khabar,
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई निर्देशन
Posted by Unknown
Published on Wednesday, 26 March 2014
काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरीबलप्रति जनताको आशा भरोसा बढ्दै गएकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले राष्ट्र र जनताप्रतिको इमान्दारिता र प्रभावकारिता सशस्त्र प्रहरीबलको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
सुरक्षा बलले एकताबद्ध भएर जिम्मेवारी पूरा गरेको अवस्थामामात्र सफल हुने उल्लेख गर्दै गृहमन्त्री गौतमले भन्नुभयो, “सीमा सुरक्षामा कुनै गल्ती नहोस् । जनताको सुरक्षामा कुनै सम्झौता नहोस् ।”
अनुचित कार्य गरेर उपल्लो दर्जामा जाने प्रयास नगर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “क्षमता प्रदर्शन गरेर अघि बढ्नुपर्छ, अनुचित कार्य गरेर होइन ।”
कार्यक्रममा गृहमन्त्रालयका सचिव जनार्दन नेपालले देशको कुनैपनि भागमा भएको दैवीप्रकोप र महामारीबाट पीडितको उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै तीनवर्षे रणनीतिक कार्ययोजनालाई सफल पार्न आवश्यक सहयोग गर्न सरकारसँग माग गर्नुभयो । रासस


0 comments
Readers Comments
i love like and koment