khabar,
धनगढीमा हवाईजहाज सङ्ग्रहालय निर्माण हुँदै
Posted by Unknown
Published on Wednesday, 26 March 2014
१३ चैत, धनगढी । पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनगढीमा नेपालकै पहिलो हवाईजहाज सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको छ ।
कैलाली जिल्ला बेलादेविपुर गाविस घर भई इन्डोनेसियाको लायन एयर विमान कम्पनीमा प्रशिक्षकको रूपमा कार्यरत क्याप्टन वेद उप्रेतीको पहलमा यो सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको हो ।
सङ्ग्रहालयको तयारीको क्रममा पुरानो जेट विमानका विभिन्न पाटपूर्जाहरू मङ्गलबार धनगढी पुर्याइएको छ ।
जेट विमान नै नदेखेका स्थानीय कतिपय बासिन्दाका लागि जेट विमानका पाटपूर्जाहरू नै आफ्ना अगाडि देखेपछि दुई दिनदेखि उक्त पुरानो विमान हेर्नेहरूको घुइँचोसमेत लागेको छ ।
धनगढीको हसनपुरमा सञ्चालनमा आउने हवाईजहाज सङ्ग्रहालयमा विमानका आविस्कार गर्ने राइट दाजुभाइका पालादेखि हालसम्मका पाइलटसहित साना नमुनाका विमान अवलोकनका लागि राखिने क्याप्टन उप्रेतीले बताए ।
यसबाहेक सङ्ग्रहालयमा नेपाल र खासगरी सुदूरपश्चिमाञ्चलका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरूको दृष्य समेटिने गरी आधुनिक प्रविधिबाट ‘क्यानभास प्रिन्ट र फेमिङ’ भएका तस्वीरहरूको प्रदर्शनीको सुविधासमेत व्यवस्था हुनेछ । सङ्ग्रहालय सञ्चालनबाट हुने आम्दानी रकम कैलाली जिल्लाका क्षयरोगीको उपचारका साथै विद्यालयका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नमा खर्च गरिने योजना रहेको उप्रेतीले बताए ।


0 comments
Readers Comments
i love like and koment