विदेश जान नक्कली बिहे, भिसा नआएपछि अंश माग-
७ पुस, काठमाडौं । ललितपुरका रमेश र रमा (परिवर्तित नाम) ले डिपेन्डेन्सी
भिसामा अस्ट्रेलिया जानका लागि कानुनी विवाह गरे । तर, अस्ट्रेलियाले
उनीहरुलाई प्रवेशाज्ञा (भिसा) दिएन् । कानुनी विवाह भइसकेकाले रमाले
रमेशसँग अंश माग गर्न थालिन् । सँगै कलेज पढेका नीता र निकेश
(परिवर्तित नाम) झन्डै साता वर्ष पहिलेदेखि एक-अर्कालाई मन पराउँथे ।
उनीहरुले पनि कानुनी विवाह गरेर प्रक्रिया अघि बढाइरहँदा निकेशलाई
अमेरिकाको डिभी पर्यो । नीता भने उनीसँग सम्बन्धविच्छेद गरेर अर्को विवाह
गर्न चाहन्थिन् । अध्ययन वा रोजगारीका लागि विदेसिने युवाको संख्या
बढिरहँदा कानुनी रुपमा मात्र विवाह गर्ने क्रम पनि बढेको छ । विदेसिन
सजिलोका लागि कानुनी विवाह एउटा सहज माध्यम बनेको छ । सँगै दीर्घकालीन
रुपमा यसको व्यवस्थापन पनि चुनौती र हैरानीको विषय बन्दै गएको छ ।
एक्लै भन्दै सँगै जाँदा खर्च कम लाग्ने भएकाले कानुनी विवाह गरेर
डिपेन्डेसीमा विदेसिने क्रम बढेको हो । तर, विदेसिनका लागि कानुनी विवाह
भइसक्दासमेत विवाह वास्तविक हो/होइन भन्ने विवाद हुँने गरेको छ । केटा
इन्डिपेन्डेन्ट हुँदा केटी डिपेन्डेन्ट र केटी इन्डिपेन्डन्ट हुँदा केटा
डिपेन्डेन्ट भिसामा विदेसिने गरेका छन् । तर, कानुनी रुपमा मात्र हुने
विवाहले उनीहरुलाई विदेशमा गएपछि फकँदामात्र होइन जान नै नमिल्दासमेत
समस्या पर्ने गरेको छ । सबैभन्दा रमाइलो कुरा त के छ भने चिनेकै भरका सँगै
जानेको मात्र होइन प्रेम सम्बन्ध भएकाको समेत कानुनी विवाह वास्तविक
विवाहमा परिणत हुन नसकेका घटना धेरै रहेको राजधानी दैनिकमा खबर छ । रमा
र रमेशले विदेसिने प्रक्रियाका लागि कानुनी रुपमा विवाह गरे पनि सामाजिक
विवाह भएको थिएन । न त पछि विवाह गर्ने नै सोचाइ थियो । आधा आधा पैसा
हाल्ने सम्झौताअनुसार नै अस्ट्रेलियाको प्रक्रिया सुरु भएको थियो । केटाको
परिवारलाई सबै प्रक्रियाका बारेमा जानकारी थियो । तर, युवतीका परिवारलाई
अस्ट्रेलिया जाँदै छिन् भन्ने थाहा भए पनि डिपेन्डेसीमा जान लागेको थाहा
थिएन । उनीहरुले विभिन्न परीक्षा दिँदै गए । सँगै विदेश जाने योजना अघि
नबढेको केही समयपछि कानुनी प्रक्रियाबाट भएको विवाहलाई कानुनी रुपमै
अन्त्य गर्न रमेशले सम्बन्ध विच्छेदका लागि रमासँग भने । तर, रमाले सम्बन्ध
विच्छेद गर्न मानिन् । उनले कानुनी रुपमा बिहे भइसकेको भन्दै अंशको माग
गर्न थालिन् । रमेश नेपाल प्रहरीको जावालाखेलस्थित महिला सेलमा प्रेम
सम्बन्ध नभएको र विवाह गर्ने कुनै सल्लाह नभएको बताउँदै थिए । आफूलाई
व्याकमेल गरेको गुनासो गर्दै उनी आफैं महिला सेलमा न्याय माग्न आइपुगेका
हुन् । महिला सेलमा रहेका प्रहरी अधिकारीहरुले पनि कुरा सुन्दा पुरुष नै
पीडित भएको पाएको बताए । कानुनी रूपमा विवाह भइसकेकाले सेलले समाधान
गर्न सकेन र उनीहरूलाई अदालत पठायो । उता, नीता र निकेशले सम्बन्धलाई पनि
