,

उनीहरुले पठाएको रेमिट्यान्समात्र प्यारो बनेको छ, जब स्वदेश फर्कन्छन्, समाज र आफन्तबाटै अपहेलित हुन्छन्



लेबनानमा तीन वर्ष बिताएर भर्खरै स्वदेश फर्केकी पोखराकी मनरूपा श्रेष्ठ यतिबेला उपयुक्त अवसरको खोजीमा छिन्। घरेलु कामदारका रूपमा लेवबान पुगेकी श्रेष्ठको अब विदेश जाने सोच नभए पनि स्वदेशमा के गरेर बस्ने भन्नेबारे चिन्ता छ। २५ वर्षीय अविवाहित यी युवती सकेसम्म विदेश गएको लुकाउन चाहन्छिन्। 
 
किन त? 
 
उनी भन्छिन्, ‘हाम्रो समाजले अझै पनि विदेश गएर आएको महिला भन्नेबित्तिकै त्यति राम्रो मान्दैन। त्यसैले सबैलाई आफ्नो कुरा खोल्न उचित ठान्दिन।’ 
 
उता कतारबाट मार्च महिनामा नेपाल आउन लागेका सोमबहादुर क्षेत्रीको विवाहका लागि भने दुई÷तीन जना केटी देखाउन ठिक्क पारिएको छ। 
 
सोमबहादुर विदेशी लाहुरे, गरिखाने छोरो, उसले छानिछानी केटी हेरेर बिहे गर्नेछ धुमधामका साथ तर मनरुपा भने आफू लेबनान बसेर आएको कसैले थाहा नपाए हुन्थ्यो भन्ने चाहन्छिन्। समाजले महिला र पुरुषमाथि गरेको विभेदको स्पष्ट रुप हो यो। 
 
वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूमा जति नै पीडा भए पनि एकाध बाहेक अन्यले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन्। वैदेशिक रोजगारबाट स्वदेश फर्केका महिलालाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि समस्या देखा परेको छ। घरपरिवारमा हुने विभेद, श्रीमानसँगको बढ्दो दूरी, सम्बन्ध विच्छेदका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ। स्वदेश फर्केपछि समाजले हेर्ने दृष्टिकोणमा स्वाभाविकता हुन नसकेका कारण पनि उनीहरूलाई समाजमा समावेशीकरण हुने प्रक्रियामा कठिनाइ भएको पाइन्छ। 
 
वैदेशिक रोजगारबाट फर्किएकी धरानकी एक महिलाले आफ्नो अनुभव यसरी पोखेकी थिइन्, ‘म विदेश जसरी गएँ, त्यसरी नै आएँ, पैसा पनि कमाएँ, तर नेपाल आएपछि समाजबाट गर्ने व्यवहार र विभेदका कारण म पटकौँपटक मानसिक रूपमा बलात्कृत भएको महसुस गरें।’ उनका यी अभिव्यक्तिबाट हाम्रो समाजमा वैदेशिक रोजगारबाट फर्किएका महिलालाई हेर्ने दृष्टिकोण छर्लंङ्ग हुन्छ। समस्या कहाँबाट देखिएको छ भने वैदेशिक रोजगारमा गएका महिलाहरु शारीरिक र मानसिक हिंसामा परेका समाचारहरु मात्र हेडलाइन बनिदिन्छन्। हरेकको मनमस्तिष्कमा खाडी मुलुक भनेको महिलाहरुको लागि जानै नहुने ठाउँ रहेछ भन्नेमात्र पर्छ । समाचारले हिंसामा परेकालाई प्राथमिकता दिनु आफैँमा राम्रो होला तर बैधानिक बाटोबाट गएर आफ्नो पेशामा गर्व गर्ने महिलाहरु र उनीहरुको परिवारलाई भने यसको नकारात्मकताले प्रभाव पारेको देखिन्छ। कुनै पनि महिला र उसको परिवार श्रमका लागि खाडी मुलुक गएको सकेसम्म सार्वजनिक गर्न रुचाउँदैनन्। 
 
वैदेशिक रोजगार महिलाका लागि अवसर र चुनौती दुवै हो। वैदेशिक रोजगारमा गएका महिलाहरुले कुल रेमिट्यान्सको झण्डै १८ प्रतिशत रेमिट्यान्स (युएन उमन र निड्स संस्थाको अध्ययनअनुसार) देशमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। 
 
यद्यपि उनीहरुले पठाएको रेमिट्यान्समात्र प्यारो बनेको छ, जब स्वदेश फर्कन्छन् समाज र आफन्तबाटै अपहेलित हुन पुग्छन्। बैदेशिक रोजगारमा महिलाहरू पीडित हुनुको कारण मध्ये आफन्त भनिने र सामान्य चिनेजानेका व्यक्ति (दलाल) मार्फत गैह्रकानुनी रूपबाट विदेशिनु प्रमुख समस्या देखिएको छ। शिक्षामा पछाडि पर्नाले प्रतिस्पर्धात्मक माध्यमबाट वैदेशिक रोजगारको राम्रो अवसरबाट वञ्चित हुनु परिरहेको छ। भाषिक ज्ञान नहुनु, काम गर्ने देशको भाषा संस्कृति एवं रहनसहनको बारेमा अनभिज्ञ हुनु, उपयुक्त तालिमको अभावमा सिधै विदेशिने प्रवृत्तिले पनि समस्या न्यूनिकरण हुन सकेको छैन। अर्कोतिर राम्रै तरिकाले बैधानिक बाटोबाट विदेशिएका चेलीहरु पनि स्वदेश फर्केपछि आफ्नै घरपरिवार र समाजमा सकारात्मक दृष्टिकोण नभइदिँदा हिंसामा परेका छन्। 
 
वैदेशिक रोजगार भनेको अवसरको खोजी हो। के महिला, के पुरूष कमाउनका लागि विदेश जानु नौलो र कुनै ठूलो कुरा होइन। यद्यपि सामाजिक दृष्टिकोण गर्दा एउटै कामबाट फर्किएका महिलालाई हेय दृष्टिकोणले हेरिने र पुरूषलाई सम्मानजनक व्यवहार गर्ने सामाजिक प्रचलनले गर्दा महिलाहरू बढी हिंसामा परेका छन्। सामाजिक एवं राजनैतिक हैसियत बनाएका महिलाहरू समाजमा हेपिँदैनन्, यिनीहरूमा प्रतिकार गर्ने क्षमता पनि हुन्छ। तर जुन महिलाको सामाजिक हैसियत छैन र प्रतिकार गर्ने क्षमता पनि छैन, यस्ता महिलामाथि समाजले सधैँ औँला ठडाइरहन्छ। तसर्थ स्वयम् महिलाले आफूलाई सशक्त गराउन जरूरी छ। गलत आरोपहरूको खण्डन गर्न सक्ने क्षमताको वृद्धि महिलाहरूमा हुनुपर्ने देखिन्छ। महिला र पुरूष भनेर विभेद गर्ने र महिलाको कामको प्रशंसा गर्न नजान्ने समाजका कारण महिलाहरू अनेक तरहबाट हिंसा खेप्नुपरेको छ। 
 
वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यूनीकरण गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरूरी छ। वैदेशिक रोजगारमा हुने सबै प्रकारका जोखिम घटाउँदै सुरक्षित समानतामा आधारित सकारात्मक आर्थिक र रोजगारको क्षेत्र बनाउन राज्य पक्ष, रोजगारदाता र यसका व्यवसायीहरुमा लैंगिक चेतना आउनुपर्दछ। महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने मालिक म नै हुँ भन्ने पुरूषवादी सोच त्याग्न जरूरी छ। वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूलाई घर परिवारमा सहज वातावरण बनाइदिनु पर्छ। पारिवारिक सहयोग नै भएन भने समाजले झन् बढी हेप्ने गर्दछ। त्यसैले पारिवारिक समर्थन जुटाएर विस्तारै सामाजिक रूपमा स्थापित हुँदै जानुपर्छ। वैदेशिक रोजगारबाट फर्किएका महिलाले पनि परिवारलाई सम्झाउने र काम गर्न गएको ठाउँको बारेमा राम्ररी बुझाउन सक्नुपर्दछ। विदेशी भूमिमा काम गर्न गएका महिलाहरूको समस्या धेरै छन्। विदेशिने महिलाका कुरा सतहमा जे जस्ता देखिए पनि आन्तरिक रूपमा धेरैको आ–आफ्नै बाध्यता एवं समस्याहरू छन्। वैदेशिक रोजगारमा जाने महिलाको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूति राज्य पक्षले गर्नुपर्छ। स्वदेश फर्किएपछि पनि उनीहरुलाई उचित रोजगारको अवसर प्रदान गर्दै सामाजिक रुपमा स्थापित गर्न सक्नुपर्छ। विभेदको अन्त्य गदै सकारात्मक दृष्टिकोणको खाँचो उत्तिकै छ। 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide