,

मिसनमा महिला

सहसेनानी जमुना विष्ट १७ महिनाको छोरोलाई काठमाडौंमा छाडेर नेपाली सेनाको लेबनानमा रहेको युनिफिल हेडक्वार्टर पुगेकी छन्। काठमाडौंमा उनका सासूससुराले छोरोलाई हेर्ने गरेका छन्। सहसेनानी विष्टका श्रीमान् पनि झापामा सेनामै कार्यरत छन्।
युनिफिलको लेबनानस्थित नेपाली गणमा सावरी चेक गर्दै सैनिक प्रहरी।
युनिफिलको लेबनानस्थित नेपाली गणमा सावरी चेक गर्दै सैनिक प्रहरी।
सेनाको विशेष भ्रमण टोलीसँगै एउटै जहाजमा उडेकी जमुनासँग एक साता लामो बसाइ र बोलचालका क्रममा उनले दूधे बालक छाडेर आएको कुनै छनकसम्म पर्न दिइनन्।
बिहानदेखि राति अबेरसम्म संयुक्त राष्ट्रसंघको म्यान्डेटअनुसार सहसेनानी जमुना ड्युटी गरिरहेकी थिइन्। 'छोरोभन्दा मिसनमा कमाउने पाँच/छ लाख रुपैयाँ ठूलो होइन, संस्थाले दिएको जिम्मेवारी पूरा गर्न आएकी हुँ', फौजी जीवनको यथार्थ उनले आत्मविश्वासका साथ सुनाइन्।
जमुनाजस्तै संस्थाले दिएको र खटाएको जिम्मेवारी वहन गर्दै हाल २६ जना महिला सैनिक अधिकृत र जवान युनिफिलअन्तर्गत दक्षिण लेबनानमा कार्यरत छन्।
तीमध्य अधिकांश इन्फेन्ट्री फौज (गैरप्राविधिक) रहेको लेबनानस्थित युनिफिल नेपाली गणका प्रमुख सेनानी सुशील कार्कीले जानकारी दिए। सहसेनानीहरू करिश्मा श्रेष्ठ, प्रतिमा बोहरा, सम्झना श्रेष्ठ इन्फेन्ट्री फौजका अधिकृत हुन्। सहसेनानी सबैले पुरुषसरह लेबनानका जोखिमपूर्ण स्थानमा गस्तीलगायत अन्य कार्य गरिरहेका छन्।
त्यस्तै सेनाको मुख्यालयले सहसेनानी आकृति पाण्डेलाई लेबनान युनिफिल मिसनअन्तर्गत नेपाली गणको अवस्था बुझ्न काठमाडौंबाट खटाएको थियो। सहसेनानी प्रमिला केसी यातायात सेमोपति (मिलेट्री ट्रान्सपोटेसन)को जिम्मेवारी सफलतासाथ पूरा गरी ६ महिने कार्यकाल सकेर फर्किएकी छन्।
त्यस्तै सहसेनानी बुद्धकुमारी थेबे पनि कार्यकाल पूरा गरेर फर्किइन्। थेबेले लेबनान बसाइको अनुभव सुनाउँदै सटिक रूपमा भनिन्, 'घरपरिवारभन्दा त देशले सुम्पेको जिम्मेवारी ठूलो लाग्यो।'
नेपाली सेनाले लेबनानमै आयोजना गरेको कार्यभार हस्तान्तरण समारोहमा समेत सहसेनानी सम्झना श्रेष्ठ र जमुना विष्टले सशस्त्र परेडको नेतृत्व गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रहेका युनिफिल प्रमुख फोर्स कमान्डर इटालीका मेजर जनरल पावलो सेराले समेत मुक्तकण्ठले नेपाली महिला सैनिकको प्रशंसा गरेका थिए।
सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मिसनमा खटिने महिलामध्ये पछिल्लो समय प्राविधिकको तुलनामा इन्फेन्ट्री फौजका महिलाको संख्या बढ्दै गएको छ। निर्देशनालयका सहायक रथी जगदीशचन्द्र पोखरेलका अनुसार मिसनमा सैनिक प्रहरी महिलाको संख्या बढ्दै गएको पाइन्छ। विशेष तालिम लिएर सैनिक प्रहरीका लागि मिसनमा खटिने महिला बढेका छन्। अन्य राष्ट्रको तुलनामा नेपाली महिला सैनिकले राम्रो प्रभाव पारेको सहायक रथी पोखरेलले बताए।
मिसनमा युनिफिलजस्तै अन्य मिसनमा खटिने सैनिकको चालचलनदेखि सबै अवस्था र घटना अनुसन्धान गर्नसमेत सैनिक प्रहरी खटाउने गरिन्छ। सैनिक प्रहरीले सडक चेकजाँचदेखि पोस्ट्को आकस्मिक निरीक्षण र कारबाहीको सिफारिससम्मको अधिकार राख्छन्।
नेपाली सेनाका तर्फबाट हालसम्म सात सय २९ जना महिला सैनिक अधिकृत र जवान विभिन्न देशमा रहेका मिसनमा सहभागी भइसकेका छन्। निर्देशनालयका महासेनानी निरञ्जनकुमार श्रेष्ठले मेडिकल र टेक्निकल अधिकृतका रूपमा महिला सैनिक मिसनमा खटिने गरे पनि पछिल्लो समय इन्फेन्ट्रीबाट पनि खटिनेको संख्या बढ्दै गएको जानकारी दिए।
'६१ सालबाट महिला अधिकृतको भर्ना सुरु भएसँगै संख्या बढ्न थालेको छ', महासेनानी श्रेष्ठले भने। मिसनमा रहेका मेडिकल र टेक्निकल शाखामा हाल पुरुषको तुलनामा महिलाकै संख्या बढी छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide