुपैयाँ ऋण छ तारादेवीसँग । ‘ब्याज तिर्दातिर्दै करोडौ सकिइसक्यो’ उनले भनिन् -’आफू सुधीरजस्तो फटाहा हुन सकिँदैन ।’
यसरी लोभिइन्
सुधीर बस्नेतलाई देख्नेवित्तिकै पैसा दिउँदिउँ लागेको बताउँछिन् तारादेवी । ‘सुधीरले घाँटीमा जन्तर लगाएको छ, जस्तोसुकै मान्छे पनि उसको अघि परेपछि दिउँदिउँ लाग्छ’ उनले भनिन् -’अस्ति चुनावमा आएको बेला गाडीमा तेल हाल्ने पैसा छैन भनेर साढे तीन लाख रुपैयाँ लग्यो ।’ सुधीरले पशुपतिनाथ र छोराछोरीको कसम खाएपछि आफ्नो मन पग्लिएको उनी बताउँछिन् ।
सम्पत्ति शुद्धीकरण लगाउने सुधीरको धम्की
पछिल्लो समयमा सुधीरले त्यत्रो पैसाको स्रोत के हो भनेर अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्दा हाल्ने धम्कीसमेत दिएको उनी बताउँछिन् । ‘आजकाल त अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्दा हाल्छु भन्दै धम्याउँछ’ उनले भनिन् -’यो मेरा ससुराले कमाएको सम्पत्ति हो, जे-जे लगाए पनि हुन्छ ।’
सुधीरले अरुको हिरालाई फलाम र आफ्नो फलामलाई हिरा सम्भिने गरेको उनको भनाइ छ ।
को हुन् तारादेवी ?
झापाको निकै धनाड्य परिवार हो तारादेवीको । तारादेवीका ससुरा भोजपुरबाट झापा झरेका हुन् । उनका श्रीमान गणेश ढकाल हिँडडुल गर्न सक्दैनन् । ०५२ सालमा मोटरसाइकल दुर्घटनामा परेर गंभिर घाइते भएका गणेशलाई सुगरले पनि ग्रसित बनाएको छ ।
श्रीमान दुर्घटनामा परेपछि तारादेवीले व्यापार/व्यवसाय सम्हाल्दै आएकी थिइन् । उनीहरुको काठमाडौंमा एउटा काठ मिल, झापाको दमकमा ढकाल काठ मिल र पाथिभरा इट्टा उद्योग थियो । काठमाडौंको मनकामना काठ मिल बैंकले लिलाम गर्‍यो भने झापाको मिल बेचिन् ।
तीन प्रधानमन्त्रीलाई भात खुआएको दाबी
एकताका झापा जिल्ला मात्रै होइन, एमाले वृत्तमै आफ्नो राम्रो पकड भएको उनी बताउँछिन् । तारादेवीका अनुसार पूर्वप्रधानन्त्रीहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल उनका घरमा गएर खान नै खाएका छन् । एमाले बरिष्ठ नेतासमेत रहेका केपी ओली त दर्जनौपटक उनका घरमा बसेका छन् । अहिले पनि ढकाल एमालेको झापा जिल्ला कमीटिकी सल्लाहकार र अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य छिन् ।
‘कुनै समय पार्टीका शीर्षस्थ नेताहरु मसँग सल्लाह माग्थे’ उनी भन्छन् -’अहिले त कसैले हजार रुपैयाँमा पनि पत्याउँदैनन् ।’

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide