,

राहदानी एक महिनामै !

राहदानी वितरण जिम्मा हुलाक वा कुरिअर कम्पनीलाई दिने विकल्पबारे छलफल गर्दैछौं : महानिर्देशक 



MRP
काठमाडौं, चैत्र ६ - संकलन र वितरणमा लाग्ने समयमात्रै घटाउन सके एक महिनाभित्रै सेवाग्राहीले राहदानी पाउन सक्ने परराष्ट्र मन्त्रालय, राहदानी विभागले जनाएको छ । अहिले सामान्य प्रक्रियाबाट आउने दुर्गमका बासिन्दाले झन्डै तीन महिना कुर्नुपर्ने अवस्था छ ।
समयमा संकलन हुने हो भने विभागले १६ देखि २० कार्यदिनभित्र राहदानी तयार गर्न सक्ने विभागका महानिर्देशक रमेश खनालले बताए । 'निवेदन विभागसम्म आइपुग्न एक महिना र बनिसकेको राहदानी सम्बन्धित ठाउँमा पुर्‍याउन अर्को एक महिना लाग्ने गरेको छ,' उनले भने, 'यसले गर्दा टाढा जिल्लाका ग्राहकले राहदानी हातमा पाउन तीन महिना कुर्नुपर्छ ।' जनशक्ति अभाव, यातायात असुविधा र बजेट समस्याले जिल्लाबाट फारम संकलन र तयारी राहदानी वितरणमा ढिलाइ हुने गरेको उनले बताए ।
७५ जिल्ला प्रशासन कार्यालयले २६ संकलन केन्द्रमार्फत फारम विभागसम्म आइपुग्छ । र, तयारी राहदानी केन्द्रमार्फत जिल्ला पुर्‍याइन्छ । राजधानीलगायत नजिकका केही जिल्लाले भने सीधै ल्याउने भएकाले एक महिनामै राहदानी पाउने अवस्था रहेको महानिर्देशक खनालले बताए । जिल्लामा लामो समय राहदानी नपाइने भएकाले राजधानी आउनुपरेको गुनासो सेवाग्राहीको छ । 'कसरी हुन्छ छिटो सेवाग्राहीको हातमा पुगोस् भन्ने छ,' उनले भने, 'वितरणका उचित विकल्पबारे अध्ययन गरी मन्त्रालयमा प्रस्ताव पेस गर्दैछौं ।'
राहदानी संकलन र वितरणका लागि हाल विभागलाई हुलाक कार्यालय वा निजी कुरियर कम्पनीहरूलाई ठेक्कामा दिने विकल्पबारे विभागले छलफल गरिरहेको छ । हुलाकलाई पहिलो प्राथमिकता दिने, नभए कार्गो वा कुरिअर कम्पनीबाट टेन्डर गराउने योजना रहेको खनालले बताए । सूचना तथा सञ्चार मन्त्रालयलगायत हुलाक कार्यालयसँग चार/पाँच चरणमा छलफल भइसकेको जानकारी उनले दिए । 'स्रोत उपलब्ध गराएमा संकलन र वितरण गर्न सक्ने भन्दै हुलाक कार्यालयले सकारात्मक जबाफ देखाएको छ,' उनले भने ।
गाडी उपलब्ध गराउन आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको पनि विभागले जनाएको छ । खनालका अनुसार राहदानी ओसारपसारका लागि आवश्यक कन्टेनर खालको गाडीे आवश्यक रहेको भन्दै हुलाकले त्यसको माग गरेको छ । हुलाकले राहदानी संवेदनशील विषय भएकाले पुर्‍याउन गाह्रो हुने कुरा राखेको थियो । वितरणका बेला साथमा सुरक्षाकर्मी खटाउने हुँदा समस्या नपर्ने विभागको भनाइ छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले पनि राहदानी वितरणका लागि हुलाक वा अन्य निजी कम्पनीलाई ठेक्कामा दिनबारे गृहकार्य गरिरहेको जानकारी दिए ।
छिटै अनलाइनमा गए संकलनका लागि खटाउनु नपर्ने र वितरणमा मात्रै ठेक्कामा दिँदा पुग्ने खनालले बताए । प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इन्‌रोलमेन्ट सिस्टम) सञ्चालन गएपछि संकलन समस्या हट्ने विभागको भनाइ छ । अनलाइनमा गएपछि जिल्ला र विदेशस्थित मिसनबाट 'डेटा इन्ट्री' गर्दा सीधै उत्पादन इकाईमा जाने र राहदानी अहिलेभन्दा छिटो उत्पादन गर्न सकिने उनले बताए ।
विदेशी नियोगहरूबाट आउने राहदानी निवेदनका लागि पनि तीन महिना समय लाग्ने गरेको छ । बजेट अभावले गर्दा कुरिअरबाट नपठाई दूतावासले लटलटमा संकलन गरेर कूटनीतिक मेलबाट निवेदन पठाउने गर्छ । उक्त निवेदन आइपुग्नै झन्डै एक महिना लाग्छ । खाडी मुलुकबाट भने दुई सातामा आउने गरेको विभागले जनाएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide