रोचक जानकारी,
क्रिकेट क्रान्ति
Posted by Unknown
Published on Monday, 17 March 2014
मिति : २०७० चैत ४, मंगलबार
अन्नपूर्ण |
नेपाली टोलीले विश्वकपमा खेल्नु सुखद समाचार बन्न पुगेको छ। पहिलोपटक विश्वकप क्रिकेटयात्रामा सामेल टोलीले पहिलो खेलमै सफलता हात पारेर गौरवमय इतिहास बनाएको छ। अधिकांश प्रमुख अखबारका मुख्य शीर्षक यही सफलतामा केन्द्रित हुनुले राष्ट्रमा अभिव्यक्त गौरवबोध प्रतिबिम्बित गर्छ। सम्पूर्ण देश फागुको रङमा रंगिएको बेला विदेशी भूमिमा कप्तान पारस खड्काको नेतृत्वमा संघर्षशील टोलीले मुलुकलाई अर्को सफलताको रङमा लछप्पै भिजाइदिएको छ।
टोलीले हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै सम्पूर्ण नेपालीलाई गतिलो उपहार दियो। एक वर्षअघि फागु पूर्णिमाकै दिन माल्दिभ्सलाई हराएर नेपालले आफूलाई टीट्वान्टी क्रिकेटको विश्वकप छनोटयात्रामा अघि बढाएको थियो। रङहरूको पर्व फागु हाम्रो खेलक्षेत्रलाई फापेको छ। नेपाली टोली यसै वर्ष संयुक्त अरब इमिरेट्समा सम्पन्न छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वका १६ वटा राष्ट्रले मात्रै खेल्न पाउने विश्वकपमा छानिएको थियो।
बंगलादेशको चटगाउँस्थित जोहर अहमद चौधरी रंगशालामा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले एक सय ४९ रन बनाएको थियो। नेपालले हङकङलाई १७ ओभरमै केवल ६९ रनमा अल आउट बनायो।
बंगलादेशमै भएका दुई अभ्यास खेलमा निराशाजनक प्रदर्शन गरेका नेपाली खेलाडीले विश्वकपको पहिलो खेलमा गजबकै प्रदर्शन गरे। ब्याटिङ, बलिङर फिल्डिङ सबै क्षेत्रमा अब्बल देखिए। कप्तान पारस मात्र होइनन्, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, जितेन्द्र मुखियालगायत टोलीका सबै खेलाडीले एक ढिक्का भएर खेले, अनि राष्ट्रको गौरव बढाए।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यसअघि पनि थुप्रै राष्ट्रलाई हराएको थियो। यो हारजितको तथ्यांक मात्र होइन। हाम्रो विश्वकप यात्रा र पहिलो जित निकै ठूलो उपलब्धि हो। टीट्वान्टी विश्वकपमार्फत नेपालले आफूलाई विश्व खेल मानचित्रमा उभ्याएको मात्र छैन, सँगसँगै विश्वको एउटा हिमाली राष्ट्रलाई समथर मैदानमा खेलिने क्रिकेटको पर्यायका रूपमा अघि बढाउने सम्भावनाको ढोका खोलेको छ।
खेलकुदमा सीमित साधन र स्रोतलाई उपभोग गरेर पनि हाम्रा खेलाडीले आफूलाई विश्वकप क्रिकेटका इङल्यान्ड, अस्ट्रेलिया, वेस्ट इन्डिज, न्युजिल्यान्ड, भारतजस्ता महारथीको जमघटमा उपस्थित गराउनु ठूलो उपलब्धि हो। संसारभर टीट्वान्टी विश्वकपको प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजन च्यानलले नेपाली खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई क्रिकेटका हस्ती राष्ट्रका खेलाडीसँग तुलना गर्नुले एकसाथ नेपाल र नेपालीको गौरव बढाएको छ।
विश्वकपजस्ता ठूला प्रतियोगितामा नेपालजस्तो अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको राष्ट्रको प्रदर्शन वा हारजित गौण विषय हो। यतिबेला विश्वकपमा उपस्थिति मात्र हाम्रा लागि ठूलो उपलब्धि हो। यसले हाम्रा खेलाडीलाई व्यावसायिक क्रिकेटमा लाग्न बाटो खोलेको छ।
विश्वभरिका व्यावसायिक क्रिकेट क्लबले विश्वकपमा सहभागी सबै खेलाडीको प्रदर्शनलाई नजिकबाट नियालिरहेका हुन्छन्। त्यसैले प्रतियोगितामा गतिलो प्रदर्शन गर्न सके हाम्रा खेलाडीले विदेशी क्लबहरूमा व्यावसायिक क्रिकेट खेल्न पाउने सम्भावना रहन्छ। यसैगरी देशभित्र राजनीति, भूगोल, धर्म र जातजातिका नाममा विभाजित नेपालीलाई क्रिकेटले फेरि एउटै सूत्रमा बाँध्ने काम गरेको छ। यस्तो राष्ट्रिय उल्लास र एकता खेलकुदबाहेक अन्य क्षेत्रले विरलै ल्याउँछन्।
सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेदेखि नेपाललाई विश्वकप खेल्न सक्ने राष्ट्रका रूपमा हेरिएको थियो। यो सम्भावना ढिलो बनाउने कारक भने सरकार र नेपाल क्रिकेट संघको अकर्मण्यता रह्यो। खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाली क्रिकेट संघमा राजनीतिक व्यक्तिको हालिमुहाली र ती निकायका पदाधिकारीमा दूरदर्शिता र स्पष्ट खेलनीतिको अभावका कारण खेल क्षेत्रले आफ्नो सामथ्र्य स्थापित गराउन निकै संघर्ष गर्नुपरेको छ।
भौतिक पूर्वाधारमा हामी निकै पछाडि छौं। देशले विश्वकप खेलिरहँदा पनि क्रिकेटका लागि स्तरीय मैदान एउटा मात्र छ। भौतिक पूर्वाधारको विकास राज्यको सहयोगबिना सम्भव हुँदैन। खेलकुदलाई सधैँ कम प्राथमिकतामा राख्ने राज्य र सरकारमा गएका दलले बेलैमा सोच्नु आवश्यक छ। तर अब सरकारले पनि यस निम्ति सोच्न थालेको संकेत दिएको छ।
निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठान पनि क्रिकेटजस्तो सम्भावना बोकेको खेललाई सहयोग गर्न अघि सर्नुपर्छ। क्रिकेटका लागि पर्याप्त भौतिक पूर्वाधारको विकास गर्न सके यसले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याउन सक्छ। दक्षिण एसियामा मात्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी चारवटा टेस्ट क्रिकेट खेल्ने राष्ट्र छन्।
आपसी राजनीतिक मतभेद, सुरक्षा व्यवस्थाजस्ता कारणले गर्दा समयसमयमा यी राष्ट्रमा दुई वा बहुपक्षीय प्रतियोगिता आयोजना गर्न समस्या देखिने गरेको छ। केही वर्षअघि पाकिस्तानमा श्रीलंकाली क्रिकेट खेलाडीमाथि आतंककारी हमला भएपछि अहिलेसम्म पाकिस्तानले यूएईलगायतका तटस्थ भूमिमा क्रिकेट खेल्नुपरिरहेको छ।
यसैगरी भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण पनि यी दुई राष्ट्रबीचको खेल सम्बन्ध पटकपटक अवरुद्ध हुने गरेको छ। यस्तो स्थितिमा नेपालमा क्रिकेटको भौतिक पूर्वाधार विकास गरेर तटस्थ खेल स्थलको फाइदा लिन सक्छ। हामीले धेरै क्रान्ति र आन्दोलन गर्यौँ। अब मुलुकलाई चाहिएको छ- खेल क्रान्ति। बंगलादेशको यो उपस्थितिले यसतर्फ मार्गदर्शन गर्न सकोस्।


0 comments
Readers Comments
i love like and koment