,

अनुभवी डाक्टरबाट अर्थ उपचारको आशा

मिति : २०७० फागुन १४, बुधबार [49 पटक पढिएको]
काठमाडौं : पाँचौंपटक अर्थमन्त्री भएर मंगलबार मन्त्रालय छिरेका डा. रामशरण महतसँग धेरैको धेरैथरी अपेक्षा जोडिएको छ। एकातिर बढ्दो महँगी, अर्कोतिर न्यून विकास खर्चका बीच अनुभवी यी अर्थमन्त्रीले बागडोर समाल्दै गर्दा बीपीको प्रजातान्त्रिक समाजवाद र खुला बजार अर्थतन्त्रलाई सन्तुलनमा राख्नेमात्र होइन, सत्तासाझेदार दलका दबाब पनि झेल्दै अघि बढ्नुपर्ने हुन्छ।
'तर सबै राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दा भएकाले तिनको समन्वय गर्नुपर्छ, यो उनका सामु रहेको हाँक हो', उनका विद्यार्थीकालीन सहपाठी विश्वम्भर प्याकुरेल भन्छन्। बढ्दो व्यापार घाटा, छिमेकी चीन एवं भारतसँगको व्यापारबाट कसरी लाभ लिने, यी पनि उनका लागि हाँक हुन्। 'तर विद्यार्थीकालदेखि नै अध्ययनशील महत अर्थतन्त्रको नाडी छामेका मन्त्री भएकाले अर्थतन्त्रमा रहेका संरचनागत कमजोरी उनले बुझेका छन्', अर्थशास्त्री प्याकुरेल भन्छन्।
खुला अर्थतन्त्रका हिमायती महत २०४८ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट नीति निर्माण तहमा सहभागी भएर हालसम्म ६ पटक मन्त्री बने र पाँचौं पटक अर्थमन्त्री। यसपटक अर्थमन्त्रीको भूमिका निर्वाह गर्न त्यति सहज भने छैन। पहिलोपटक कृष्णप्रसाद भट्टराई सरकारमा परराष्ट्रमन्त्री भएमा महत गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाका सरकारमा अर्थमन्त्री भए।
गिरिजाप्रसादको नजिक रहेर महतले आर्थिक सुधारका लागि निकै मेहनत गरेका थिए। तर, बिनायोजना निजीकरण गरेर सरकारी संस्थान बेचेर खाए भनेर केही वामपन्थीहरूले दोष लगाए पनि उनी अझै आर्थिक सुधारको दोस्रो चरण सुरु गर्नुपर्नेमा विश्वस्त छन्।
पहिलो चरणको आर्थिक सुधारले देशमा अहिलेसम्म कै सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको हो। २०४८ देखि २०५१ सालसम्म नेपालको औसत आर्थिक वृद्धिदर ५.९ प्रतिशत रह्यो तर आर्थिक वर्ष २०५०/५१ मा वृद्धिदर ७.१ प्रतिशत भयो, जुन अहिलेसम्मकै सर्वाधिक हो। माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेपछि भने आर्थिक वृद्धिदर नकारात्मक भयो।
अनुदानका कट्टर विरोधी महत सुधारका केही अजेन्डामा पछि पनि हटेका छन्। तसर्थ सत्तासाझेदार दलका पनि दबाब झेल्दै अर्थतन्त्रको उपचार गर्न उनलाई अघिल्ला कार्यकालजस्तो सहज भने छैन।
खुला अर्थतन्त्रमा हालका दिनमा देखिएका विसंगतिलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई समेत विश्वासमा लिएर आर्थिक विकासको बाटोमा देशलाई डोर्‍याउनुको विकल्प पनि छैन। आज युवालाई देशमै रोजगारी चाहिएको छ र आमनागरिकलाई भ्रष्टाचारमुक्त शासन। महतले भ्रष्टाचारको सञ्जाल तोड्दै सर्वसाधारणलाई महँगीबाट राहत एवं अर्थतन्त्रलाई गति दिन सक्छन्, यसैले उनको राजनीतिक भविष्यको पनि निर्धारण गर्छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide