,

कमलकिरण बरालको फोनमा मञ्जुको मिस कल आएपछी...

काठमाडौ, चैत्र २२ - ट्रिङट्रिङ' कमलकिरण बरालको फोनमा मिस कल आयो । उनले मोबाइलमा हेरे, मिस कल 'नानु'को थियो । नानु अर्थात् उनकी श्रीमती मञ्जु महत । न्युरोडमा रहेका उनले तुरुन्तै कलब्याक गरे, 'किन मिस कल गरेको ?'

जिस्किएको स्वरमा मञ्जुले जवाफ दिइन्, 'ब्यालेन्स छैन, के गरु तँ हजुर ?'

कमलले रिचार्जकार्ड किनेर पत्नीको फोनमा पठाइदिने विचार गरे । उनले कार्ड किन्न नपाउँदै दिउँसो २ बजे उनलाई फोन आयो, 'मञ्जुको एक्सिडेन्ट भयो ।'




जमलस्थित 'मालश्री रेर्कडिङ स्टुडियो' मा मञ्जु गीत रेकर्डका लागि जाँदै थिइन् । पोखरामा हुन लागेको महोत्सवका लागि गीत रिमेक गर्नुपर्ने थियो । यसैले उनी त्यता जाँदै थिइन् । बीचमै गल्कोपाखामा उनी माइक्रोबसको चेपुवामा परिन् । मञ्जुले चलाएको स्कुटर बिहीबार दुइटा माइक्रोको चेपुवामा पर्‍यो । उनी गम्भीर घाइते भइन् ।

श्रीमतीको दुर्घटनाको खबर पाएपछि कमल तुरुन्तै दौडिए । मञ्जुलाई टिचिङ अस्पताल ल्याइएको थियो, उनी त्यहीं पुगे । उपचारका क्रममा डाक्टरले मञ्जुको खुट्टा काट्नुपर्छ भने । यो सुनेर कमल निकै आत्तिए । उनले खुट्टा जोगाउन विकल्प खोजे र अर्को अस्पताल ग्रयान्डी पुगे । त्यहाँ पनि डाक्टरले खुट्टा काट्नैपर्ने बताए । मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै कमल पत्नीको प्राण बचाउनका लागि खुट्टा काट्न तयार भए । तर, खुट्टा काटेर उनकी पत्नी गायिका मञ्जु महतको प्राण जोगिएन ।

मञ्जु र कमलका ९ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । कास्कीकी मञ्जुको दस वर्षअघि इटहरीका कमलसँग प्रेम विवाह भएको थियो । ०६६ मा कमल र मञ्जु मिलेर आधुनिक एल्बम 'कोसेली' निकालेका थिए । वैशाख १८ गते पोखरा महोत्सवमा मञ्जुले त्यही एल्बममा रहेको गीत 'मन चोर्‍यो कसैले ख्यालै ख्यालैमा...' रिमेक गरेर गाउने तयारी गरिरहेकी थिइन् । यही गीतको रेकर्डिङमा जाँदा उनी दुर्घटनामा परिन् ।

बिहीबार बिहानै कमलले मञ्जुलाई रकेर्डिङ गर्ने गीत गाउने अभ्यास गराएका थिए । स्टेज प्रस्तुतिमा फास्ट ट्रयाकको गीत चाहिने हुँदा मञ्जुकै अनुरोधमा पुरानो गीतमा रिमेक गर्ने सोच बनेको थियो । पोखरा महोत्सवसँगै नयाँ वर्षको कार्यक्रम गर्न जापान जाने योजनामा उनी थिइन् ।

सांगीतिक कार्यक्रम गरेर मञ्जु डेढ महिनाअघिमात्र दुबईबाट फर्केकी थिइन् । उनी दुबईमा पाँच महिना बसेकी थिइन् । मञ्जु मोटरसाइकल चलाउन निकै रहर गर्थिन् । उनले सिकेकी पनि थिइन् । तर, दुर्घटनाकै डरले कमलले आफ्नो मोटरसाइकल बेचेर मञ्जुलाई स्कुटर किनिदिएका थिए । लोक गायनमा जमेकी मञ्जु श्रीमान्सँगै आधुनिक गायनमा समेत पाइला टेक्ने प्रयासमा थिइन् । उनीहरू मिलेर आधुनिक गीतको नयाँ एल्बम निकाल्ने तयारीमा थिए ।

००००

मञ्जुले स्कुलदेखि नै गीत गाउन थालेकी हुन् । कास्की भरतपोखरीमा कक्षा ७ मा पढेका बेला स्कुलमै एउटा गायन प्रयितोगिता थियो । गीत गाउने पालो कुर्ने स्कुले विद्यार्थीको अन्तिम पंक्तिमा बसेर मञ्जु पालो कुर्दै थिइन् । पालो आएपछि उनले गएर गीत गाइन् र खुरुखुरु अन्तिममै आएर बसिन् । नजितामा उनी प्रथम भइन् । यसैबेलादेखि मञ्जुको मन गीततिर मोडियो ।

बिस्तारै गाउँमा उनी गायिकाका रूपमा चिनिन थालिन् । बिवाह, व्रतबन्ध, भोजभतेर चाडपर्वजस्ता कार्यक्रममा उनको स्वर अनिवार्यजस्तै हुन थाल्यो । प्रतिभाशाली मञ्जु गाउँको मात्रै कलाकारमा सीमीत हुन चाहिनन् । उनी संगीतको फराकिलो बाटो खोज्दै थिइन् । पोखराको एक दोहोरी साँझमा उनले गाउन थालिन् । पढाइ र लोक गायनसँगै चलिरहेको थियो । तर, मञ्जु यत्तिमै रोकिनेवाला थिइनन् । क्षेत्रीय कलाकारबाट उनी राष्ट्रिय लोक गायिका बन्न चाहन्थिन् । उनी काठमाडौं आइन् ।

पोखराको एक दोहोरी साँझमा गाउने युवतीलाई काठमाडौं सजिलो थिएन । उनी यहाँ अनजान थिइन् । काठमाडौंको आफ्नै शैली थियो जुन पोखराभन्दा भिन्न थियो । तर, उनले हिम्मत हारिनन् । बुबा आमाकी ६ सन्तानमध्येकी साइँली छोरीले संघर्ष गरिरहिन् ।

प्रतिभा हुनेका लागि काठमाडौं एक किसिमले अवसरको खानीजस्तै हो । २०६० सालतिर उनले अवसर पाइन् । यो थियो, किङफिसर दोहोरी गायन प्रतियोगिता । दर्जनौंं होनहार कलाकारमाझ मञ्जु प्रतियोगितामा सहभागी भएकी थिइन् । सुरिलो स्वर र सुन्दर प्रस्तुतिले मञ्जुलाई उत्कृष्ट बनायो । उनी प्रथम भइन् । त्यसपछि पनि उनले प्रतियोगिताहरु जित्दै गइन् । लोक दोहोरी प्रतिष्ठानले गरेको अधिराज्यव्यापी दोहोरी गीत प्रतियोगितामा पनि उनी प्रथम भइन् । यो १ लाख नगद राशि भएको पुरस्कार थियो । यो पुरस्कारले उनलाई संघर्ष गर्न थप हौसला दियो ।

काठमाडौंमा पनि उनले पोखरामा जस्तै दोहोरी साँझहरूमा गाइरहेकी थिइन् । केही महिना काठमाडौंको संगत गरेपछि उनले केही नयाँ पाठहरू सिकेकी थिइन् । ठूला कलाकारले साना कलाकारलाई वास्ता नगर्ने, नयाँ कलाकार भन्नेबित्तिकै कुनै खुबी नै नभएजस्तो व्यवहार गर्नेजस्ता प्रवृत्तिबारे उनले बेलैमा चाल पाएकी थिइन् । त्यसको केही समयमा मञ्जु पोखरा नै फर्किइन् ।

पोखरामा पनि उनको गाउने क्रम निरन्तर थियो । केही समय पोखरामा बिताएपछि उनी फेरि अर्कोपटक काठमाडौंसँग जुध्न फर्किएर आइन् । यसपटक उनी आत्मबल बढाएर आएकी थिइन् । लोकगीत र गायनलाई साह्रै हेप्ने प्रवृत्ति उनलाई मन परेको थिएन । यसैले उनी लोकगायक गायिकाको संगठनमा पनि सामेल भइन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्व्यन समितिकी उपाध्यक्ष पनि थिइन् । नयाँ कलाकारलाई उनी गायनसँगै पढाइमा पनि ध्यान दिने सल्लाह दिन्थिन् । दुई सन्तानकी आमा हुँदासम्म पनि उनी आफू पनि पढिरहेकी थिइन् ।

पछिल्लो समय उनका दुइटा मुख्य रहर थिए, 'स्नातकोत्तर गरेर पीएचडीसम्म पूरा गर्ने' र 'आधुनिक गायिका बन्ने ।'

एक महिनाअघि मात्रै मञ्जुले रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नाकोत्तर भर्ना गरेकी थिइन् । अंग्रेजी भाषामा पोख्त हुने उनको चाहना थियो । अभिनय र नृत्यमा अत्यन्त अभिरुचि राख्ने मञ्जु यी विधामा पनि उत्तिकै सक्रिय । उनले जापानिज भाषा पनि सिक्न थालेकी थिइन् । श्रीमान् कमललाई कोरियन भाषा सिक्न कर गरिरहेकी थिइन् ।

आफूले गाएका लोकदोहोरी गीतमा आफैंले अभिनय पनि गरेकी मञ्जुले पछिल्लो समय पशुपति शर्मासँग गाएको गीत 'पढ्यो पढ्यो पाठ हजुर, सोर दुना आठ' बाट र्चचा कमाएकी थिइन् । 'नभन है कसैलाई भन्न हुँदैन', 'पञ्चेबाजाले', 'हीरामोती' लगायत एल्बम र गीतमा मञ्जुको स्वर र अभिनय दुवै छ ।

हकी स्वभावकी भनेर चिनिने मञ्जुको विशेषता के थियो भने उनी आफूभन्दा सानालाई पनि सकेसम्म 'तपाईं' भनेर सम्बोधन गर्थिन् । नेपालका अधिकांश महोत्सव वा सांस्कृतिक कार्यक्रममा उनको माग हुने गथ्र्यो । गीतका बीचमा चुट्किला भन्ने, नाच्ने र अभिनयसमेत गर्ने उनको बानी थियो, जसले गर्दा उनको माग झन् बढी हुन्थ्यो ।

अराजक माइक्रोबस चालकको लापरबाहीले एउटा स्थापित लोकगायिकको अनाहकमा ज्यान गयो । गायिका मञ्जुको निधनले नेपालको सवारी व्यवस्था र कानुनका बारे नयाँ ढंगको छलफलको सुरुवात भएको छ । सरकार र सरोकारवालाहरूले मिलेर सहरी सडक र सवारीको व्यवस्था गरेर थप ज्यान जाने स्थितिलाई नियन्त्रण गर्नुपर्नेछ । मान्छेको प्राण अझै यति सस्तो भएको छैन । र, यो प्रवीण गुरुङको जस्तो बेला पनि छैन, दरबारको काण्ड, दरबारमै छिप्ने !


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide