khabar,
केटी जिस्काउँदा डाक्टरलाई १५ घन्टा थुनियो
Posted by Unknown
Published on Wednesday, 26 March 2014
१३ चैत, काठमाडौं । डा. ज्ञानेन्द्र मल्ल विराटनगर विमानस्थलबाट काठमाडौंका लागि बुद्ध एअरको जहाजमा चढे। सोमबार अपराह्न ४:२० बजे विराटनगरबाट उडेका उनीसँगैको सिटमा ललितपुर सानेपाकी १८ वर्षीया युवती बसेकी थिइन्। जहाज उडेको केहीबेरमै डा. मल्लले युवतीमाथि छेडछाड गरेका कारण काठमाडौंमा उत्रिनासाथ उनी प्रहरी फन्दामा परे।
दस जोड दुई पढ्दै गरेकी राजेश्वरी तामाङ (नाम परिवर्तन) तिनै साहसी युवती थिइन् जसको हिम्मतका कारण डा. मल्ल १५ घन्टा प्रहरी हिरासतमा बिताउन बाध्य भए। उनी रक्सी सेवन गरेर विमानमा चढेका थिए। विमानस्थलमा उत्रनासाथ सोही विमानका अन्य यात्रुसमेतको अनुरोधमा युवतीका दाजुले मल्लविरुद्ध लिखित उजुरी दिएका थिए।
विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्दा मल्ल अत्यधिक रक्सी सेवन गरेको अवस्थामा थिए। उनलाई पक्राउ गरेको केही बेरपछि प्रहरीले मापसे परीक्षण गरेको थियो। तर मुद्दा नै चलाउने गरी मापसे परीक्षण गर्न प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगल लगेको थियो।
प्रहरीको परीक्षणमा रक्सी सेवन गरेको प्रमाणित भएपछि उनलाई महानगरीय प्रहरी वृत्त गौशाला लगेर थुनियो। वृत्तका डीएसपी अभिनारायण काफ्लले डा. मल्ललाई विमानस्थल प्रहरीले थुनामा राख्न ल्याएको र भोलिपल्ट लिएर गएको बताए।
उक्त अस्पतालले आफ्नो पेसागत मर्यादा बिर्संदै मातेका डाक्टरका पक्षमा मादक पदार्थ सेवन नगरेको लिखित रिपोर्ट पठाइदिएपछि सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी गरेको प्रहरीलाई कागजी समस्या आइलाग्यो। अस्पतालले झूटो रिपोर्ट दिए पनि मल्ल स्वयंले भने रक्सी सेवन गरेकाले जहाजभित्र आफूले के गरें भन्ने थाहा नभएको भन्दै भोलिपल्ट पीडितसँग लिखित माफी मागेका थिए।
पीडित पक्षले पनि एकपटकलाई भइहाल्यो भन्दै मुद्दाका पक्षमा आफूहरू नरहेको जानकारी प्रहरीलाई गराएपछि मंगलबार डा. मल्ललाई विमानस्थल प्रहरी कार्यालयमा बोलाई आइन्दा यस्तो क्रियाकलाप नदोहोर्याउने भन्दै माफी मागेको कागज गराइएको थियो। उनको लिखित प्रतिबद्धतापछि एकपटकलाई हिरासत मुक्त गरिएको विमानस्थल प्रहरीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी गोपाल भण्डारीले भने, ‘रक्सी पिएर जहाजमा अभद्र व्यवहार देखाएको उजुरीका आधारमा हामीले डा. मल्ललाई पक्राउ गरेका थियौं। तर भोलिपल्ट दुवै पक्षले कुरा मिलेको भनेपछि गौशाला प्रहरीको थुनाबाट झिकाएर छाडेका हौं।’
डा. मल्लले भने ‘जम्मा ३५ मिनेटको उडानमा कस्तो अभद्र व्यवहार गर्न सकिन्छ आफैं सोच्न सकिने’ प्रतिक्रिया दिए। उनले अन्नपूर्णसँग भने, ‘म मेरो बुबा बिरामी भएर आएको हुँ, जहाजमा एउटा बच्चा रोएको देखेर एअर होस्टेजसँग अलि कडा कुरा गरेको थिएँ, यही कुरा बल्झँदै गएको हो।’ उनले आफूले अलिअलि बियर पिएको बताए। बाध्य भएर प्रहरीसमक्ष कागज गरेको दाबी गर्दै उनले भने, ‘छुट्नलाई कागज गर्नुपर्यो।’
प्रहरी रेकर्डअनुसार ५० वर्षीय डा. मल्ल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी कक्षको इन्चार्ज पदमा कार्यरत र डाक्टरलाई पढाउने प्राध्यापक पनि हुन्।


0 comments
Readers Comments
i love like and koment