रोचक जानकारी,
पूर्वाधार क्षेत्रमा पचास अर्ब लगानी प्रस्ताव
Posted by Unknown
Published on Wednesday, 2 April 2014
मिति : २०७० चैत २०,
अन्नपूर्ण |
काठमाडौं : नेपाली व्यवसायीले आगामी पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन्। व्यवसायीले पूर्वाधारसम्बन्धी विभिन्न १२ आयोजना विकास गरेर करिब ५० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका हुन्। व्यवसायीले केबल कार, सुरुङमार्ग, होटेल, रिसोर्ट, अपार्टमेन्ट, पार्क, वित्तीय केन्द्रलगायतका पूर्वाधार विकास गर्ने प्रस्ताव अघि सारेका छन्।
पूर्वाधार क्षेत्रका ११ वटा आयोजनका लागि व्यवसायीले ४९ अर्ब २५ करोड ७६ लाख रुपैयाँ लगानी प्रस्ताव गरेका छन्। एउटा आयोजनाको भने लगानीको मूल्यांकन भइरहेको व्यवसायीले जनाएका छन्।
लक्ष्मी समूहले पोखरा, प्यूठानको स्वर्गद्वारी र ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने प्रस्ताव गरेको छ। पोखरामा समूहले शान्तिस्तुपासम्म पुग्ने केबलकार निर्माणको प्रस्ताव गरेको हो। यसको लगानी एक अर्ब ४४ करोड रुपैयाँ हुने समूहले जनाएको छ। पोखराबाट शान्तिस्तुपासम्म पुग्न यसले सहज पार्नेछ।
यसका साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने लगानीकर्ताको दाबी छ। लगानीकर्ताले विदेशी साझेदारको खोजी गरिरहेका छन्। यसको लम्बाइ १.५ किलोमिटर हुनेछ। यसैगरी पहिले नै अध्ययन सकिएको स्वर्गद्वारीमा पनि केबल कार बनाउने समूहको प्रस्ताव छ। यसको लगानी करिब एक अर्ब हुनेछ। समूहले यसका लागि पनि साझेदार खोजिरहेको छ।
यो केबल कारको लम्बाइ ३.५ किलोमिटर हुनेछ। यो समूहले ताप्लेजुङको पाथीभरमा पनि केबलकार बनाउने प्रस्ताव अघि सारेको छ। २.५ किलोमिटर लामो यो केबलकार निर्माण गर्न पनि करिब एक अर्ब खर्च हुने अनुमान छ।
फुङलिङ बजारबाट पाथीभरा पुग्ने यो केबलकारले तीर्थयात्रीलाई सजिलो पार्नेछ। यसैगरी व्यवसायीले धुलिखेलमा रिसोर्ट, मनोरञ्जन केन्द्र, केबलकार, अर्गानिक खेतीलगायतका योजनालाई एकीकृत गरी धुलिखेल ड्रिमल्यान्ड आयोजना अघि बढाउने प्रस्ताव गरेका छन्।
उनीहरूले करिब दुई अर्ब ११ करोड रुपैयाँ लगानी गरेर यस्तो आयोजना अघि बढाउने प्रस्ताव गरेका हुन्। अहिले जग्गाको सर्भे र विस्तृत परियोजन अध्ययन सम्पन्न भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकनको काम पनि सकिएकाले लगानीकर्ताले साझेदार खोजिरहेका छन्।
राजधानीको कमलादीमा जेएसबी वित्तीय केन्द्र बन्न लागेको छ। कुल दुई अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको यो केन्द्र एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ। यसका लागि पनि लगानीकर्ताले साझेदार खोजिरहेका छन्।
यसैगरी ग्लोबल आईएमई समूहको लगानीमा थानकोट-चन्द्रागिरि केबलकार निर्माण हुने भएको छ। कुल दुई अर्ब ४० करोड लगानीमा बन्ने यो केबलकार निर्माणका लागि ४० वर्षका लागि जग्गा भाडामा लिइसकिएको समूहले जनाएको छ।
उपत्यकामा पर्यटक प्रवर्द्धन गर्नका लागि यो आयोजना अघि बढाइएको हो। यो समूहले पनि विदेशी साझेदारसँग कुरा गरिरहेको जनाएको छ। यसैगरी नेपाल सरकार, चलचित्र विकास बोर्डले दोलखाको लाकुरीडाँडा गाविसमा चलचित्र नगरी बनाउने प्रस्ताव अघि सारेको छ।
कुल दुई अर्ब ८८ करोड लगानीमा चलचित्र नगरी बनाउने प्रस्ताव गरिएको हो। यसको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ।
यसैगरी नेपाल पूर्वाधार विकास कम्पनीले करिब ३३ अर्ब रुपैयाँमा काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माणको प्रस्ताव अघि सारेको छ। यसका लागि कम्पनीले विदेशी साझेदारको खोजी गरिरहेको छ। सर्वसाधारणले समेत लगानी गर्न यो आयोजनामा सक्ने कम्पनीले जनाएको छ। यसैगरी बृहत् समूहले काठमाडौंको रामकोट गाविसमा स्वयम्भू होटेल एवं अपार्टमेन्ट निर्माण गर्ने अवधारणा अघि सारहेको छ।
समूहले जग्गा खरिदकार्य सम्पन्न गरेको छ। 'हामीले साझेदार खोजिरहेका छौं, विदेशी साझेदार ल्याउनचाहिँ नीति नै बाधक छ', समूहका ओम राजभण्डारीले भने, 'नीति बाधक नहुने भए थाई र जापानीले लगानीका लागि इच्छा देखाएका छन्।'
समूहले करिब एक अर्ब लगानीमा होटेल र अपार्टमेन्ट बनाउने प्रस्ताव गरेको हो। यसैगरी इन्ट्रेस्टेड मल्टिमोडल ट्रान्सपोर्ट प्रालिले राजधानीमा पार्किङ गर्ने कम्पनी लजिस्टिक पार्क बनाउने अवधारणा अघि सारेको छ। यसका लागि खर्चको अहिले हिसाब गरिनसकेको कम्पनीले जनाएको छ।
न्यूनतम पाँच सय रोपनी क्षेत्रफलमा फैलिने यो पार्कले उपत्यकाको पार्किङ व्यवस्थालाई सजिलो पार्ने कम्पनीको दाबी छ। यसैगरी १० करोड लगानीमा उपत्यकाभित्रै मल्टी चेम्बर कोल्ड स्टोरेज निर्माणको प्रस्ताव अघि सारिएको छ।
यसैगरी काठमाडौंको झोंछेमा दैसा अर्बन रि-जेनेरेसर आयोजना सञ्चालन गरिने भएको छ। करिब एक अर्ब ४४ करोड लगानीमा यो आयोजना सुरु गर्न लागिएको हो। नेपाल उद्योग वाणिज्य महसंघले तयार पारेको नेपालमा लगानी सम्भावनाका आयोजनाको प्रस्तावमा पूर्वाधार क्षेत्रमा यी आयोजनालाई समेटिएको हो।


0 comments
Readers Comments
i love like and koment