अघि बढाउने र भविष्यको योजना बुन्दै कानुनी विवाह गरेका थिए ।
डिपेन्डेसीमा अस्ट्रेलियाका लागि प्रयास सुरु भएसँगै सात वर्ष लामो सम्बन्ध
कानुनी विवाहमा परिणत भयो । प्रक्रिया अघि बढिरहँदा निकेशलाई अमेरिकाको
डीभी परेपछि नीतालाई पनि लैजाने योजनामा थिए । कानुनी रूपमा विवाह
भइसकेकाले कुनै समस्या पनि थिएन । तर, नीताको अरूसँगै विवाह हुन लागेको खबर
उनका लागि अपत्यारिलो भयो । नीताले आफू अरूसँगै विवाह गर्न लागेको भन्दै
सम्बन्धविच्छेद मागेकी थिइन् । नितेशले आफूले सम्बन्ध चलिरहँदा नै
पढाइलगायतका लागि खर्च बेहोरेको भन्दै सम्बन्धविच्छेद गर्न मानेनन् । नीता
भने आफूलाई मानसिक पीडा दिएको बताउँदै प्रहरीसम्म पुगिन् । ‘बाहिर
जानका लागि प्रयास गर्न कानुनी विवाह गरेको हो, साँच्चै विवाह गर्ने कुनै
सम्झौता थिएन,’ उनले महिला प्रहरीलाई भनिन् । निकेशले भने उनले धोका दिएको
बताउँदै थिए । केही वर्षयता यस्ता घटना प्रहरीमा आउने क्रम बढेको सेलमा
कार्यरत प्रहरी सहायक निरीक्षक लालमाया खड्का बताउँछिन् । ‘कानुनी रूपमा
भएका विवाहलाई वास्तविकतामा बदल्ने वा नबदल्ने पहिले नै सल्लाह भइसकेको
हुन्छ । तर, पहिलेको योजना बदलिने गरेका घटना धेरै छन् । प्रेम सम्बन्धका
आधारमा नै सँगै विदेशका लागि प्रक्रिया अघि बढेको हुन्छ । प्रेम
सम्बन्धलाई विवाहमा परिणत गर्ने योजना भए पनि कतिपयमा फर्किएपछि सम्बन्ध
अघि नबढाउने निर्णयमा पुगेका घटना पनि छन्,’ उनले भनिन्, ‘कानुनले त विवाह
मानेको हुन्छ तर उनीहरू आफैंले र परिवारले पनि विवाहलाई मान्यता नदिएको
पाइन्छ ।’ त्यसो त नाटकी विवाह वास्तविकतामा परिणत भएका घटना पनि नभएका
होइनन् । यहाँबाट चिनेकै भरमा साथी मात्र भएर वा आफन्तका रूपमा विदेश गएपछि
त्यहाँ पुगेर त्यही सम्बन्ध वास्तविकतामा परिणत भएका छन् । केही समय पहिले
अमेरिकामा भएका रबिन (परिवर्तित नाम) ले डिपेन्डेसीमा श्रीमतीकी भदैलाई
अमेरिका लगेका थिए । उनको श्रीमतीले पनि आफू नेपालमा नै राम्रो
संस्थामा कार्यरत भएकाले त्यति बेला नै बिदेसिने इच्छा देखाएकी थिइनन् ।
सबैको सल्लाहअनुसार फुपाजुसँग कानुनी विवाहलगायत सबै डकुमेन्ट पु¥याएर
युवती बिदेसिइन् । तर, समय बित्दै जाँदा विवाह वास्तविकतामा बदलिएको थियो ।
उनकी श्रीमतीले यहीँबाट बहुविवाहको मुद्दा हालिन् । कानुनी रूपमा भएको
विवाहका बारेमा पहिले नै सचेत हुनुपर्ने अधिकारकर्मी कला राई बताउँछिन् ।
यी घटनामा पुरुषका तुलनामा महिला बढी पीडित भएको पाइन्छ । कानुनी रूपमा
विवाह भइसकेकाले विदेश पुगेपछि पुरुषले ‘लिभिङ टुगेदर’का लागि दबाब दिने
गरेको पाइएको छ । यी कुराहरू आउन सक्छ भन्ने महिलाले पहिले नै विचार
गर्नुपर्ने उनले बताइन् । ‘कानुनका आँखामा विवाह भइसकेको हुँदा भोलि यो दिन
आउन सक्छ भनेर महिलामा जोखिम लिने हिम्मत चाहिन्छ,’ अधिकारकर्मी राईले
भनिन् ।
0 comments
Readers Comments
i love like and koment