,

त्रिभुवन विमानस्थल धावनमार्ग ६ सय मिटर थपिने

त्रिभुवन विमानस्थल धावनमार्ग ६ सय मिटर थपिने
==============================
काठमाडौं-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग झन्डै चार दशकपछि विस्तार हुने भएको छ। यसका लागि काम तीव्र गतिमा अगाडि बढेको छ। मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको धावनमार्ग ६ सय मिटर (१ हजार ९ सय ६८ फिट) थप्न लागेको हो। हाल धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर (१० हजार ६ फिट) र चौडाइ ६० मिटर (१ सय ९६ फिट) छ।
प्राधिकरणले विमानस्थलको उत्तर र दक्षिण दुवैपट्टि धावनमार्ग विस्तार गर्न लागेको हो। दक्षिणपट्टि कोटेश्वर र उत्तरपट्टि गुह्येश्वरी फाँटतर्फ धावनमार्ग विस्तारको काम भइरहेको छ। दुवै भागमा ३–३ सय मिटर विस्तार गरिने छ। विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर (११ हजार ९ सय ७५ फिट) हुनेछ।
'धावनमार्ग विस्तारको काम धमाधम भइरहेको छ,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुधबार नागरिकसँग भने, 'काम सकिएपछि हाम्रो विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसारको हुनेछ।'
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लम्बाइ न्युनतम ३ हजार मिटरदेखि अधिकतम ४ हजार मिटरसम्म हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ।
उनका अनुसार अहिले कोटेश्वरपट्टि पानी निकास गर्न ड्रेनेज, कल्भर्ट निर्माण भइरहेको छ भने गुह्येश्वरीपट्टि माटो भर्ने काम भइरहेको छ। पहिला दक्षिण भागमा धावनमार्ग निर्माण गरेपछि उत्तरपट्टि काम अगाडि बढाइने छ। त्यसपछि 'रनवे इन्ड सेफ्टी एरिया' (रेसा) बढ्ने छ। 'उडान सुरक्षा बढाउन पनि धावनमार्ग विस्तारले मद्दत पुग्छ,' उनले भने।
एसियाली विकास बैंक (एडिबी) को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग विस्तार गर्न लागिएको उनले बताए। 'धावनमार्गसहित गुरुयोजना सन् २०१५ भित्र पूरा गर्ने लक्ष्य छ,' उनले भने।
सन् १९४९ मा पहिलो पटक गौचरणमा सिंगल इन्जिन जहाज अवतरण गरेको एक वर्षपछि भारतमा दर्ता रहेको डकोटा जहाजले काठमाडौंबाट भारतका पटना, कलकत्ता र नयाँदिल्ली उडान सुरू गरेको थियो। १९५२ मा काठमाडौंबाट पोखरा, भैरहवा, सिमरा र विराटनगर उडान सुरू भएको थियो। त्यो बेलाको 'काठमाडौं विमानस्थल' लाई १९५५ मा त्रिभुवन विमानस्थल र १९६४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गरिएको थियो।
सन् १९६६ मा त्रिभुवन विमानस्थ धावनमार्गको लम्बाइ ६ हजार ६ सय फिट (२ हजार ११ मिटर) बनाइएको थियो। त्यसअघि लम्बाइ ३ हजार ७ सय फिट (१ हजार १ सय २७ मिटर) थियो। १९७५ मा धावनमार्ग लम्बाइ १० हजार फिट (करिब ३ हजार मिटर) पुर्याइइएको थियो।
गुरुयोजनाअनुसार सिभिल निर्माण र उपकरण खरिद गरी दुईथरी काम भइरहेका छन्। सिभिल निर्माणमा धावनमार्ग विस्तार, ट्याक्सी वे, नयाँ बे निर्माण, अध्यागमन क्षेत्र, आगमन क्षेत्र विस्तार, ब्यागेज बेल्ट भएको ठाउँलाई अलि वर सार्नेलगायत काम छन्।
उपकरणतर्फ भने एयर ट्राफिक कन्ट्रोलरसम्बन्धी, अटोमेटिक लाइटिङ, दमकल खरिद लगायत काम छन्। 'यस्ता काम ९० प्रतिशतजति पूरा भइसकेको छ,' महानिर्देशक सुमनले भने।
त्यसैगरी धावनमार्गको सुरूदेखि अन्तिम विन्दुको बीच भागमा बत्ती 'रनवे सेन्टर लाइन लाइट' पनि राख्ने तयारी भइरहेको उनले जानकारी दिए। हाल यस्ता बत्ती धावनमार्गका दायाँ–बायाँ छेउमा मात्र छ। आइकाओको मापदण्डका विमानस्थलमा रवने सेन्टर लाइट पनि हुनुपर्छ।
त्रिभुवन विमानस्थल सामान्यतयाः बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ। यहाँ दैनिक करिब पाँच दर्जन अन्तर्राष्ट्रिय तथा साढे २ सयदेखि ३ सयसम्म आन्तरिक उडान हुने गर्छ। यो समुद्र सतहबाट १ हजार ३ सय ३८ मिटर उचाइमा अवस्थित छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide